
– लिलाराज खतिवडा
स्वयंभित्र शाश्वतरुपमा बिध्यमान ध्यान नै गुरु हो । हामीभित्रको अतिप्रकाश पनि त्यही नै हो । यहाँ प्रश्नउठान जरुरी पनि लाग्छ, हामीभित्र त्यो किमीया छ कि त्यस किमीयावरिपरि हामी ‘बायोलोजिकल’ छौं ? कुरो, स्वयंलाई भित्रबाट हेर्ने कि बाहिरबाट भन्ने पनि हो ।
गौतम बुद्धले भने, अत्त ही अत्तनो नाथो । अर्थातः म नै मेरो गुरु ।
निश्कर्ष केहो भने, जे कृष्णमूर्ति, रविशंकर, कुनै राम्रो पुस्तक, साथीभाई, परिवारका आदर्श सदस्यहरु, समयपरिस्थिति एवं आवश्यकतानुसार गुरु हुन सक्छन् । अत्रिऋषिपुत्र दत्तात्रेय जो कि त्रिआयामिक थिए, उनले कुकुर, गधा लगायतलाई पनि गुरु बनाएका थिए । धार्मिक इतिहासमा धेरै गुरु थापेका ज्ञानीपुरुष हुन् दत्तात्रेय ।
त्यसो त मेरो पहिलो र अन्तिम गुरु नै मेरा बुबा हुन् । पहिलो त स्वतः बुबा हुँदैहुन्, अन्तिम गुरु पनि मेरो सन्दर्भमा किनभने मेरा बुबा नै हुन् । बीर अस्पतालमा मेरा बुबा देह त्याग हुने बेलामा उठेर पल्याँटिमा बस्नुभयो । डाक्टर र हाम्रो आग्रह, उहाँलाई सुताउन खोज्ने, जो कि उहाँलाई नै सजिलो होस् भन्ने हेतुले थियो । तर उहाँ पल्टिन मान्नुभएन । बसेकै अवस्थामा क्रमशः आँखा बन्द गर्नुभयो । त्यसपछि उहाँले कहिल्यै आँखा खोल्नुभएन ।
शिक्षक मेरा बुबा, शरिर छोड्ने कला पनि सिकाएर जानुभयो । बुबाको देहत्याग जागृतावस्थामा भयो । सायद विपश्यना नगरेको भए म बुबाको देहत्यागको संघटनाको यति घनिष्ठ साक्षि हुने थिईंन होला ।
युवा हुँदै गएपछि मलाई केही प्रालब्धको हेक्का भयो र म काठमाडौं शहरमा चाँदिको कटाई(पत्रकारिता) छाडेर ‘डाइमण्ड'(गुरु)को खोजमा निस्किन पुगेको थिएँ । अज्ञातबाट बोलावट आएपछि, अध्यात्म यस्तो गुरुत्वबल हो, कि त्यसले चैतसिक आयामतर्फ हुत्याएरै छाड्छ । रहस्यको गर्ततर्फ होमाएरै छाड्छ । चोटहरु हानेरै छाड्छ । नजागेसम्म साधकले धरै पाउँदैन ।
गुरु पूर्णिमाको सन्दर्भमा आफ्ना चैतसिक अनुभव लेख्न चाहन्छु किनभने म पनि गुरुको खोजमा लामोलामो भट्केको छु । गुरुलाई मैले चप्पाचप्पा खोजेको छु । भारतका कैयन आश्रम, गुरुद्वारा, मझार, चर्च अनि जंगल चाहारेको छु । गुफा, ओढार, शून्यागारहरुमा गुरु भेट्ने उत्कट अभिप्साले भावातीत भएको छु । गुरुभेषमा कैयन पण्डितहरुलाई प्रत्यक्ष अप्रत्यक्ष सुनेको छु । तिनको परमहंस वाणि पनि सुनेको छु र तिनको गाली वा मुक्का पनि खाएको छु ।
मेरो जीवनमा प्रमुखरुपमा बुबा बाहेक अरु दुईजना महान गुरुहरु पनि आए । महान गुरु भन्नु यदाकदा अतिशयोक्ति वा गरीबी पनि हुँदो हो । गुरु वास्तवमा आफैंमा महान किमिया हो । गुरु ‘क्याटलिस्ट्’ अर्थात उत्प्रेरक हो । जीवनमा गुरुको कुनै तरहले उपस्थिति काफि हुन्छ । सद्गुरुको दर्शन मात्रैले पनि जागरणका संघटनाहरु फक्रिएका द्रष्टान्तहरु थुप्रै छन् । गुरु नाम, सर्वनाम वा बिशेषणहरु भन्दा ‘बेयोन्ड’ हो । यता हाम्रो भाषामा गुरु परब्रह्म । जस्तो किः
गुरुर्ब्रह्मा गुरुर्विष्णुः गुरुर्देवो महेश्वरः ।
गुरुः साक्षात् परब्रह्म तस्मै श्रीगुरवे नमः ।।
मैले भारतको इगतपुरीमा विपश्यना गुरु सत्यनारायण गोयन्काद्वारा सञ्चालित ध्यान शिविरहरुमा भाग लिएको छु । उहाँलाई भेटेको छु । प्रश्नहरु सोधेको छु । र मैले भेटेका मध्ये यी नै सबैभन्दा बढी जागृत थिए । यी आफ्नो केन्द्रतर्फ लामो ‘माइलेज’ नापेका बोधिसत्व हुन् ।
शिष्यलाई पैसा तिराएर वा गेटबाट छिरेकै दाम तिराउन पल्केका नोटबहादूरहरु जसरी अध्यात्मको आडमा गेरु भेषभित्र घुसेर जिन्दगीहरुको हुर्मत काढ्छन्, कतिपय यस्ताहरुले गोयन्काजीलाई गाली पनि गरेको सुनेको छु । सन् सत्तरीपछि विपश्यना केन्द्रहरुको विश्वब्यापि स्थापनाले अध्यात्म वा धर्मको दोकान खोल्ने यस्ताहरुको धन्दा चौपट हुन थाल्यो । अब यिनले निःशुल्क विपश्यना साधनाको विरोध गर्नु सामान्य हो । गोयन्काजी धम्म ‘सार्वजनिन’ भएकाले पैसा ‘चार्ज’ गरेर सिकाउँनु हुँदैन र त्यसरी कसैले सिकाईहाले पनि त्यसले काम गर्दैन भन्नुहुन्छ । विपश्यना ‘जेनेरोसिटी’ले चल्छ । गोयन्काजीले आफूलाई बोधिसत्व दावी कहिल्यै गर्नुभएन, तर उहाँ बोधिसत्व नै हो । उहाँ एउटा बिशेष प्रवचनमा साधकहरुले के तपाईं ‘इन्लाइटन’ हो भनेर सोधेको प्रश्नमा भन्नुहुन्छ, ‘मलाई थाहा छैन म के हो । म साधना गर्छु । आफ्ना पारमीहरुलाई बढावा गरिरहन्छु । म आफ्नो काम गर्छु, धम्मले आफ्नो काम गर्छ । बस् ।’
मैले कि मुख्य रुपमा ओशोलाई पढें, सुनें । यिनका जिक्र अनुसार वा स्वेच्छाले भेटेजति पुस्तक भ्याईदिएँ । कि त गोयन्काजीले बर्माबाट ल्याएको विपश्यनाको अभ्यास गरिरहें । गोयन्काजीले बर्माका सया जी ऊ बा खिनबाट विपश्यना सिकेर भारत हुँदै यस गौतम बुद्धबाट पुर्नआविस्क्रित ध्यान पद्दतिलाई पुनः एकपटक विश्वभर फैल्याए । गुरु शिष्य परम्पराबाट केवल बर्माको एउटा गाउँमा सुरक्षित यो सम्पूर्ण ध्यान विधी साँच्चै नै सिकेर, त्यसलाई कठोर ब्रत झैं पालन गरेर, रुपान्तरण भएपछि मात्रै गोयन्काजी ऊ बा खिनद्वारा यो ध्यान सिकाउँने प्रमुख आचार्य घोषित भएका थिए ।
ओशोलाई त मैले शरिरमा भेटिनँ । पढें, सुनें, भिडियोमा हेरें । यिनको कुरो बुझ्दा यी पनि केन्द्रको नजिकबाट बोल्दै गरेको महसूस हुन्छन् । यिनको कुरो बुझ्न सक्ने जो कोहीलाई पनि यिनी भ्ल्याट्टै जगाईदिन सक्छन् । मलाई गोयन्काजीको विपश्यनामा प्रत्यक्ष अप्रत्यक्षरुपमा धकेल्ने पनि ओशो नै थिए । हठयोग, तन्त्रसाधनाहरु मैले ओशोबाट नै सिकें । गफ दिए जस्तो कदाचित् नहोस्, ओशो मेरो सपनामा आउँथे । त्यसो त गोयन्काजी पनि सपनामा आउँथे । सपनामा अरु कैयन गुरुहरु पनि आउँने गर्थे । तर आजकल सपनाहरु लगभग वाष्पिभूत भैसक्दा ती पुराना सपनाहरुको याद क्रमशः धूमिल पनि हुँदै गएको छ ।
झेन् फकिर जव निद्राबाट जाग्छ, ऊ सपनाको खासै कुरा गर्न रुचाउँदैन । ऊ झुल्के घाममा श्वेताम्बर हुनथाल्छ । सपना केवल सपनामा हो । जागरणमा सपना पागलपन हो । कि सपना हुन्छ कि जागरण । जस्तो, कि रात हुन्छ कि दिन । दुवैको अस्तित्व एकसाथ संभव छैन ।
टिनएज सकिँदा नसकिँदै मैले ओशोलाई पढ्न थालें र २३ वर्षको उमेरमा शिवपुरीमा पहिलो विपश्यना शिविर गरें । महाराष्ट्रको ईगतपुरीमा सात महिना ‘धम्मवर्कर’ भएर बस्दा मैले सतिपट्ठान र एउटा बीसदिने शिविर पनि गरेको थिएँ । त्यो बसाई विवादास्पद रह्यो । जसको चर्चा मेरो जीवनको एक अलग, अनसुल्झा र अति संवेदनशिल पाटो हो ।
त्यसो त म भारत र नेपालका जुनजुन धार्मिक वा आध्यात्मिक संस्थाहरुमा जान्थें त्यहाँ मलाई कैयन झमेलाहरु आईलाग्थे र म स्थान छाड्न बाध्य हुन्थें । यस्ता मामिलाहरुमा कतिपय अवस्थामा मौत बहुत नजिकबाट गुज्रिएको पनि हुन्थ्यो र म एस्सो छलिएर बाँचेको हुन्थें ।
अर्कातिर, कैयनपटक मैले भिक्षु वा जोगी हुनका लागि घर छाडेर भारतमा टाढाटाढा स्वयंलाई लगिपठाएको छु । ‘बाउन्स् ब्याक्’ पनि त्यत्तिकै भएको छु । यो अति कठिन मार्ग थियो । हठ गरेर मैले भारतवर्षमा कैयन परिवाज्रिक यात्रा गरिपठाएको छु ।
ओशोले कानमा भनिसकेका थिए कि खोज्नजानु बेकार छ । तर उनी यो पनि भन्थे कि नखोजि प्राप्त पनि हुँदैन । आध्यात्मिक बातहरु बडो बिरोधाभासी नजर आउँछन् ।
ओशोलाई बिरोधाभासी दार्शनिकको आरोप लाग्दा खुशवन्त सिंहले लेखेका छन्, ‘जुन दार्शनिक बिरोधाभासी छैन त्यो खाक् दार्शनिक ? बिरोधाभास नै दर्शनको पर्याय हो ।’
कुरो के हो भनें, खोज्दाखोज्दा थाकेर चूरचूर भएर, भुईंमा डंगरंग पछारिएपछि देखेको आकाश…र सुतेर कल्पना गरेको आकाश…अन्तर सहजै ‘फिल’ हुन्छ ।
कहिल्यै नखोजेकाले खोजेर पाईन्न भन्नु र खोजेर पनि नभेट्टाएपछि त्यो बक्तब्य दिनुमा ठूलो अन्तर छ नै ।
विपश्यना अति कठिन साधना विधी हो । यसमा शील, समाधि र प्रज्ञाको एकसाथ त्रिभुजिय अभ्यास गरिन्छ । मुखले मात्रै मौन होईन, मनमा पनि मौनताको अभ्यास गरिन्छ । जसलाई आर्यमौन भनिन्छ । कम्तिमा पंचशीलको पालना गरिन्छ । अनि घण्टौं पल्याँटि कसेर होश साधिन्छ । आँखा बन्द गरेर भित्र छिरिन्छ । स्वासप्रस्वासका आवागमनहरुलाई तटस्थभावमा निरिक्षण गरिन्छ । जो बुद्धको भाषामा आनापानसतियोग हो । यो समाधिको अभ्यास हो ।
गोयन्काजीको दस दिने ध्यान शिविरमा बुद्धले जस्तो विपश्यना सिकाउँथे त्यस्तै सिकाईंने दावी गोयन्काजी गर्नुहुन्छ र यो सत प्रतिशत जायज प्रतित हुन्छ । चार दिन लगातार आनापानसतियोग गरिसकेपछि गोयन्काजी विपश्यना दिनुहुन्छ । यसमा उहाँ पुरै शरिरलाई शिरदेखि पुछारसम्म भित्रि चेतनाले तटस्थता कायम गर्दै अनुभूत गर्न सिकाउँनुहुन्छ । दर्द, सुख, चोट, आनन्द जे भैरहेको भएता पनि त्यसलाई भित्रबाट शान्तभावमा हेर्नाले त्यो सब एक तह बाहिर लाग्दै जान थाल्छ । अब भित्र एक साक्षिको एहसास हुन थाल्छ । एक केन्द्र, एक धूराको झंझावातको अति प्रकाशिलो दस्तकको मोदमय कुत्कुतीको अमृतपान हुनथाल्छ । यसैको नाम हो निर्वाण ।
हाम्रो केन्द्रबाट शरिरलाई हेर्दा र बाहिरबाट शरिरलाई हेर्दा सबथोक निलो आकाश र हरियो जमिन जस्तै फरक छ । आखाँ चिम्लिएर शरिरलाई हेर्दा यो एकदमै सानो नजर आउँन थाल्छ । त्यो सानोसानो हुँदै जान्छ । अन्त्यतः शरिर शून्य हुन्छ अनि प्रकाश र तरंगको दुनियाँ शुरु हुन्छ । सब उत्पाद् र ब्यय भैरहेको हुन्छ । एउटा ‘कन्स्टेन्ट् फ्लक्स्’ । आँखा बन्द गरेपछि भित्रि नेत्रको ‘फोकस’मा झुल्किने श्यामपटमा अमिवा जसरी सल्बलाउँने त्यस अतिप्रकाशलाई बुद्घले ‘माध्यम’ भने । आज यस शब्दको अर्थ अर्कै छ । मानवले गुमाएको नै यसको शाश्वत दर्शन र बोध हो ।
स्मरणिय छ, प्रत्येक मानिसले यसलाई जन्मजात लिएर आएको हुन्छ । वा यसलाई यसरी भनौं, यस प्रकाशको रहस्यमय पुञ्ज वरिपरि एउटा बाइलोजी कुनै तरहले लपेटिएको छ ।
विपश्यनाको तेस्रो चरण प्रज्ञाको हो । शिल र समाधिको अथक अभ्यासको प्रतिफल भनेको आफ्नो अस्तित्वको बोध वा प्रज्ञाको प्रस्फुटन हो । भित्रबाट होशपूर्वक ननियालेसम्म हामी स्वयंलाई कदापि जान्न सक्दैनौं । बडाबडा ग्रन्थ जाने पनि हामीलाई जन्म र मृत्युको ठेट् कारण र प्रकृया थाहा छैन । यहाँ उधार जानकारी होईन प्रज्ञाको कुरो हुँदैछ । बोधको कुरो हुँदैछ ।
आउँने र जाने दिन छाडेर गोयन्काजी एउटा दस दिने विपश्यना शिविरको अन्त्य करुणा एवं मैत्रीको अभ्यास गराएर समापन गर्नुहुन्छ । कर्म संस्कारका वर्षौं (वा कल्प?) पुराना गाँठाहरु फुटाउँन दस दिन पक्कै कम हुन्छ ।
मैले गोयन्काजीलाई आफ्ना केही अस्तित्वगत समस्या र उल्झनबारे प्रश्न सोधेको सत्र वर्ष अघि हो । उहाँले साधना संबन्धि बताएका कुरा सामान्य लाग्थे । ‘त्यस्तो बेला स्वासप्रस्वासमा ध्यान देऊ,’ मेरा सवालहरुमा उहाँको जवाफ यस्तै हुन्थ्यो । तर मेरा जटिलताहरु यति बेहोशिमय हुन्थे कि स्वासप्रस्वासको हेक्का त परै जावस, तिनले मेरो पहिचानै पो खोसिदिन्थे । सबैको यस्तै हालत हो । काम, क्रोध, लोभ, अहंकार, हिंसा आदिमा को रहन्छ होशमा ? के यिनीहरुको चपेटामा परेकाबेला प्राकृत सासको आवागमनमा होश टिकाईराख्ने काम चानचुने हो ?
मेरा लागि ‘बेहोशितोडो’ अभियान एक कप कफी पिएजस्तो पक्कै थिएन । यो बिहे गरेर सन्तानको बाबु भएजस्तो सजिलो पनि त थिएन । यो अध्ँयारो सुरुंगको त्यस्तो अभुतपूर्व यात्रा हो जसमा यात्राको अन्त्यमा उज्यालो घाम भेट्ने कुरो त निश्चित हुन्छ, तर सुरुंग कल्पकल्प लामो हुन सक्छ । कसको कर्म संस्कार कति ‘एक्यूमुलेटेड’ छ, त्यसको आधारमा उज्यालोसम्मको दुरी पहिल्यै तय छ ।
लाखौंकरोडौंले त घाम भेटिने कुरो पत्याउँदै पत्याउँदैनन् । नपुगिने डरले लाखौंकरोडौं त यात्रा शुरु नै गर्दैनन् । जो यात्रा शुरु गर्छन्, जहिल्यैसुकै पुगून उज्यालोमा, पर्वाहबिनै साधनामा लीन भैरहन्छन्, जो बिशेष र बिरल पनि छन् ।
त्यसो त मैले इश्लाम, जैन, शिख, हिन्दु, रोमन क्याथोलिक, सूफीहरुबाट पनि धेरै लिएको छु । तर मेरो अभ्याससँग मिल्दो चाहिँ जैन र इश्लाम पर्दछन् । इश्लाम त्यस्तो दिब्य धर्म हो, यसलाई बुझ्न सके अल्लाह निराकारआदि छन् भन्ने कुरो हामीभित्र अस्तित्वरत अति प्रकाशको नै जिकिर हो । उता महावीर र बुद्ध समकालिन भएर पनि होला उनीहरुको साधनामा कतिपय कुरा समान छन् । त्यसो त असमानता पनि उत्तिकै छन् ।
महावीरको मलाई मन परेको चाहिँ उपवास पनि हो । आज जैन धर्म दिगम्बर र श्वेताम्बरमा बिभक्त भएर झगडामा उत्रिए पनि, दुबैको महत्व बराबर छ । ओशोले पनि भनेका छन् कि ध्यान लोचपूर्ण हुन्छ । कहिले दिगम्बर, कहिले स्वेताम्बर ।
के भन्या त यो ?
दिगम्बरः बन्द आँखाले ध्यान गर्ने । अन्तर्मुखी । बाहिर भट्कान र वीषयहरु छन । आँफैभित्र छ सबथोक । आफैंभित्र बिराट ब्रम्हाण्ड छ जब भनें बाहिर भट्किनुको कुनै तात्पर्य नै छैन । त्यसैले आँखा बन्द गरेर ध्यान ।
श्वेताम्बर: खुला आँखाले ध्यान गर्ने । बहिर्मुखी । अब आँखा किन बन्द गर्नु जबकि आँखा खुलिसक्यो ? साधक आँखा बन्द गरेर ध्यान गर्छ । सिद्ध आँखा खोलेर । सिद्ध भएपछि आँखा बन्द गर्नु जरुरी छैन । अब सब आरपार ।
लामो समय बन्द आँखाले ध्यान गरिसकेपछि मात्रै खुल्ला आँखाले ध्यान गर्नु मुनाशिव हो । थाहापाउँदै जाँदा, ध्यान गर्ने कुरो पनि होईन रहेछ, ध्यान त आफैं भैरहेको हुँदोरहेछ । जस्तो कि सास चलिरहेको हुन्छ । महत्वपूर्ण कुरो त के रहेछ भने त्यसलाई थाहा पाउँनु पो ध्यान रहेछ । आफूभित्र भैरहेको ध्यानको द्रष्टा हुनु पो रहेछ ध्यान ।
चेष्टा ध्यान हुनसक्दैन । चाहे त्यो ध्यानगर्ने चेष्टा नै किन नहोस । अस्तित्वको एक सम्पूर्ण तर तटस्थ बोध ध्यान हो ।
स्वयंभित्र शाश्वतरुपमा बिध्यमान ध्यान नै गुरु हो । हामीभित्रको अतिप्रकाश पनि त्यही नै हो । यहाँ प्रश्नउठान जरुरी पनि लाग्छ, हामीभित्र त्यो किमीया छ कि त्यस किमीयावरिपरि हामी ‘बायोलोजिकल’ छौं ? कुरो, स्वयंलाई भित्रबाट हेर्ने कि बाहिरबाट भन्ने पनि हो ।
गौतम बुद्धले भने, अत्त ही अत्तनो नाथो । अर्थातः म नै मेरो गुरु ।
निश्कर्ष केहो भने, जे कृष्णमूर्ति, रविशंकर, कुनै राम्रो पुस्तक, साथीभाई, परिवारका आदर्श सदस्यहरु, समयपरिस्थिति एवं आवश्यकतानुसार गुरु हुन सक्छन् । अत्रिऋषिपुत्र दत्तात्रेय जो कि त्रिआयामिक थिए, उनले कुकुर, गधा लगायतलाई पनि गुरु बनाएका थिए । धार्मिक इतिहासमा धेरै गुरु थापेका ज्ञानीपुरुष हुन् दत्तात्रेय ।
तर गुरुको खोजसन्दर्भमा एउटा अकाट्य कुरो के हो भने जब शिष्य तयार हुन्छ, गुरुको आगमन सुनिश्चित हुन्छ । कखरा चिनाउँने चाहिँ शिक्षकमात्रै हुन् भने, बेहोशि तोडेर जगाईदिने चाहिँ आध्यात्मिक गुरु ।
तयारी अनि पात्रता बिना र समय नआएसम्म गुरुको दर्शन हुनु असंभव छ । गुरु सामुन्ने आए पनि तयारी, पात्रता र सही समय बिना गुरुलाई चिन्न पनि निकै कठिन हुँनजान्छ । यो इन्द्रेणी लागेर त्यसलाई देख्नसके जस्तै हो । र तयारी, पात्रता र सही समयको पर्याप्तता भएको खण्डमा जताततै गुरुहरु नजर आउन थाल्छन् । ईश्वर नजर आउँन थाल्छन् ।
सबको मंगल होस् ।















