भानु जयन्ती र जिन्दगीको दोहन !

– लिलाराज खतिवडा

मुलुकका जल्दाबल्दा समस्याहरुका बारेमा लेख्दा मान्छेहरुले यो नठानून् कि म कुनै निबन्ध वा कविता प्रतियोगिताका लागि कनीकुथी कलम चलाइरहेको छु ।

लेख्नु मेरो रहर होइन । बाध्यता हो । मलाई लेख्न मन लाग्दैन । तर कलम मेरो हतियार हो । नलेखेर के गर्नु? ट्वाँ परेर भ्यागुत्ताहरुको दाइँ हेर्नु?

मेरो वरिपरिको परिवेश अनि देश, काल र परिस्थितिले मलाई जब घोच्छ, लल्कार्छ, अत्याउँछ, उकुसमुकुस तुल्याउँछ तब उम्लिन्छ मेरो रगत अनि आफसेआफ कलम उठ्छ र खोरिया फाँड्न थाल्छ । मजबूर हुन्छु प्राय: म आफ्नै कलमको तरवारले आफू लगायत कैयौँलाई दिनदहाडै वा रातबिरात गिँड्न ! आफ्नै कलमका अगाडि शक्तिहिन छु म ।

किन?
मैले कुनै राजनीतिक दलको सदस्यता अहिलेसम्म लिएको छैन । लिनु पनि नपरोस् । कुनै संघ, संस्था, एनजीओ, आइएनजीओसँग मेरो प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता छैन । मेरो पासपोर्ट, नागरिकता छैन । बैंक खाता छैन । मसँग आफूले हासिल गरेका कुनै पनि प्रमाणपत्रहरु सुरक्षित छैनन् । आफूले अखबारमा लेखेका सामग्रीहरुको चिर्कटो-संग्रह मैले गरिँन ।
यस्ता अनेक वस्तु वा जिनिशहरुको संग्रह गर्नपट्टी नलागेर मैले केवल लेखें । घुमें । घुम्न गएँ । फर्किएँ । अनि फेरि लेखें । कुनै अहंकार छैन । तर मैले अन्य समकालिन लेखकहरुभन्दा पृथक लेखें । मैले परम्पराहरुका कैयौं ढाँचाहरु तोडें । कसैले लेखक मानोस् वा नमानोस् मैले लगातार लेखिरहें । पारिश्रमिक मिलोस् कि नमिलोस् मैले लेख्न छाडिँन ।

अब चाहिँ लेख्दिन भन्छु, तर कलम थामिए पो ! पढेकै त्यही छ । जानेकै त्यही छ । यथास्थितिमा गर्नुपर्ने अनिवार्य काम पनि त्यही भएको छ । किनभने मेरो फिल्डमा अन्धकार बढेको छ । जताततै जेमा पनि झिंगाहरु भन्किएका छन् । स्याउँस्याउँ किराहरु परेका छन् । त्यहाँ मसीको टिंचर आयोडिन पोखिदिन मन लाग्छ । कलमको नीबको इन्जेक्सन हानिदिन मन लाग्छ । पागललाई सद्दे र कथित सद्देलाई पागल गरिदिन मन लाग्छ । जताततै खोरिया फाँडिदिन मन लाग्छ ।

तर यता सप्तरीमा एकपछि अर्को गर्दै कैयौँ पेडा पसलहरु खुलेजस्तै भएको छ जिन्दगी । बिल्कूलै नयाँ गर्नेहरु कालान्तरमा उनीहरुको नक्कल गर्ने जमातहरुले छोपिन्छन् । कोही ओझेल पर्छन् । अनि कोही फाँड्छन् खोरिया!
*
यति भाव पोख्न पनि लेख्नै पर्यो । आदिकविलाई सम्झिन पनि केही त कोर्नै पर्यो । आदिकविलाई सम्झिँदा घाँसी महोदयलाई कसरी भुल्नू? आदिकवि निर्माण गर्ने नै घाँसी!

अरु बेला कविहरुलाई झोले वा पागल भन्ने महानुभावहरुका सामाजिक सन्जालहरु पनि आज भानुभक्त आचार्यका तस्वीर र केही झिनामसिना वा गहन वा साभार शब्दले भरिभराउ देख्दा आश्चर्य लाग्नु स्वाभाविकै हो । जिउँदो कविलाई भोकै राखेर मरेका कविहरुलाई पिण्डतर्पण !
त्यो पनि पखाला लाग्ने गरी?

आदिकविलाई स्मरण गर्दा कम से कम आफ्नै बारेमा एउटा कविता लेख्नू नि! नभए आफू वरिपरिको परिवेशको वर्णन गरेर एउटा स्टाटस ठोक्नू अनि अन्तिममा आदिकविलाई सम्झिनू! कुनै महान कवि वा लेखकको नाउँमा उत्सव मनाउँदा त केही नयाँ सृजना गरेर उधूम मचाउने होइन र भन्या? कि म गलत छु? कि गमलामा धान रोपेर धान दिवश मनाए जस्तो मात्रै हो जिन्दगी? कि जिन्दगी अथाह, अपरिसिम र अलौकिक छ?

मलाई हिमालयमा गएर त्यहाँको आभामण्डल र सून्दरतालाई अक्षरांकन गर्न मन छ । म कहाँ हिलो उछालाउछाल लेख्न बाध्य छु? तर पनि गम छैन, हिलोमा नै कमल पनि फूल्छ ।

राजनीतिक रिपोर्टिङ गरेर पहिल्यै बोर भएकाले अल्टर्नेटिभ राइटिङ अर्थात बैकल्पिक लेखनतर्फ आकर्षित भएर काम गरिरहेको मान्छेलाई बारबार राजनीतिक आयाम र कूआयाम दुबैले अझै छोडेको छैन । तान्छ । आलोचना वा गाली गर्न बाध्य तुल्याउँछ । शासन पद्धति राम्रो र सन्तोषजनक नभइदिँदा म जस्तो लेखक अनेक तत्वमीमांसा र जासूसी कथा अधुरै छाडेर पाखुरा सुर्किँदै कलम घिस्न बाध्य भइदिन्छ । प्रदुषित ब्यवस्था बिरुद्ध आगोका कोइला ओकल्न पनि बाध्य भइदिन्छ ।

के गर्नु समयको माग नै यस्तै छ ।

त्यसैले मुलुकका जल्दाबल्दा समस्याहरुका बारेमा लेख्दा मान्छेहरुले यो नठानून् कि म कुनै निबन्ध वा कविता प्रतियोगिताका लागि कनीकुथी कलम चलाइरहेको छु वा परीक्षामा पेपर लेखिरहेको छु । अनि कापी काट्ने सरहरुबाट ठिक! सतप्रतिशत ठिक! जस्ता तक्मा पाइरहेको छु !

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार