– सुरेश जोशी (भैरेकाका )

नमस्कार ! म भुईमान्छे ! मेरो यो भन्दा ठुलो र लामो परिचय छैन , बनेन , बनाउने रहर पलाएन। भुईमै टेकेर आफ्नो सगरमाथा भन्दा अग्लो जीवन भोगाईको संगालोको एक भंगालो चेतनाको पोखिरहेको छु आजको बसाईमा भॊईस अफ नेपाल डट टि भी को आँगनमा। आशा छ मेरा जीवनका भोगाईलाई मैले लेख्ने अक्षरहरुले पूर्ण न्याय गर्नेछन।
सुरुवात गरौँ भुईमान्छेको जीवनको बाटोबाट
जिन्दगी भोग्ने , जिन्दगी ज्युने आ-आफ्नै तरिका छन् हरेकसंग। आ-आफ्ना बाटाका कथा छन् , प्रेमिल लाग्छन कतिलाई आफ्नो बाटो त् कतिलाई आफ्नै बाटो धिक्कार्दै ठिक्क। मान्छे आफैले खनेको बाटोलाई आफैले धिक्कार्न सक्छ कसरी ? खोजी गर्न उत्प्रेरित हुनुपर्छ। बाटो चाहे पुर्खाले खनेको होस् चाहे आफुले खनेको होस् प्रेमिल हुनुपर्छ। आफैले खनेको बाटोमा हिड्नुको घनत्व र गुरुत्वमाथि क्लोज खोज गरिरहँदा बाटाका घुम्तीहरु , सहयात्रीहरु, कर्महरु धुमिल चलचित्रको दृश्य जस्तै मानसपटलमा घुमिरहे। आफैले आफैलाई आफैमा खोज्नुको मज्जा नै बेग्लै।
एउटा भुईमान्छेको जिन्दगीको जरो उसले बोकेको , बोकिरहेको र बोक्न सक्ने सम्भावित चेतनाको बिजारोपण कहाँ ,कहिले र कसरी हुन्छ त्यसले निर्धारण गर्दो रहेछ।
एकबारको जिन्दगीमा रत्नाकर हुँदा हिडेको बाटो र वाल्मिकी हुँदा हिडेको बाटो फरक भए पनि दुवै बाटोको गुरुत्व र घनत्व बेजोड देखिन्छ। न सहि वाल्मिकी बनिरहनु हुन्छ न त् गलत नै जिन्दगीमा। गल्ती त् हुन्छ बाल्मिकी बन्ने चक्करमा रत्नाकरको कित्तामा नपुगेरै वाल्मिकी बनिसकेको स्व घोषणा गर्नुमा।हामी आफनै जीवनको बिश्वाश अरुले परिभाषित गरिदिएको जिन्दगीका फरक -फरक रंगहरुमा कैद गर्दै जान्छौ त्यहि भएर त् कहिले वाल्मिकी त् कहिले रत्नाकरको भूमिकामा आफुलाई पाउछौ। पुरा सहि र पुरा गलत न वाल्मिकी न त् रत्नाकर भन्न सक्ने भएको दिन आफुले हिडेको बाटोलाई सहि अर्थमा बुझ्न सकिन्छ।
अब कुरा गरौ जडोको
मजबुत चेतनाको बिकास , कमजोर चेतनाको जगमै भएको हुन्छ भन्ने खोजले मान्छेलाई जरोप्रेमी बनाईदिन्छ। कर्मशील जिन्दगीका स्वर्णिम ५ बर्ष ७३८ बर्ष पहिले विश्वबिद्यालय स्थापना गरि चेतनाको बिकास र प्रसार गरिरहेको देश पोर्चुगलमा गुजारेको म जड़ोको खोजमा भएको बेला कोइम्बरा बिश्वविद्यालयको पेरिफेरीमा पुग्दा खोजको चरम बिन्दुमा पुगेको अनुभूत गर्दछु। अनुभुती नै हो रहेछ सबैभन्दा प्रिय जिन्दगीमा। खुशी , सुखी , माया , सहयोग , मृत्यु , जीवन , सार्थक , निरर्थक , ज्ञान, मोक्ष आदि सबै अनुभुतीमै देख्न सकिन्छन सहि अर्थमा , सहि आकारमा।
एउटा भुईमान्छेको जिन्दगीको जरो उसले बोकेको , बोकिरहेको र बोक्न सक्ने सम्भावित चेतनाको बिजारोपण कहाँ ,कहिले र कसरी हुन्छ त्यसले निर्धारण गर्दो रहेछ। मैले अघि नै भने भुईमान्छे , म आम भुईमान्छेको कुरा गर्दैछु। समाजले दिने परिचयको बोझले थिचिनु र आफुले आफैलाई दिन सकिएको परिचयको बोझले थिचिनु फरक अनुभुती हुन्। सत्य मान्ने के ? असत्य भनेको सहि अर्थमा हो के ? चिन्नु र जान्नु भन्दा पर बुझ्नुसम्मको सीमासम्म आफुलाई राखी हेरीसकेपछी आफ्नै जरो प्रिय लाग्दो रहेछ। जुन चेतनाको जरो थियो ,छ ,हो र हुनेछ।
एक भुईमान्छेका असिमित सपना हुदैनन् , सपनै नभएको पनि हुने हैनन् । बरु भएका सपना प्रिय छन् , जीवन्त छ्न। सपनासंगको प्रेम त्यतिबेला झाङ्गिञ्छ जतिबेला हामी जडप्रेमी हुन् सक्छौ अर्थात् सिक्छौ जरो न गन्धा हुन्छ न सफा नै। रत्नाकरको जरो कि वाल्मीकिको जरो सफा ? चेतना मै बहस गरौँ , खोजौ।
अन्तिममा गरौ मोजबारे रोचक कुरो
भुइँमान्छे बन्नुस या भुईफ़ुट्टा, बुट्टेवाल मान्छे आफुले हिडेको बाटो र आफुले बोकेको चेतनाको जडमा आफ्नो जिन्दगीलाई सन्तुष्टिको सगरमाथामा देख्न सक्नु अवश्य मोज हो। सफलता , असफलता आफुले बुझेको , अनुभुती गरेको छ कि अरुले तोक लगाईदिएको परिधी हो एकबारको जिन्दगीमा।
मैले प्रेम गर्ने एकजना मनको आदेशलाई शिरोधार्य गरी जीवनको चरम मोज गरिरहेका अमेरिका निवासी आदरणीय दाई शैलेश श्रेष्टलाई दूर रहेको भूगोलमा बसेर चेतनाको नजिकी भूगोल तयार पारी हेरेको छु वास्तवमा मोज हो चै के ? मोज त् कर्मशील चेतना बोकेर मनको आदेशलाई निसंकोच आफैलाई देखाउनुमा छ , आफैले आफैलाई आफ्नै लागि सम्प्रेषित गर्न सक्नु जत्तिको मोज छ के ? चेतनाबाहक , जड्बाहक नै हुनुपर्छ भन्ने छैन मोज गर्नलाई। मोज गर्नलाई आफ्नो जडो र बाटोलाई औधी प्रेम गरेकै हुनुपर्छ भन्ने पनि छैन। मोजका लागि तारे होटेलको व्यन्जन नै चाहिन्छ भन्ने त् झन् कल्पना नगरौ।
मोज त् भुईमान्छेको जन्मसिद्द अधिकार हो, उपभोग गर्नुस।
भुईमान्छेको खोजमा हुनुहुन्छ भने आफ्नै अनुहार भित्तामा टाँगेको आईनामा हेर्न छोड्नुस , चेतनाको महासागरमा पौडिन हैन दौडिन तयार हुनुहोस , आफैसँग !
@स- प्रेम
#भुईमान्छे















