एक वर्षमै २६ गैंडाको मृत्यु

चितवन ।

चितवन राष्ट्रिय निकुञ्ज र सो क्षेत्रको राष्ट्रिय वन क्षेत्रमा एक वर्षको अवधिमा २६ गैंडाको मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जमा २४ र वन क्षेत्रमा दुई वटा गरी एक वर्षभित्र २६ गैंडा मरेका हुन् ।

निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतिका अनुसार अघिल्लो वर्ष प्राकृतिक कारणले ४३ गैंडा मरेका थिए । त्यसको अघिल्ला दुई वर्ष प्राकृतिक कारणबाट २६/२६ गैंडा मरेका थिए । यस वर्ष बुढो भएर ६, जुधेर तीन, दलदलमा फसेर तीन, ढुसियुक्त खानाका कारण चार, बाघको आक्रमणका कारण एक गैंडा मरेका छन् ।

त्यसैगरी करेन्ट लागेर दुई, रुखले किचेर एउटा, स्वास्थ्यमा समस्याका कारण तीन, कारण पत्ता लाग्न नसकेर तीन गैंडा मरेका छन्। मरेकामध्ये १३ भाले, १० पोथि र तीन पहिचान हुन नसक्ने अवस्थामा भेटिएका थिए । अघिल्लो वर्ष हाल सम्मकै सबैभन्दा बढी गैंडा प्राकृतिक कारणबाट मरेका हुन् । त्यस वर्ष नौ भाले, १४ पोथि र २० को कंकालमात्र भेटिएको थियो । धेरै गैंडा बिगतका वर्षमा मरेका तर त्यस वर्ष पहिचान भएको हुँदा अस्वभाविक तथ्याङ्क आएको बताइएको छ ।

सन् २०१५ को गणनापछि प्राकृतिक कारणबाट गैंडा धेरै मरेका भए पनि चोरी शिकारीबाट कम मरेका छन् । पछिल्लो गणनामा निकुञ्जमा सबैभन्दा बढी ६०५ गैँडा देखाएको थियो । चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटासहित गरेर ६४५ गैँडा थिए । चितवनसहित बर्दिया, शुक्लाफाँटा र पर्सामा गैँडाको बासस्थान रहेको छ । गत वर्ष गैंडा गणना गर्ने अन्तिम तयारी गरिएको भए पनि कोरोना प्रभावका कारण स्थगित गरिएको छ । चालु आर्थिक वर्षमा गणना गरिदैं छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार