लिस्बन ।
नेपाल पत्रकार महासंघ बेल्जियम शाखाकी कोषाध्यक्ष पत्रकार निलम घिमिरे सापकोटालाई ज्यान मार्ने धम्की दिइएको छ ।
बेल्जियमकै वीरेन्द्र मल्ललगायतको टोलीले रातिको समयमा घरमै गएर ज्यान मार्ने धम्की दिएकोप्रति नेपाल पत्रकार महासंघ बेल्जियम शाखाको गम्भीर ध्यानाकर्षण भएको भन्दै एक विज्ञप्तिमार्फत कडा भ्रर्त्सना गरिएको छ ।
नेपाल प्लसमा प्रकाशित ‘बेल्जियममा तीन दर्जनभन्दा बढी नेपालीमा कोरोना : चारजना आइसीयुमा’ शीर्षकको समाचारलाई लिएर मल्ल सहितका व्यक्तिहरुले पत्रकार घिमिरेलाई अपशब्द प्रयोग गर्दै ज्यान मार्ने धम्की दिएको पत्रकार घिमेरेले बताएकी छन् ।
समाचारमा चित्त नबुझे कानूनी रुपमा उपचार खोज्ने, सम्बन्धित संचार माध्यममा खण्डन पठाउने लगायतका वैधानिक उपाय हुँदाहुँदै व्यक्तिगत रुपमा दुर्व्यवहारमा उत्रिनु बिल्कूल गलत र भ्रर्त्सनायोग्य भएको महासंघले उल्लेख गरेको छ ।
कोरोनाबाट जोगिउँ र जोगाउँ, समूदायमा कोरोना नफैलियोस् भनी सचेतना फैलाउने उद्देश्यले प्रकाशित समाचारलाई लिएर पत्रकारमाथि दुर्व्यवहार गर्नु आपतिजनक र कानुनको बर्खिलाप भएको भन्दै ‘निर्भिक रुपमा सत्यतथ्य समाचार प्रेषण गर्ने पत्रकारलाई धम्की र दुर्व्यवहार गर्नु समुदायको हितमा नहुने’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अब उप्रान्त यस प्रकारका गतिविधि जारी रहेमा सम्बन्धित मुलुकको कानून बमोजिम पत्रकार घिमिरेको सुरक्षाको निम्ति आवश्यक कानूनी सहयोग खोज्न संस्था अघि बढ्ने समेत विज्ञप्तिमा उल्लेख गरिएको छ । शाखाका सचिव शेरबहादुर छन्त्याल र संयोजक ओम शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा तुरुन्तै गल्ती सच्याउन चेतावनी दिइएको छ ।

















