लिस्बन।
नेपाली महिला समाज पोर्चुगलले यसपाली भर्चुअल तीज मनाएको छ। कोरोना कहरका कारण समाजले केहि साता अघि एक बिज्ञप्ति निकाल्दै यसपटकको तीज भर्चुअल र आ-आफ्नै घरमा मनाउन अनुरोध गरेको थियो।
तीज र दरखाने कार्यक्रममा लाग्ने खर्च समाजले सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ लिदीमा गएको भीषण पहिरोमा परि ज्यान गुमाएका परिवारका महिला तथा बालबालिकाहरुलाई ५० हजार रुपैया सहयोग गरेका छन्।
“नेपाली महिला समाजले विगत बर्षहरुमा पोर्चुगलमा सार्वजनिक कार्यक्रम गरी भव्य रूपमा तीज मनाउने र दर खाने गरेको थियो । तर यसपटक कोरोना महामारीको विषम परिस्थितिलाई मध्यनजर गरी सार्वजनिक रूपमा तीज मनाउने र दर खाने कार्यक्रम स्थगित गरी दर खाने र कार्यक्रम गर्ने पैसा पहिरो पीडित महिला दिदिबहिनी तथा बालबालिकाका लागि रु ५० हजार नगदै सहयोग पठाउने निर्णय भएको” महिला समाजकी अध्यक्ष निर्मला ढकाल खरालले बताइन् ।
पैसा स्थानीय निकायका जनप्रतिनिधि मार्फत पीडित परिवारलाई हस्तान्तरण गरिने समाजले जनाएको छ।
















