लिस्बन।

कोरोना महामारीको बिच अल्मदामा आयोजना गरिएको एक पार्टीमा उपस्थितहरुलाई पार्टी अन्त्य गर्न जीएनआर प्रहरीले गरेको अनुरोधलाई अवज्ञा गरेपछि तितरबितर गर्न प्रहरीले हवाई फायर गरेको छ।
करिब ५० जनाको समूहले स्वीकृतिबिना गरेको उक्त पार्टीमा जीएनआर प्रहरीको अनुरोधलाई अवज्ञा गर्दै उल्टै प्रहरीमाथि नै जाई लाग्ने एक युवकलाई प्रहरीले पक्राउ समेत गरेको छ।
अल्मादामा आयोजना गरिएको उक्त पार्टीमा हो-हल्ला भएपछि छिमेकीहरुले प्रहरीलाई खबर गरेका थिए।
कोरोना महामारीको हालको समयमा पोर्चुगल सरकारको नियम अनुसार लिस्बन महानगर क्षेत्रभित्र बढीमा १० जना र पोर्चुगलको मुख्य भूगोलमा बढीमा २० जनासम्म मात्रै भेला हुने अनुमति छ।
देशभरि नै कुनै पनि प्रकारका सांस्कृतिक वा अन्य कार्यक्रममा रोक लगाईएको छ। सार्वजनिक बन्द स्थानमा मास्कको प्रयोग अनिवार्य गरिएको छ।
















