पोर्चुगलको नेपाली समुदायमा फेरी कोरोना संक्रमण देखियो !

लिस्बन।

पोर्चुगलको नेपाली समुदायमा फेरी कोरोना संक्रमण देखिएको छ। पोर्चुगलमा कोरोना संक्रमणको शुरुवातीको समयमा अप्रिल मे महिनातिर नेपाली समुदायमा संक्रमण देखिएतापनि त्यसयता समुदायमा संक्रमण देखिएको थिएन।

पोर्चुगल सरकारले लकडाउनको मोडालिटीमा परिमार्जन गर्दै खुकुलो बनाएपछि मानिसहरु समूह समुहमा जमघट गर्ने र रमाइलो गर्ने क्रम बढ्यो। संगसंगै नेपाली चाडपर्वहरु पनि आए। नेपालीहरु पनि जमघट र रमाइलो गर्न थाले। यसैक्रममा पोर्चुगलको विभिन्न ठाउँमा बस्ने नेपाली समुदायमा कोरोना संक्रमण देखिन थाल्यो।

लिस्बनको मार्किस पोम्बाल जनिक एकै घरमा बस्ने ३ जनामा कोरोना संक्रमण देखिएको छ। उनीहरु अहिले उपचारमा रहेका छन्। केही साता आगाडी एक रमाइलो भेटघाटमा उनीहरु सरिक भएका थिए। लकडाउन खुकुलो भएसंगै उनीहरु काममा पनि फर्केकोले उनीहरुमा कोरोना संक्रमण कहाबाट कसरि भयो भन्ने बारेमा यकिन हुन सकेको छैन।

त्यस्तै राजधानी लिस्बनको अलमेदा नजिकै बस्ने अर्को नेपाली परिवारको ४ जनामा पनि कोरोना संक्रमण देखिएको उनीहरुले भोइस अफ नेपाललाई बताएका छन्। उनीहरुमा कोरोनाको सामान्य लक्षण देखिएकोले अहिले घरमै आइसोलेशनमा छन्। उनीहरु तिजको रमाइलो र नाचगानमा साथीहरुको समुहमा सरिक भएका थिए। लकडाउनपछि रोजगारी गुमाएका उनीहरु अहिले सरकारी बेरोजगारी भत्तामा छन्। उनीहरुको सम्पर्कमा रहेका अन्य साथीहरुमा हालसम्म पनि कुनै लक्षणहरु नदेखिएको उनीहरुले बताए।

नेपाली समुदायभित्र भोजभतेर र अनावश्यक भेटघाटले भित्रभित्रै कोरोना संक्रमण बढ्दै गएको छ , तर सामाजिक तिरस्कार र समुदायले हेयको भावले हेर्ने भएकोले कोही पनि खुलेर कुरा गर्न चाहदैनन्। समुदायमा कोरोना संक्रमण देखिएतापनि हालसम्म कुनै अप्रिय घटना घटेको छैन।

यसैबिच गैर आवासिय नेपाली संघले बारम्बार सुचना जारी गर्दै अनावश्यक भेटघाट, हुल र कुनै पनि कार्यक्रमहरु नगर्न सुझाव दिदै आएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार