जब एक हजार नेपाली रुपैयाँले एकै परिवारका दुई सदस्यको ज्यान लियो !

काठमाडौं ।

एक हजार रुपैयाँको मूल्य कति होला ? खोटाङका वृद्ध दाजुबहिनीले भने सिर्फ एक हजार रुपैयाँको निहूँमा ज्यान गुमाएका छन् ।

जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालय पेलेलेका ७७ वर्षीय इन्द्रबहादुर श्रेष्ठ र उनकी बहिनी ६७ वर्षीया गोपीमाया श्रेष्ठको हत्या एक हजार रुपैयाँको निहूँमा भएको प्रहरी अनुसन्धानबाट खुलेको हो । प्रहरीले उनीहरुको विभत्स हत्यामा संलग्न रहेको अभियोगमा स्थानीय ३३ वर्षीय दुर्गाबहादुर राईलाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।

अभियुक्त दुर्गाबहादुरले एक हजार रुपैयाँ नदिएका कारण वृद्ध दाजुबहिनीको हत्या गरेको वयान दिएका छन् । श्रेष्ठ दाजुबहिनीको घरमै धारिलो हतियार प्रहार गरेर हत्या भएको थियो । भदौ १९ गते ढोका बाहिरबाट बन्द गरेको अवस्थामा उनीहरुको शव घरभित्र फेला परेको थियो । घरमा दाजुबहिनीमात्रै बस्छन् । इन्द्रबहादुर अविवाहित हुन् भने गोपिमाया पछिल्लो समय माइतीमै बस्दै आएकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख डिएसपी नारायणप्रसाद चिमरियाका अनुसार दुर्गाबहादुरले दिनभर मकैको ढोड काट्न सहयोग गरेका थिए । सुरुमा बेलुका दिन्छु भनेपनि साँझमा एक हजार रुपैयाँ नदिएपछि राति आएर उनीहरुको हत्या गरेको अभियुक्तको बयान रहेको उहाँले बताउनुभयो ।

बोपुङबाट पक्राउ गरिएका दुर्गाबहादुरको साथबाट प्रहरीले एक हजार १ सय ७० रुपैयाँ र घटनामा प्रयोग गरिएको खुकुरी र झोला बरामद गरेको छ । उनले उक्त रकम गोपीमायाको थैलीबाट झिकेको बताएका छन् ।

मंगलबार प्रहरीले सार्वजनिक गरेका दुर्गाबहादुर माथि कर्तव्य ज्यान मुद्दामा ७ दिन म्याद लिएर अनुसन्धान सुरु गरेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार