कोरोनाविरुद्धको खोप जनावरमा परिक्षण सफल

नयाँ दिल्ली ।

भारत विश्वमै सबैभन्दा बढी कोभिड १९ संक्रमित भएको देशको सूचीको दोस्रो नम्बरमा रहेको छ । भारतमा अहिले दैनिक झण्डै एक लाख संक्रमित थपिदै गएको अवस्था छ । तर यसैबीच भारतले कोरोना भाइरसविरुद्धको खोपको बारेमा एउटा सुखद समाचार सार्वजनिक गरेको छ ।

भारतले निर्माण गरिरहेको खोप कोभ्याक्सइन जनावरमा गरिएको परीक्षणमा सफल भएको हिन्दी अनलाइन द क्वीन्टले जनाएको छ । जनावरमा गरिएको परीक्षणमा कोभ्याक्सइन खोपले सकरात्मक नतिजा देखाएको बताइएको छ । खोप लगाएको जनावरको शरीरमा भाइरसप्रतिरोधी एन्टीबडी तयार भएको समाचारमा उल्लेख छ ।

भारत बायोटेक र आईसीएमआरले संयुक्त रुपमा निर्माण गरिरहेको यो खोप बाँदरहरुमा परीक्षण गरिएको हो । उक्त परीक्षणको सुखद नतिजा आएको भारत बायोटेकले आफ्नो ट्वीटर ह्याण्डिल मार्फत जानकारी गराएको हो ।

ट्वीटरमा लेखिएको छ–जनावरमा परीक्षण गरिएको खोप सफल भएको छ । यसले हामीलाई खुशी र उत्साह प्रदान गरेको छ ।

अब दोस्रो चरणमा कोभ्याक्सइनलाई मानव शरीरमा परीक्षण गर्ने तयारी गरिएको छ । यसका लागि भारतीय चिकित्सा अनुसन्धान परिषद (आईसीएमआर) ले दिल्ली स्थित एम्ससहित १२ स्वास्थ्य संस्थाहरुलाई चयन गरेको छ ।

यसको मानव शरीरमा क्लिनिकल परीक्षण गर्नका लागि यसअघि नै भारतीय औषधि महानियन्त्रक (डीसीजीआई) ले स्वीकृति प्रदान गरिसकेको छ ।

खोप निर्माता कम्पनी आईसीएमआरले कोरोनाको खोप तयार पार्ने क्रममा विश्वमा चलेका सबै मानकहरुको अवलम्बन गरिएको दाबी गरेको छ ।

अब दोस्रो चरणमा जनावर र मानव शरीरमा एकैसाथ परीक्षण गर्ने कम्पनीको योजना छ ।

नतिजा सुखद देखिए पनि खोपको रुपमा सार्वजनिक हुन भने अझै केही समय लाग्ने कम्पनीले प्रष्ट पारेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार