गैरआवासीय नेपाली संघद्वारा १० अर्बको ‘इमर्जिङ नेपाल फण्ड’मा प्रवर्द्धक सेयर आह्वान

काठमाडौं।

गैरआवासीय नेपाली संघले १० अर्बको ‘इमर्जिङ नेपाल फण्ड’ स्थापना गरेको छ । संस्थाका अध्यक्ष कुमार पन्तका अनुसार उक्त कोषमा गैरआवासीय नेपालीहरुको सामूहिक लगानीका लागि संघले पक्रिया अगाडि बढाएको छ ।

‘यसलाई जति सक्दो छिटो कार्यान्वयनमा ल्याउनका लागि परामर्शदाता तथा कानुनी सल्लाहकारहरुको पनि चयन गरिसकेका छौं,’ अध्यक्ष पन्तले भने । परामर्शदाता तथा कानुनी सल्लाहकारहरुको सुझाव अनुसार १० अर्बको यस कोष स्थापनाका लागि संघले नेपालमा कम्पनी दर्ता गरी सकेको छ ।

सुरुमा प्रवर्द्धक शेयर लगानीकर्ताहरुबाट १ अर्ब ५० करोड रुपैयाँको प्रतिबद्धता आवश्यक भएकोले इच्छुक गैरआवासीय नेपालीहरुलाई लगानीको लागि अह्वान गरिएको अध्यक्ष पन्तले जानकारी दिए । पछि कम्पनीको साधारण शेयर अर्थात् आइपिओ निष्काशन गरी स-साना लगानीकर्ताहरुलाई पनि समावेश गरिने उनले बताए ।

परियोजनासम्बन्धी विस्तृत जानकारी र लगानी प्रतिबद्धतापत्रको फारम सार्वजनिक गर्दै पन्तले डिसेम्बर ३१ भित्र प्रतिवद्धता पत्र बुझाउन इच्छुक व्यक्तिहरुलाई आह्वान गरेका छन् । कोषका लागि हालसम्ममा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष्यहरु, सल्लाहकारहरु, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुबाट ६० करोडको प्रतिबद्धता आइसकेको अध्यक्ष पन्तले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार