काठमाडौं ।
उखुको बक्यौता रकम भुक्तानी नगर्ने अन्नपूर्ण तथा इन्दिरा चिनी मिलका सञ्चालक राकेशकुमार अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीको पत्रका आधारमा प्रहरीले अग्रवाललाई बुधबार साँझ त्रिपुरेश्वरस्थित निवासबाट पक्राउ गरेको हो ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले बुधबार साँझ पक्राउ परेका उद्योगी अग्रवाललाई कारबाहीका लागि सर्लाही पठाइएको जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला प्रहरी कार्यालय सर्लाहीमा ठगी सम्बन्धी कसुरमा किटानी जाहेरी परेकाले अनुसन्धानका लागि अग्रवाललाई सर्लाही पठाइएको हो ।
सर्लाहीका उखु किसानले १७ करोड दाबी गर्दै अग्रवाललाई पक्राउ गर्न दिएको निवेदनका आधारमा काठमाडौँमा पक्राउ गरेर जिल्ला पठाइएको बताइएको छ । अग्रवाल सञ्चालक रहेको दुई चिनी मिलले उखु किसानलाई ८ करोडभन्दा बढी बक्यौता रकम भुक्तानी गर्न बाँकी रहेकोछ ।
















