काठमाडौं ।
केन्द्रीकृत शासन जनताका घरदैलोमा नपुगेपछि ठूलो मूल्य चुकाएर मुलुक संघीयतामा प्रवेश गर्यो । संघीयतासँगै घरघरमै सरकार पुग्ने सपना बाँडियो । तर, बैतडी दोगडाकेदार–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको ११ दिनसम्म पनि प्रदेश सरकार घटनास्थल पुगेको छैन । न सन्तानवियोगको पीडामा रहेकी भागरथीकी आमालाई सान्त्वना दिन पुगेको छ ।
निकै आलोचना भएपछि ११औँ दिन सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिको एक टोली भने आइतबार भागरथीको हत्या भएको घटनास्थल पुग्यो । समितिकी सभापति कुन्ति जोशी, सदस्य सुशीला बुढाथोकी र नन्दबहादुर साउदसहित बैतडीका प्रदेश सभा सदस्य प्रेमप्रकाश भट्टले ११औँ दिन भागरथीको आँगन टेके ।
आइतबार बिहान दोगडाकेदार– ७ लवलेक जंगलमा रहेको घटनास्थलको अवलोकन गरेर उनीहरूले भागरथीका आफन्तलाई भेटे । दोषीमाथि कारबाही र घटनाबारे बुझ्न आफूहरू चडेपानी पुगेको उनीहरूको भनाइ थियो । लगत्तै सुदूरपश्चिम प्रहरी प्रमुख उत्तम सुवेदीसँग भेटघाट गरेका उनीहरूले भागरथी हत्यामा संलग्न अपराधीलाई छिटो सार्वजिनक गर्न माग गरे । ‘कुनै पनि निकायबाट प्रभाव नपर्ने गरी अनुसन्धान गर्नुहोस् । दोषीलाई कारबाही गर्दा भागरथीलाई मात्र होइन, सबै महिलामाथि न्याय हुन्छ,’ समितिकी सभापति जोशीले भनिन्, ‘निर्मला प्रकरणदेखि भागरथीको हत्यासम्म आइपुग्दा महिलाको सुरक्षामा ठूलो चुनौती सिर्जना भएको छ ।’
कांग्रेसले दियो दुई लाखको चेक
आइतबार दिउँसो साढे एक बजे दलबलसहित कांग्रेस नेता रमेश लेखक भागरथीको घर पुगे । स्थानीय खोचलेक बजारबाट उनको घर जाने बाटैमा रहेको घटनास्थलको अवलोकनपछि लेखकले भारगथीकी आमाको हातमा दुई लाख रुपैयाँको चेक हस्तान्तरण गरे । लेखकले घटनाप्रति दुःख व्यक्त गर्दै भागरथीकी आमा द्रोपतीलाई सान्त्वना दिए । ‘दुःख परेको वेला सभापति शेरबहादुर देउवाले पार्टीको तर्फबाट थोरै सहयोग पठाउनुभएको छ’ भन्दै लेखकले खामभित्र रहेको चेक पीडित परिवारको हातमा थमाए ।नयाँ पत्रिका

















