लिस्बन।
नेपाली महिला समाज पोर्चुगलकी अध्यक्ष निर्मला ढकालले कुनै पनि राजनैतिक पार्टीमा आफ्नो संलग्नता नभएको बताउनुभएको छ।
पोर्चुगलमा १३ अप्रिलका दिन गठित एमाले नेता माधवकुमार नेपाल गुटको प्रवासस्थित नेकपा एमालेको संगठन प्रवासी नेपाली मंच पोर्चुगलमा आफ्नो नाम बिना अनुमति र ईच्छा बिपरित जोडिएकोमा आपत्ति जनाउनुभएको छ।
आफ्नो अनुमति बिना सुचना नै नदिई एमालेको कमिटीमा महिला विभाग प्रमुखमा आफ्नो नाम जोडिएकोमा आपत्ति जनाउदै तुरुन्तै आफ्नो नाम हटाउन र सच्याउन अनुरोध गर्दै बिज्ञप्ती जारि गर्नुभएको छ।
उहाले पोर्चुगलवासी नेपालीहरुलाई आफु र आफु आबद्ध नेपाली महिला समाजलाई कुनै पनि राजनैतिक दलसँग नजोडीदिन र भ्रममा नपर्न अनुरोध गर्नुभएको छ।
नेपाली महिला समाजकी अध्यक्ष ढकालले आफ्नो फेसबुक मार्फत जारि गर्नुभएको बिज्ञप्ती यस्तो छ :
“पोर्चुगलवासी सम्पूर्ण आमा बुवा दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक नमस्कार !
नेपाली महिला समाज पोर्चुगलको नेतृत्वमा रहेर बिगत दुई बर्ष अगाडि देखि सामाजिक कार्यहरुमा सक्रिय हुदै आईरहेको कुरा यहाँहरुमा सर्वविदितै छ । फेरी पनि नेतृत्वमा रहेर वा नरहेर पनि संस्था अगाडि बढाउने र सामाजिक कार्यहरुमा सक्रिय हुदै जाने प्रण गर्दछु ।
हाम्रो संस्था बिशुद्ध सामाजिक भावनाले संचालन भएको हुँदा कुनैपनि राजनीतिक प्रभाब संस्थामा नपरोस् भन्ने हेतुले यहाँ रहेका कुनै पनि पार्टी संगठनमा मेरो आवद्धता छैन ।
फेरी पनि मेरो अनुमती बिना मलाई सुचना नै नगरी आज अर्थात अप्रिल १३ तारीखको दिन लिस्वनमा बनेको प्रवासी मंचको कमिटीमा मेरो नाम पनि जोडीएर आएको भेटिएकोले तुरुन्तै त्यो लिस्टबाट मेरो नाम हटाउनको निम्ति सम्बन्धित ब्यक्तिहरू समक्ष अनुरोध गरिसकेको छु । यसर्थ मलाई कुनै पनि राजनीतिक संगठनमा जोडिएको भनी कोही पनि भ्रममा नपर्नु हुन अनुरोध छ ।”


















