-एजेन्सी
सेमिफाइनलका लागि मंगलबार वेम्बलीमा आमनेसामने हुँदा इटाली र स्पेन युरोपियन च्याम्पियनसिपमा लगातार चौथोपल्ट प्रतिस्पर्धा गर्नेछन् । युरो २०२० को सेमिफाइनल खेलअघि यी दुई टोलीबीचको उत्कृष्ट पाँच भिडन्त :
इनरिकेमाथि कुहिनो प्रहार
इटाली र स्पेनबीच सन् १९९४ को विश्वकप क्वाटरफाइनल खेल इटालीको पक्षमा २–१ ले रह्यो । यी दुईबीचको पहिलो भेट १९३४ को विश्वकपमा भएको थियो, जहाँ आयोजक इटालीले विश्वकप फाइनल पुग्नेक्रममा स्पेनलाई क्वाटरफाइनलमा १–० ले पन्छायो । त्यसको ६० वर्षपछि यी दुई टोली अमेरिकामा विश्वकपलाई आमनेसामने भएका थिए ।
त्यो समयमा स्पेन राम्रो भए पनि उपाधिको मामिलामा लगातार असफल हुँदैं आएको थियो । मास्चुसेट्सको फक्सबोरोमा एरिगो साचीको इटालीविरुद्ध खेल्दा स्पेनले आफूलाई अब्बल साबित गर्ने राम्रो मौका पाएको थियो । डिनो बाजियोले इटालीलाई २५ औं मिनेटमा अग्रता दिलाए । विवाद भने दोस्रो हाफमा भयो, जब स्पेनका लुइस इनरिके (वर्तमान स्पेनिस प्रशिक्षक) आफ्नो अनुहार छोप्दै पेनाल्टीबक्समा लड्न पुगे । माउरो टासोट्टीले गरेको कुहिनाको प्रहारले नाक भाँचिएर उनी रगताम्मे भए ।
जोसे लुइस कामिनेरोले स्पेनबाट बराबरी गोल गरे । तर रोबर्टो बाजियोले अन्तिम समयमा गरेको गोलमा इटालीले खेल जित्दै फाइनलसम्म यात्रा तय गर्यो, जहाँ टोली उपाधि भिडन्तमा ब्राजिलसँग पेनाल्टी शुटआउटमा पराजित भयो । टासोट्टीलाई खेलकै क्रममा कुनै कारबाही त भएन । तर, पछि उनीमाथि ८ खेलको प्रतिबन्ध लगाइएको थियो ।
स्पेनको सफलता सुरुआत
युरो २००८ मा इटालीसँग भिएनामा अन्तिम आठको भिडन्तमा उत्रनुअघि स्पेनले प्रमुख प्रतियोगितामा लगातार पाँच क्वाटरफाइनल खेल इटालीसँग हारेको थियो । एन्ड्रे पिर्लो र जेनारो गाटुसोबिना खेलिरहे पनि इटालीले निर्धारित र थप समयमा गरी स्पेनलाई १ सय २० मिनेट गोलरहित बराबरीमा रोक्न सफल भयो । तर पेनाल्टीमा स्पेनका गोलरक्षक इकर कासियासले डानियल डी रोसी र एन्टोनियो डी नाटलको पेनाल्टी रोकिदिए ।
सेस फाब्रिगासले निर्णायक पेनाल्टीमा गोल गरेपछि स्पेन २४ वर्षयता पहिलो पटक क्वाटरफाइनल पार गर्न सफल भयो । १९८४ मा युरो फाइनलमा पराजित भएयता स्पेन कहिल्यै सेमिफाइनल पुग्न सकेको थिएन । जर्मनीलाई फाइनलमा १–० ले पराजित गर्दै स्पेनले युरो २००८ को उपाधिमात्र उचालेन, विश्व फुटबलमा एकछत्र राज गर्न सुरु गरेको हो ।
उच्च लयमा स्पेन
अस्ट्रियामा युरो २००८ जितेर २०१० को विश्वकप उपाधि उचालिसकेपछि २०१२ को युरो खेल्न युक्रेन र पोल्यान्ड जाँदा स्पेनको नजर ह्याट्रिक उपाधिमा थियो । स्पेनको सुरुआत इटालीसँगको खेलबाटै भयो । इटालीविरुद्ध टोलीले १–१ को बराबरी नतिजा निकालेको थियो । डी नाटलले दिलाएको अग्रतालाई फाब्रिगासले बराबरीमा ल्याएका थिए । समूह विजेता बनेको स्पेनले फ्रान्स र त्यसपछि पोर्चुगललाई पेनाल्टी शुटआउटमा पराजित गर्दै फाइनल तय गरेको हो ।
इंग्ल्यान्डलाई अन्तिम आठमा पराजित गरेको इटालीले जर्मनीलाई सेमिफाइनलमा पन्छायो । किभमा स्पेनले उपाधि भिडन्तमा अविश्वसनीय प्रदर्शन गर्यो । डेविड सिल्भा र जोर्डी अल्बाले पहिलो हाफमै स्पेनलाई दुई गोलको अग्रता दिलाए । फर्नान्डो टोरेज र हुँवा माटाले खेलको अन्त्यतिर गोल गरेपछि फाइनलमा सजिलो नतिजासाथ युरो उपाधि रक्षा गरेको थियो ।
अजुरीको बदला
इटालीले बेल्जियमलाई उछिन्दै युरो २०१६ मा आफ्नो समूह विजेता बनेको फाइदा स्पेनसँग नकआउट चरणमा पुनः खेल्न पाउनु थियो, जहाँ टोलीको उद्देश्य किभमा पाएको लज्जास्पद हारको बदला लिनु थियो । इटालीलाई २०१४ को विश्वकपमा समूह चरणबाटै बाहिरिनुको पीडा आलै थियो । एन्टोनियो कोन्टेको प्रशिक्षणमा भने इटालियन टोलीमा धेरै परिवर्तन आइसकेको थियो । स्पेन पनि खासै फरक थिएन । ब्राजिल विश्वकपमा साबिक विजेता टोली पहिलो चरणबाटै बाहिरिएको थियो ।
स्टेड डी फ्रान्समा ७६ हजार दर्शकमाझ स्पेनविरुद्ध इटालीलाई जर्जियो चिलिनीले अग्रता दिलाए । जियानलुइजी बुफोनले एकपछि अर्को बचाउ गरिरहेको मौकामा ग्राजियानो पेलेले अन्तिम समयमा इटालीबाट दोस्रो गोल गरेका थिए ।
इटालीको पतन
इटाली २०१८ को विश्वकपमा पुनः पतन हुन पुग्यो । यी दुई टोली २०१७ को विश्वकप छनोटमा म्याड्रिडमा भिडेका थिए, जुन रुस विश्वकप छनोटको आधार थियो । इस्कोको दुई र अल्भारो मोराटाको एक गोलपछि स्पेनले ३–० को
सानदार जित निकालेको थियो । टुरिनको अर्को लेगमा १–१ नतिजा निकालेपछि स्पेन समूह विजेता बन्दै विश्वकपलाई सोझै छनोट भएको थियो । इटाली प्लेअफमा थन्कियो । इटालीले स्विडेनलाई पन्छाउँदै रुसको यात्रा निश्चित गरेको हो । तर, स्विडेन १९५८ यता पहिलोपल्ट विश्वकप पुग्न असफल रह्यो ।

















