लिस्बन।

पोर्चुगलमा कोरोना संक्रमणको उच्च जोखिम भएका नगरपालिकाहरुमा रेस्टुरेन्ट वा क्याफेमा प्रवेश गर्न सरकारले “डिजिटल सर्टिफिकेट” वा कोरोना परिक्षण नकारात्मक रिपोर्ट अनिवार्य गरेको छ।
मन्त्रिपरिषद्को बिहिवार बसेको बैठकले कोरोनाको उच्च जोखिम भएका २७ र अति उच्च जोखिम भएका ३३ नगरपालिकाहरुमा कोरोना नियन्त्रण गर्न सो निर्णय गरेको हो। सरकारले सो निर्णय आजै शुक्रवारबाट लागु गरेको छ।
कोरोना नियन्त्रणको उपायहरुमा परिवर्तन सो नयाँ कानुन अनुगमन गर्न सरकारले ASAE, GNR र PSP प्रहरीलाई पूर्ण अधिकार प्रदान गरेको छ। यी सुरक्षा निकायहरुले कुनै पनि समयमा निर्वाध रुपमा रेस्टुरेन्ट र क्याफेहरुमा अनुगमन र जाँच गर्न सक्नेछन।
सरकारले अवलम्बन गरेको सो कानुन उल्लङ्घनकर्तालाई सुरक्षा अधिकारीहरुले व्यक्तिलाई कम्तिमा १०० युरोदेखि बढीमा ५०० युरोसम्म जरिवाना गर्न सक्नेछन। त्यस्तै कानुन उल्लङ्घनकर्ता व्यवसायीलाई कम्तिमा १००० युरो र बढीमा १०, ००० युरोसम्म ठाउँको ठाउँ जरिवाना गर्न सक्नेछन।
रेस्टुरेन्ट र क्याफेका अतिरिक्त कोरोनाको उच्च र अति उच्च जोखिममा परेका नगरपालिकाहरुमा होटेल र होस्टेल प्रयोग गर्न समेत “डिजिटल सर्टिफिकेट” वा कोरोना नकारात्मक परिक्षण रिपोर्ट अनिवार्य गरिएको छ।
















