लिस्बन।
गैर आवासीय नेपाली संघको निर्वाचन विवाद उत्कर्षमा पुगेको छ।
संघको निर्णय र कार्यप्रति असन्तुष्ट पक्षले आज बेलुका संघको कार्यालयमा ताला लगाईदिएका छन्।
शुरुमा अनलाइन भोटिंग पद्धतिद्वारा निर्वाचन गर्न मन्जुर नभएको संघले निर्वाचन रद्ध भएका ३ क्षेत्रहरुमा अनलाइन पद्धतिद्वारा निर्वाचन गर्ने निर्णय गरेपछि असन्तुष्ट पक्षले संघको कार्यालयमा ताला लगाईदिएका हुन्।
संघले पूर्व निर्धारित तालिका अनुसार निर्वाचन गराउन नसक्दा पंजीकृत सदस्यहरु आक्रोशित भएका छन्।
उता संघमा आफ्नो प्रभुत्व दाबेदारी गर्दै आएका नेपाली कांग्रेस र कम्युनिष्ट प्रवासी संगठनहरुको चेपुवामा स्वतन्त्र उम्मेदवारहरु समेत परेका छन्।
संघको पूर्व निर्धारित तालिका अनुसार १ अगस्तमा ४ निर्वाचन क्षेत्रहरुमध्ये लिस्बनमा मात्रै निर्वाचन सम्पन्न हुन सक्यो। मतदानस्थलका विवादका कारण अलेन्तेजो र अल्गार्भ मा मतदान रद्ध भएको थियो भने नर्थ क्षेत्रमा निर्वाचन समयभन्दा दुई घण्टा अगाडी नै मतपेटिकामा २२ मत खसेको पाईएकोले रद्ध भएको थियो।
संघले निर्वाचन रद्ध भएका स्थानहरुमा ८ अगस्त आइतवार प्रतक्ष्य निर्वाचन हुने जनाएको थियो। आज मात्रै निर्वाचन समितिको हवाला दिदै संघले यी तीनै क्षेत्रहरुमा ८ अगस्तका लागि निर्धारित गरिएको प्रतक्ष्य निर्वाचन स्थगित गरिएको र सो निर्वाचन १० अगस्तका दिन अनलाइन माध्यम मार्फत हुने जानकारी दिएको थियो।
#In Update



















