इन्जिन बिग्रिएर नर्वेनजिकै समुद्रको बीचमा अलपत्र परेको पानीजहाज सुरक्षित रूपमा मोल्डा बन्दरगाहा आइपुगेको छ
इन्जिन बिग्रिएर नर्वेनजिकै समुद्रको बीचमा अलपत्र परेको एउटा पानीजहाज अन्तत: सुरक्षित रूपमा मोल्डा बन्दरगाह पुगेको छ।
‘द भाइकिङ स्काई’ नामक सो पानीजहाजमा १३ सय भन्दा बढी मानिसहरू थिए।
तीमध्ये झन्डै पाँच सय जनाको हेलिकप्टरबाट उद्धार गरिएको थियो।

बिजुली कटेपछि उक्त पानीजहाजलाई छालले जमिनतिर धकेल्न थालेको थियो।
सो पानीजहाजमा जडित चारमध्ये तीन इन्जिन चलाएर अरू डुङ्गाले तानेर आइतवार बन्दरगाह पुर्याइएको थियो।

घटना कसरी भयो?
नर्वेको ट्रुमसुबाट स्टुहभ्याङ्गरतर्फ जाँदै गरेको पानीजहाजको इन्जिनमा शनिवार दिउँसो समस्या देखिएको थियो।
उक्त पानीजहाजलाई सहयोग गर्न पुगेका डुङ्गाहरूमध्ये एकका चालक ज्यान एरिक फिस्कर्स्ट्र्यान्ड ‘आफ्टनपोस्टन’ पत्रिकालाई बताएअनुसार इन्जिन समयमै नचलेको र पानीजहाजलाई नबाँधिएको भए चट्टानहरूसँग ठोकिन सक्ने सम्भावना थियो।
उद्धारकार्यका लागि पाँच वटा हेलिकप्टर र ठूलो सङ्ख्यामा अरू पानीजहाज परिचालन गरिएको थियो।

नर्वे पानीजहाजतस्वीर कपीराइटAFP/GETTY
नर्वेको ट्रुमसुबाट स्टुहभ्याङ्गर तर्फ जाँदै गरेको पानीजहाजको इन्जिनमा शनिवार दिउँसो समस्या देखिएको थियो
तर प्रतिकूल मौसमका कारण उनीहरू त्यहाँबाट फर्कन बाध्य भएका थिए।
पानीजहाजमा सवार यात्रुहरूलाई सुरक्षित स्थलमा ल्याउनका लागि नर्वेका अधिकारीहरूले हेलिकप्टरको सहायता लिने निर्णय गरेका थिए।
उद्धार गरिएकामध्ये २० जनालाई चोटपटक लागेको छ।
अधिकांश यात्रु ब्रिटिश र अमेरिकी नागरिक भएको बताइएको छ। त्यसमा पनि धेरै जसो जेष्ठ नागरिक थिए।
सञ्चालकका अनुसार ४३६ जना यात्रु र ४५८ चालक दलका सदस्य बन्दरगाह पुग्दासम्म पानीजहाजमै थिए।
इन्जिन बिग्रेर अलपत्र परेको पानीजहाजबाट सयौँको उद्धार
पानीजहाज भित्रको अवस्था कस्तो थियो?
एक यात्रु डेरिक ब्राउनीले बीबीसीलाई बताएअनुसार शुक्रवार रातभरि पानीजहाज घुमिरह्यो। शनिवार दिउँसो इन्जिन बन्द भयो।
पानीजहाजभित्र यस्तो देखियो
हेलिकप्टरबाट उद्धार गरिँदा धेरै डर लागेको उनले बताए।
म्यान्चेस्टरका जर्ज डेभिसका अनुसार उनी र उनकी पत्नी बार्बराले उद्धारका लागि १० घण्टा कुरेका थिए।
“यो निकै डरलाग्दो घटना थियो,” उनले भने।
पानीजहाजमा रहेको क्यामेराले कैद गरेको भिडिओले लाइफ ज्याकेट लगाएर उद्धारका लागि पर्खिरहेका यात्रुहरू देख्न सकिन्छ।
‘द भाइकिङ स्काई’ले पहिलो पटक सन् २०१७ मा यात्रा गरेको थियो।
इन्जिनमा देखिने समस्या सामान्य हो?
टेक्ससमा बस्दै आएका एक इन्जिनियर तथा प्राविधिक विषयका लेखक ट्रेभर इङ्ग्लिशका अनुसार यस्तो किसिमको समस्या वा पानीजहाजमा देखिने अन्य विभिन्न किसिमका समस्याको मिश्रण निकै दुर्लभ मानिन्छ।
“हामीले बुझ्न जरुरी छ कि यस्ता किसिमका पानीजहाजको इन्जिनियरिङ उच्चस्तरीय हुन्छ,” उनले भने।
‘द भाइकिङ स्काई’ जस्तो पानीजहाजमा चारवटा इन्जिन हुने बताउँदै उनी भन्छन् – पानीजहाजको कुनै भाग फुटेको खण्डमा भने त्यसले पूर्ण रूपमा ऊर्जा प्रणालीमा समस्या पैदा गर्न सक्छ।
“अधिकांश यस्ता घटनामा इन्जिनमा समस्या आए तत्काल फेर्न सकिन्छ। तर यो घटना आँधीका कारण फरक बन्न पुग्यो।”
















