उत्तर कोरियाली नेता किम जङअनले आफ्नी बहिनीलाई नीति निर्माणको तहमा पुर्याउँदै पार्टी बैठकबाट उनलाई थप अधिकार प्रदान गरेका छन् । दिवंगत नेता किम जङ इलकी कान्छी छोरी किम योजङले वर्कर्स पार्टीको पोलिटब्यूरोकी सदस्यका रुपमा अब आफ्नी फुपूको स्थान लिनेछिन् ।
३० वर्षीया किम यो(जङलाई दुई वर्षअघि पार्टीको वरिष्ठ अधिकारीका रुपमा चिनिने गरिन्थ्यो । सार्वजनिक कार्यक्रममा प्रायः आफ्ना दाइ किम जङअनसँगै देखिने किम यो जङ उनको सार्वजनिक छवि बनाउनमा भूमिका निर्वाह गरेको ठानिन्छ ।

प्रचारसम्बन्धी उत्तर कोरियाली विभागको उपनिर्देशक पद सम्हालेकी किम यो जङ पहिल्यैदेखि प्रभावशाली रहिआएकी छन् । उत्तर कोरियामा मानवअधिकार उल्लंघनका घटनामा संलग्न रहेको आरोपमा संयुक्त राज्य अमेरिकाले उनलाई कालोसूचीमा राखेको छ ।
शनिवार पार्टीको बैठकबाट दर्जनौं उच्च अधिकारीहरुको जिम्मेवारीमा ठूलो फेरबदल गर्ने क्रममा किम जङअनले बहिनीलाई बढुवा गरेका हुन् ।बीबीसीका एकजना संवाददाता भन्छन्, पार्टीभित्र किम यो जङको बढुवा उत्तर कोरियाली सत्तामा किम परिवारको बलियो पकड रहेको एउटा प्रमाण हो ।गत वर्ष सत्तारुढ पार्टीको कंग्रेसमा महत्त्वपूर्ण पद दिइएपछि नै भविष्यमा किम यो जङलाई मुख्य नेतृत्वभित्र ल्याइने अनुमान गरिएको थियो ।
शनिवार गरिएका अन्य महत्त्वपूर्ण निर्णय अन्तर्गत विदेशमन्त्री री यङ होलाई पोलिटब्यूरोमा ल्याइएको छ । गत महिना राष्ट्रसंघको महासंघमा उनले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई ‘दुष्ट राष्ट्रपति’ भनेर सम्बोधन गरेका थिए ।अन्तर्राष्ट्रिय प्रतिबन्ध र चेतावनीका बावजुद उत्तर कोरियाले आफ्ना पारमाणविक तथा क्षेप्यास्त्र कार्यक्रमलाई जारी राख्ने किम जङअनको अडानका माझ बढुवासम्बन्धी निर्णय बाहिर आएका हुन् । बीबीसी
















