बेइजिङ |

चीनमा कुकुरको मासुमा प्रतिबन्ध लागेको छ । यसअघि चीनमा कुकुरको मासु अत्यधिक खपत हुने गरेकोमा कोरोना संक्रमणपछि सरकारले प्रतिबन्ध लगाएको हो ।
सिएनएनका अनुसार सरकारले मासुका लागि गरिने पशुपालनको सूची तयार गरेको छ । नोभेल कोरोना भाइरस जनावरबाट सरेको आशंकका बीच चीन सरकारले मासुका लागि कुन–कुन पशु पाल्न हुने भनेर सूची तयार गरेको हो ।
चीनको कृषि मन्त्रालयले बुधबार यस्तो सूची तयार गरेको हो । तर, यो पारित भने भइसकेको छैन । जसमा सुँगुर, गाई, कुखुरा र भेडासँगै मृग, अस्ट्रिचको मासु खानयोग्य हुने बताइएको छ ।
बेइजिङले यसअघि नै जंगली जनावर र यिनीहरुको मासु बिक्री वितरणमा रोक लगाइसकेको छ । चीनको वुहानमा जंगली जनावरबाट कोरोना भाइरस सरेको आशंका गरिएको छ ।
उनीहरुले चमेरो, जंगली बिरालो र पांगोल्नबाट मानिसमा कोरोना सरेको हुन सक्ने आधारमा अध्ययन गरिरहेका छन् । तथापि अहिलेसम्म कोरोना भाइरस कुन जनावरबाट फैलियो भन्ने विषयमा वैज्ञानिकहरुले प्रमाण भेटाउन सकेका छैनन् ।
















