भारत ।

भारतको आन्ध्र प्रदेश राज्यस्थित विशाखापटनमा एउटा रासायनिक उद्योगमा ग्यास चुहिँदा कम्तीमा १३ जनाको ज्यान गएको बीबीसी हिन्दीले जनाएको छ। सबै आपतकालीन सेवा निकाय दुर्घटनास्थल पुगेको र ३ सय भन्दा बढी मानिस अस्पतालमा भर्ना भएको बताइएको छ।
प्रहरीले आसपासका इलाकाबाट सैयौँ मानिसलाई सुरक्षित स्थानमा लगिएको जनाएको छ। दुर्घटनाबाट प्रभावित धेरैले आँखा पोलेको र सास फेर्न गाह्रो भएको बताईएको छ । स्थानीय समय अनुसार बिहान ३ बजे एक पोलिमर फ्याक्ट्रीमा दुर्घटना भएको थियो।
बीबीसी हिन्दीका अनुसार ८० जनाभन्दा बढीलाई भेन्टीलेटरमा राखिएको छ। आन्ध्र प्रदेश प्रदूषण नियन्त्रण बोर्डका वरिष्ठ अधिकारी राजेन्द्र रेड्डीले बीबीसी तेलुगुका सतिश बल्लालाई बताएअनुसार चुहिएको ग्यास स्टाइरिन हो। यो ग्यास सामान्यतः रेफ्रिजरेटरमा राख्ने गरिन्छ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्। ग्यास फैलिएपछि स्थानीय बासिन्दा आत्तिँदै घर बाहिर भागदौड गरेका थिए।
















