चिनियाँ राजदूत घरभित्रै मृत फेला

इजरेलस्थित चिनियाँ राजदूत दु वेइ राजधानी तेल अभिभको हेर्ज्लिया उपनगरमा रहेको आफ्नै आवासगृहमा मृत अवस्थामा भेटिएको इजरेलका सञ्चार माध्यमहरूले जनाएका छन्।

उनी ५८ वर्षका थिए। उनी आफ्नै ओछ्यानमा मृत भेटिएको तर मृत्युको कारण नखुलेको बताइएको छ। युक्रेनमा चिनियाँ दूतको रूपमा काम गरेका उनी गत फेब्रुअरी महिनामा राजदूत नियुक्त भएका थिए।

चीनले उनको मृत्युको पुष्टि गरेको छैन। इजरेल प्रहरीका एकजना प्रवक्ताले समाचार संस्था रोयटर्सलाई भने, ‘नियमित प्रक्रियाअनुसार प्रहरी टोली घटनास्थलमा छन्।’

इलरेलको च्यानल १२ टीभीले नाम नखुलाइएको सूत्रलाई उद्धृत गर्दै उनको मृत्यु प्राकृतिक कारणहरूले गर्दा भएको प्रारम्भिक सङ्केतले देखाएको उल्लेख गरेको छ।

उनको नियुक्ति लगत्तै राजदूतावासको वेबसाइटमा सार्वजनिक गरिएको सन्देशमा राजदूत दुले विश्वकै दोस्रो ठूलो अर्थतन्त्र र इजरेलबीचको सम्बन्धको प्रशंसा गरेका थिए।

शुक्रवार उनको राजदूतावासले इजरेल भ्रमणमा रहेको बेला कोरोना भाइरसको महामारीविरुद्ध चिनियाँ कदमको आलोचना गरेका अमेरिकी विदेशमन्त्री माइक पोम्पेओमाथि कडा प्रहार गरेको थियो।

जेरुसलेम पोस्टमा प्रकाशित प्रतिक्रियामा राजदूतावासले पोम्पेओको विवेकहीन टिप्पणीहरूको निन्दा गर्दै चीनले सङ्कटको ढाकछोप गरेको कुरा अस्वीकार गरेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार