काठमाडौं ।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले यूरोपेली यूनियन (इयू) सँग जारी वार्तामा अक्टोबर १५ भित्र ठोस प्रगति नभए ब्रेक्जिट वार्ताबाट अलग हुने चेतावनी दिनुभएको छ ।उहाँले यूरोपेली यूनियनबाट बेलायतको बहिर्गमन (ब्रेक्जिट) का सन्दर्भमा यूनियनसँग कुनै सम्झौता नभए पनि त्यो बेलायतका लागि फलदायी हुने बताउनुभयो ।
हाल बेलायती अधिकारीहरु र यूरोपेली यूनियनका वार्ताकारहरुबीच ब्रेक्जिटपछि बेलायत र यूरोपेली यूनियनबीचको व्यापार तथा अन्य सम्बन्धका विषयमा वार्ता जारी छ । तर यो वार्तामा ठोस प्रगति हुन सकेको छैन । दुबै पक्ष आआफ्ना अडानमा रहेकाले पनि वार्तामा प्रगति हुन नसकेको हो ।
प्रधानमन्त्री जोन्सनले यूरोपेली वार्ताकारहरुले आफ्नो अडानमाथि पुनर्विचार नगर्ने हो भने बेलायतले यूरोपेली यूनियनसँग वार्ता गर्नुको कुनै अर्थ नहुने पनि बताउनुभएको छ । उता यूनियनले बेलायत वार्तामा गम्भीर नभएको आरोप लगाएको छ । बेलायत गत जनवरी ३१ मा यूनियनबाट बाहिरिएको थियो ।
यूनियनमा हाल २७ मुलुक सदस्य छन् । राजनीतिक रुपमा ब्रेक्जिटमा सहमति भए पनि ११ महिनाको संक्रमणकाल अवधि आगामी डिसेम्बर ३१ मा समाप्त हुँदैछ । बेलायतले इयूले अनावश्यक शर्तहरु अघि सारेको बताएको छ ।
















