काठमाडौं ।

अमेरिकाले एक हजारभन्दा बढी चिनियाँ विद्यार्थी र अनुसन्धानकर्ताको भिसा रद्द गरेको छ । सुरक्षा जोखिमका कारण एक हजार चिनियाँ विद्यार्थी र अनुसन्धानकर्ताको भिसा रद्द गरेको अमेरिकी विदेश मन्त्रालयले जानकारी दिएको हो ।
ट्रम्प प्रशासनले बौद्धिक सम्पत्ति, प्रविधि र अरु संवेदनशील सूचनामा शंका देखिएको भन्दै उनीहरुको भिसा रद्द गरेको जनाएको छ । यसबारे चीनले केही प्रतिक्रिया दिएको छैन । सन् २०१८ देखि २०१९ मा झण्डै तीन लाख ७० हजार चिनियाँ विद्यार्थीले अमेरिकाको विश्वविद्यालयमा अनुमति पाएका थिए ।
चिनियाँ सेनासँग निकट सम्बन्ध रहेका विद्यार्थी र अनुसन्धानकर्तालाई अमेरिका प्रवेशमा कडाइ गर्ने गरी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जुन १ तारिखमा एउटा आदेशमा हस्ताक्षर गर्नुभएको थियो ।
अमेरिकाको एक राज्य विभागकी प्रवक्ताले भिसा रद्द गरिएका विद्यार्थीलाई ’उच्च जोखिमयुक्त स्नातक विद्यार्थी र अनुसन्धन विज्ञहरु’ भनेर वर्णन गर्नुभएको छ । उहाँले भिसा रद्द गरिएकाहरु चिनियाँ विद्यार्थीहरुको कुल संख्याको ’सानो उपसमूह’ भएको पनि बताउनुभएको छ ।
















