– निधि राजदान

सन् २०२० मा मैले ट्वीटरमार्फत घोषणा गरेँ- म अब एसोसिएट प्रोफेसरका रूपमा हार्वर्ड युनिभर्सिटीमा जानेछु । त्यसैले एनडीटीभीबाटै मैले आफ्नो २१ वर्षे पत्रकारिताबाट बिदा लिँदैछु । म पूर्णतः विश्वत थिएँ, यो मेरा लागि ठूलो अवसर हो । तर, आठ महिनापछि मेरो विश्वास चकनाचुर भयो । हार्वर्ड युनिभर्सिटीले मलाई लिने कुरा, नियुक्ति सबै एक ‘फिसिङ अट्याक्ट’को हिस्सा थियो, जहाँबाट ह्याकरले मेरो बैंक अकाउन्ट, व्यक्तिगत विवरण, इमेल, मेडिकल रेकर्ड, पासपोर्ट, मसँग भएका डिभाइस जस्तो कि, कम्प्युटर र फोनको डिटेल निकाल्न चाहन्थ्यो । ममाथि जे भयो, यो सबैका लागि पाठ हुने अपेक्षाले मैले यो ब्लग लेखेकी हुँ ।
यसको सुरुवात नोभेम्बर २०१९ मा हुन्छ । हार्वर्ड केन्नेडी स्कुलद्वारा सन् २०२० को सुरुमा आयोजित एक कार्यक्रममा मलाई वक्ताका रूपमा बोलाइएको थियो । यो कार्यक्रमका क्रममा आयोजकमध्येका एकले मसँग छुट्टै कुरा गरे । र, उनले यहाँ पढाउने एक भ्याकेन्सी खाली रहेको र यसमा मेरो इच्छाबारे सोधे ।
प्रयास गर्दैमा मेरो के गुम्छ र भन्ठानेर मैले आफ्नो सीभी पठाएँ । केही सातापछि अनलाइन अन्तर्वार्ता भयो । ९० मिनेटको अन्तर्वार्तामा मलाई सोधिएका प्रश्न निकै व्यावासायिक लाग्ने खालका थिए । त्यसैले मलाई सबै ठीकठाक लागिरहेको थियो । मैले गूगलमा पनि खोजी गरेँ । हार्वर्ड एक्सटेन्सन स्कुलमा पत्रकारिताको डिग्री प्रोग्राम गराइने जानकारी पाएँ । यसका विपरीत मानिसहरू ट्वीट गरिरहेका थिएनन् । तर, हार्वर्डमा एक स्कुल छ, जसलाई एक्सटेन्स स्कुल भनिन्छ, त्यसले पत्रकारिताको डिग्री प्रोग्रामको अफर गर्छ । रियल प्रोग्रामलाई मास्टर अफ लिबरल आर्ट्स, पत्रकारिताको डिग्री भनिन्छ । एक्सटेन्सन स्कुलमा पाँच सय शिक्षक छन्, जहाँ १७ जना पत्रकारिता शिक्षक हुन् । यीमध्ये कतिपय काम गरिरहेका पत्रकार नै हुन् । यो प्रोफाइलमा फिट हुन्छु भन्ने मलाई विश्वास थियो ।

जनवरी २०२० मा मलाई कथित हावर्डका एचआर पर्सनबाट एउटा इमेल आयो । त्यो आधिकारिक हार्वर्ड इमेल आइडीका रूपमा आएको थियो, जसमा अफर लेटर र एग्रीमेन्ट थियो । त्यो बकाइदा हार्वर्ड विश्वविद्यालयको लेटर हेडमा थियो । विश्वविद्यालयका सबै वरिष्ठ अधिकारीहरूको हस्ताक्षर पनि थियो, जो आज पनि त्यहाँ कार्यरत छन् । यो इमेल मेरो पहिलाको अफिस एनडीटीभीलाई पनि पठाइएको थियो, जहाँ सिफारिस पत्र र अन्य कागजात दिन भनिएको थियो । त्यसबेला कसैले पनि सोचेनन्, कुनै फ्रड हुन सक्छ ।
सेप्टेम्बर २०२० सम्म मलाई भर्ती हुन भनिएको थियो । म तयारी गरिरहेकी थिएँ । मलाई फेरि भनियो, ‘महामारीका कारण मेरो क्लास जनवरी २०२१ देखि सुरु हुने छ ।’
यसपछिका केही महिना म र कथित हार्वर्डका अफिसियलबीच थुप्रै इमेल आदनप्रदान भयो । यसक्रममा उनीहरूले ‘वर्क भिसा’का लागि भन्दै मेरो व्यक्तिगत जानकारी मागे । मार्च २०२० मा प्याकल्टी ओरेन्टेसनमा भाग लिन भन्दै मलाई ‘आधिकारिक’ निम्ता पनि पठाइएको थियो तर महामारीका कारण यो पनि रोकिएको थियो । मैले इमान्दारीपूर्वक सोचेकी थिएँ । किनकि, कोभिडले हामी सबैको जीवन प्रभावित गरेको थियो, संसारभर लकडाउन गरिँदै थियो ।
जुन २०२० मा मैले एनडीटीभी छोडेर हार्वर्ड जाने घोषणा गरेँ । ममाथि के हुन गइरहेको छ, अहिलेसम्मका सबै कम्युनिकेसनका आधारमा मलाई कुनै शंका थिएन ।
मलाई कक्षाका कार्यक्रमहरू पठाइयो, जहाँ मैले पढाउने विषयको विवरण, मेरो कक्षाको विस्तृत जानकारी थियो । सेप्टेम्बर २०२० मा अनलाइन कक्षा सुरु हुने भनिएको थियो । तर, अक्टुबरसम्म पहिले बन्द गरियो । र, फेरि कोभिडका कारण जनवरी । त्यसपछि मलाई लाग्यो, यो केही थिएन । मेरा लागि अमेरिकामा वर्क भिसाको कुरा मसँग गरिएको थियो । तर, यात्राका लागि आवश्यक पर्दा मात्र मलाई पठाइने भनिएको थियो । मलाई दिल्लीदेखि नै भिसाको आवश्यकता हुन्थ्यो तर त्यो चरणमा पुगिएन । किनकि, तत्काल सूचीमा कुनै यात्रा थिएन ।
सुरुमा त मैले महामारीमा यो सबै सामान्य भन्ठानेँ । तर, हालै मात्र जे भयो, त्यो निकै निराशाजनक थियो । मलाई शंका लाग्न थालेपछि मैले सिधै हार्वर्ड युनिभर्सिटीका वरिष्ठ अधिकारीहरूलाई सम्पर्क गरेँ । अहिलेसम्म मसँग भएका सबै कम्युनिकेसनबारे मैले उनीहरूलाई बताए । युनिभर्सिटी पक्षका कुरा सुनेपछि मलाई थाहा भयो, म त एक भिन्न खाले फिशिङ अट्याकको सिकार बनेकी रहेछु । वास्तवमा मलाई हार्वर्ड युनिभर्सिटीबाट त्यहाँको जर्नालिज्म डिपार्टमेन्टको फ्याकल्टी बन्ने खालको कुनै अफर नै आएको थिएन ।
म आवद्ध रहेका संस्था, संगठनलाई मैले तत्कालै यसबारे जानकारी गराएँ ।
मेरा वकिलले सबै इमेल पढेर यसलाई एक ठूलो फिशिङ भएको बताए । मेरो पैसा चोरी गर्न तथा गलत प्रयोगका लागि उनीहरू मेरो व्यक्तिगत विवरण लिइरहेका थिए ।
सबै कुरा थाहा पाएपछि मैले प्रहरीमा रिपोर्ट गरेँ । र, जाँचका लागि हार्वर्ड युनिभर्सिटीलाई आग्रह गर्दै इमेलका सबै कागजात पठाइदिएँ । यो घोर आपराधिक कृत्य थियो । म निकै हैरान छु । यसरी ‘उल्लु’ बनेकोमा भित्रैबाट पछुताइरहेकी छु ।
भारतीय वरिष्ठ पत्रकार निधि राजदानले आफूमाथि भएको साइबर ठगीका बारेमा लेखेको ब्लग, जुन एनडीटिभीबाट अनुवाद गरिएको हो ।
















