डब्ल्यूएचओद्वारा नेपाललाई कालो ढुसीको औषधि एम्फोटेरिसिन ‘बी’ सहयोग

काठमाण्डाै – विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले कालो ढुसी अर्थात ब्ल्याक फङ्गसको उपचारमा प्रयोग हुने औषधि एम्फोटेरिसिन ‘बी’ सहयोग पठाएको छ ।

नेपालको आग्रहमा डब्ल्यूएचओले एक हजार भाइल एम्फोटेरिसिन ‘बी’ नेपालमा पठाएको हो । डब्ल्यूएचओले पठाएको एक हजार भाइल नेपाल आइपुगेको छ । नेपालमा पनि कालो ढुसीको बिरामी देखिन थालेपछि सरकारले विश्व स्वास्थ्य सङ्गठनसँग जति सक्दो छिटो औषधिको सहयोग पठाउन आग्रह गरेको थियो ।

याे पनि पढ्नुहाेस् ।
नेपालमा पनि बढ्दै गएको ‘कालो ढुसी’ सङ्क्रमणबारे जान्नै पर्ने कुरा
डब्ल्यूएचओले पठाएको यो औषधि भुसुनाको टोकाइका कारण लाग्ने कालाजार रोग विरुद्ध पनि प्रयोग हुने भएकाले केही भाइल त्यसका लागि पनि राखिने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर कृष्ण पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्वास्थ्य सेवा विभागले थप १० हजार भाइल यो औषधिको खरिदका लागि तयारी गरिरहेको छ । पछिल्लो समय भारतमा बढ्दै गएको कालो फङ्गसका कारण यसको निर्यातमा प्रतिबन्ध लगाएपछि औषधिको अभाव हुन थालेको छ ।

नेपालमा अहिलेसम्म १० जनामा कालो ढुसी पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलका अनुसार कालो ढुसीका बिरामी नेपालगञ्ज, वीरगञ्ज र काठमाण्डौमा भेटिएका छन् । यसअघि कालो ढुसी भारतमा देखिएको थियो । डाक्टरका अनुसार कालो ढुसीले कोभिड–१९ भएका बिरामीको आँखा, नाक र अनुहार बिगार्ने गर्दछ । यो सङ्क्रमण बिरलै देखिने तर सङ्क्रमण गम्भीर भए ज्यान समेत जान सक्ने डा.पौडेलले बताउनुभयो।

अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने, आँखा र नाक सुन्निने रातो हुने वा दुख्ने, आँखाका ढकनी सुनिने,ज्वरो आउने, आँखाले धमिलो देख्ने, नाकबाट रगत र बाक्लो सिँगान आउने, दाँत दुख्ने वा हल्लिने जस्ता लक्षण देखा पर्दछ । यो रोग मधुमेह वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका र धेरै खाले एन्टिबायोटिक वा स्टेरोइड औषधिको लामो समयसम्म प्रयोग गर्नेलाई कालो ढुसीको जोखिम हुने उहाँले बताउनुभयो ।

कालो ढुसीबाट बच्नका लागि सफा र सुक्खा मास्क प्रयोग गर्ने, नियमितरूपमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, घर बाहिर वा फोहरमा काम गर्नुपरे डिस्पोजेबल पञ्जाको प्रयोग गर्ने, धेरै धुलो भएको र ओसिलो ठाउँमा नजाने, नुनिलो पानीले नाक सफा गर्ने जथाभाबी एन्टिबायोटिक औषधि नखाने, मधुमेह भएका बिरामीले मधुमेह नियन्त्रण गर्ने र स्वास्थ्यकर्मीको सल्लाहमा मात्र औषधि खानु पर्ने डाक्टरको सुझाव छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार