
बेइजिङ । चीनमा काम गरिरहेकी रसियाकी १४ वर्षीया मोडलको मृत्यु भएपछि विभिन्न दाबीहरु बाहिर आउन थालेको छ ।
रसियाको पर्म सहरकी वासिन्दा रहेकी भ्लाडा ज्युबाको ‘अति थकान’ र मेनिन्जाइटिसबाट मृत्यु भएको थियो । सुपर मोडल बन्ने सपना बोकेकी उनी ‘तीन महिनाको करार’ मा चीन पुगेकी थिइन् ।
बेलायती अनलाइन डेली मेलमा प्रकाशित समाचारका अनुसार भ्लाडाले चीनमा रहँदा खान र बस्नको पैसा कटाएर दैनिक ६.३ पाउण्ड मात्र कमाउने गर्थिन् ।
अहिले उनको मातापितासँग चीनसम्म पुगेर उनको शव ल्याउने पैसा समेत छैन । समाचारमा उनको शवलाई चीनमा नै अन्तिम संस्कार गरेर अस्तुलाई मात्र रसिया पठाइने उल्लेन गरिएको छ ।
यस घटना ग्लामरको संसारमा बालबालिकामाथि हुने अत्याचार उजागर गरेको समाचारमा उल्लेख गरिएको छ ।
चिनियाँ समाचार एजेन्सीहरुले भने उनको मृत्यु ब्लड पोइजनिङपछि मुख्य अंगहरुले काम गर्न छाडेको कारण भएको उल्लेख गरेका छन् ।
कोमामा जानअघि उनले रसियामा रहेकी आमालाई फोन गरेर आफू निकै थकित भएको बताएकी थिइन् ।
बिरामी भएर ढल्न अघि भ्लाडाले एक ज्वेलरीका लागि १३ घण्टा लामो फोटोसुट गरेकी थिइन् ।
भ्लाडाको चिनियाँ मोडलिङ एजेन्सी इएसइइले भने उनलाई बढी काम नलगाएको दाबी गर्दै समाचारको खण्डन गरेको छ ।
















