– स्वरुप आचार्य
ओबामा कस्ता पिता ?
विश्वको सबैभन्दा व्यस्त पुरुषले आफ्नो पारिवारिक जीवन र काममा कसरी समनजस्यता कायम गरेका छन् ? यस जिज्ञासालाई अमेरिकी राष्ट्रपति बाराक ओबामाले सम्बोधन गरेका छन्। मोर म्यागजिनले यसै महिनाको अंकमा प्रकाशित गरेको उनको लेखको अनुदित अंश।
अमेरिकाको राष्ट्रपति भएपछि सधैं मानिसहरूबाट घेरिरहनु कुनै नौलो विषय हुँदैन । सहयोगी, पत्रकार, सुरक्षाकर्मी र आम मानिसको घेराबाट उम्किएर निस्किन गाह्रो हुन्छ ।
त्यो घेराबाट मुस्किलले बाहिर निस्किएर व्यक्तिगत समय व्यतीत गर्दा आफूलाई घेर्ने मान्छे सधैं महत्त्वपूर्ण हुन्छ । यस अर्थमा म भाग्यमानी छु । किनकि म त्यो अत्यन्त दुर्लभ क्षणमा महिलाहरूद्वारा घेरिएको हुन्छु । उनीहरू मेरो जीवनका अभिन्न पाटाहरू हुन् । म जस्तो छु, तिनै महिलाहरूका कारणले छु । यो पदमा रहिरहँदा उनीहरू नै मेरो सुरक्षित आश्रय हुन् ।
प्राय: मानिसले मलाई सोधिरहेका हुन्छन्, राष्ट्रपति भएपछि मिचेल र छोरीहरूसँग समय बिताउन कठिन भएको हो ? तर अचम्मको कुरो ह्वाइट हाउसमा बस्न थालेपछि हाम्रो पारिवारिक जीवन अरू समयमा भन्दा पनि सामान्य भएको छ ।
जब मालिया जन्मिइन् । मिचेल र मैले सुरुको तीन महिना घरमै बसेर आफ्नी छारीसँग मात्र बिताउने मौका मिल्यो । तर त्यसपछि मिचेलले पार्ट टाइम काम गर्न थालिन् । मैले पनि सिकागो विश्वविद्यालयमा कानुन पढाउन र राज्यको सासंदको रूपमा काम सुरु गरें । जसले गर्दा म साताको तीन दिनसम्म पनि घरबाट बाहिर हुन्थें । म सिकागोमा घरमै हुँदा पनि कलेजको पेपर, नोट र अक्सर बेलुकीका बैठकहरूमा जानुपर्ने हुन्थ्यो ।
हामी दुवै व्यावसायिक भएकाले भाग्यवश हामीसँग हाम्रो बच्चाको रेखदेख गर्न वा थाकेका बेला बाहिर खान जानका लागि स्रोत साधनको कमी भएन । हामीले गर्ने कामले हामीलाई त्यो उन्मुक्ति दिएको थियो जुन धेरै परिवारले पाउँदैनन् । भलै हामी दुवैको टाउकोमा शैक्षिक ऋणको भार थियो । भनाइको मतलब, हामी दुई विवाह बन्धनमा बाँधिएसँगै अझ बढी गरिब भयौँ । त्यसैले हामीले सुकासुकाको हिसाब गरेर खर्च गुर्नपथ्र्यो । घरको खर्च, पूरै समय छोरी हेर्ने मान्छे राखेको खर्च । दुवैजना काम गर्ने र बच्चा भएको अन्य परिवारझैं कहिलेकाहीं यस्ता तनावले हाम्रो विवाह बन्धनमै पनि समस्या ल्याउँथ्यो । जतिबेला सासा जन्मिइन् त्यतिबेला मिचेल घर र काममा नराम्रोसँग फँसेकी थिइन् । मैले अघि सरेर मद्दतको हात बढाएँ । मलाई लाग्यो, मैले ठूलै काम गरिरहेको छु । तर, वास्तविकता छुट्टै थियो, मैले मेरो समयअनुसार सघाउने वाचा गरेको थिएँ । प्राय: महिलाझैं यसले मिचेललाई कुनै सहयोग पुर्याएन, बरु झन् समस्याहरू थपिदियो ।
त्यो कठिन समयबाट बाहिर निस्किन मेरो सासू मारियनको ठूलो सहयोग रह्यो । उनी हाम्रो घरभन्दा मात्र केही मिनेटको दूरीमा बस्थिन् । तैपनि मिचेललाई तनाव नै थियो । मलाई लाग्थ्यो कहिलेकाहीं उनले एकल आमा भएको अनुभूति गर्छिन् । म अमेरिकी संसद्का लागि निर्वाचित भएपछि समय झनै कठिन भयो । म हरेक साता वासिङ्टन जानेआउने गरिरहनुपर्ने भयो । जब मैले राष्ट्रपति पदका लागि उम्मेदवारी दिएँ, म लामो समय घरबाट बाहिर रहन थालेँ । मिचेललाई कामको भार झनै बढ्यो । त्यसले हाम्रो पारिवारिक जीवन भताभुंग नै भयो ।
त्यसैले म उनलाई सधैँ हाम्रो परिवारको चट्टानको संज्ञा दिन्छु, हो पनि । किनकि उनी कहिल्यै डग्मगाइनन् ।

म राष्ट्रपति भएपछि झन् के हुन्छ भन्ने थाहा थिएन । हामीलाई मात्र यति थाहा थियो कि, परिवारका लागि मसँग झन् कम समय हुन्छ । मालिया र सासालाई उनीहरू पढिरहेको स्कुल र समुदायबाट अलग गरेर अन्यत्र लैजान पनि गाह्रो हुन्छ । त्यो सबैलाई सरलीकरण गर्न हामीले मरियनलाई सँगै ह्वाइट हाउस लाने निर्णय गर्यौं । जसले गर्दा मिचेल र म दुवै बच्चाहरूबाट टाढा भएको बेला पनि उनीहरूलाई गाह्रो नपरोस् ।
ह्वाइट हाउस सरेपछि अच्चम लाग्दो अनुभूति भयो बच्चाहरू जन्मिएपछि पहिलोपटक हरेक साँझ हामी सबैको एकैपटक भेट हुन थाल्यो । मिचेल र म उनीहरूको प्यारेन्टटिचर कन्फ्रेन्स मा जान पायौं । मैले मालियाको टेनिस म्याच र सासाको नृत्य हेर्न जान पाउन थालें । सासाको बास्केटबल टिम द भाइपर्स लाई कोच गर्न पनि मैले मद्दत गर्न सकें । उनीहरूले टाइटल पनि जिते । मैले अन्य बाबुझैं हाई हिल लगाएर आफ्नो छोरी पहिलो प्रोम मा गएको डराई डराई हेरें ।
जवान छोरीहरूको बाबु हुन वास्तवमै सजिलो छैन । तर, कार्यालयमाथि नै बस्न भने रमाइलो हुने रहेछ ।
अति व्यस्त समयको दिन पनि मिचेल र मैले बिनाकुनै रोकतोक केही समय परिवारसँग बिताउन पाउँछौँ । म जतिसुकै व्यस्त भए पनि बेलुकी ६:३० मा परिवारसँग रातिको खाना खान माथि उक्लन्छु । त्यो अकाट्य छ । मेरो कर्मचारीहरूलाई पनि थाहा छ, मलाई त्यो डाइनिङ टेबलबाट पर राख्न राष्ट्रिय संकट नै हुनुपर्छ भनेर । बरु म उल्लूजस्तै राति सबै सुतेपछि अबेरसम्म जागा बस्छु । ब्रिफिङ्सहरू पढ्छु, भाषणहरूमा काम गर्छु ।
त्यसैले डिनर टेबलमा एक घन्टाजस्तो समय बिताउँदा मेरो ध्यान, मैले आज दिनभरि के गरें भन्नेमा हुँदैन । म सासा र मालियालाई सामान्य बाबुझैं टिठलाग्दा अभिभावकीय प्रश्नहरू गर्छु आज स्कुल कस्तो रह्यो ? तिम्रो साथीहरूको खबर के छ ? तिमीले गृहकार्य गर्यौ ? तिमी के सोचिरहेको ? उनीहरू भने अधिकांश समय मसँग जिस्कन्छन् । उनीहरू मेरो ठूलो कान र पुरानो फेसनको सुटलाई लिएर मजाक गर्छन् । मिचेल पनि उनीहरूकै साथ दिन्छिन् ।
उनीहरू ठूला भएर जान्नेसुन्ने पनि भएकाले विभिन्न विषयमा प्रश्नहरू गर्छन् । उनीहरूलाई वातावरणमा खुबै चासो छ । यस्तै कसैलाई वर्ग, लिंग वा अपांगतालाई लिएर विभेद गरिनु हुँदैन भन्छन् । मेरो दिनको अन्त्य नै उनीहरूले विश्वको बारे के सोच्छन् भन्ने सुनेरै बित्छ । उनीहरू हेर्दाहेर्दै समझदार, दयालु महिलामा रूपान्तरित हुँदै छन् । त्यसले मलाई ऊर्जा दिन्छ । र त्यो समय जब म केवल बाबु हुन्छु, त्योभन्दा रामइलो केही हुन्न ।
मिचेल ती समयलाई जोगाइराख्न भरमग्दुर कोसिस गर्छिन् । मैले भनेजस्तै उनी हाम्रो परिवारको जग हो । मजबुत चट्टान । जेसुकै भए पनि उनीहरू सधैं मेरो साथमा र म उनीहरूको साथमा रहनेछु भन्नेमा विश्वस्त छु । अन्य अभिभावकझैं जो आफ्नो सन्तान क्याम्पस पढ्न घरबाट टाढा बस्दा त्रसित हुन्छन्, म पनि त्यस्तै त्रसित छु । मलाई डिनर टेबलमा त्यो खाली कुर्ची हेर्ने मनै हुँदैन । म हामी सबै एकै छतमुनि हुँदाको हरेक पललाई रमाएर बिताउन चाहन्छु ।
पूर्व प्रथम महिला नान्सी रेगनले एकपटक लेखेकी थिइन्, केही कुराले पनि तपाईँलाई ह्वाइट हाउसमा बस्न तयार बनाउन सक्दैन । वास्तवमै उनी सही छिन् । केही कुराले पनि तयार बनाउन सक्दैन । तर, परिवारको सहयोगले टिकाउन भने सक्छ ।
















