दुई नियात्राकारको गरमागरम बहस

‘सरसर्ती संसार’ घुमिसकेका चर्चित व्यवसायी तथा गैरआवासीय नेपालीका पूर्व अध्यक्ष जीवा लामिछाने पुतलीसडको एउटा सामान्य चिया पसलमा चिया पिइरहेका थिए । सामान्य चिया पसलमा सुस्ताउनुपर्ने एउटै कारण थियो– त्यहाँ उनका अर्बपति साथीहरू भेटिने छैनन् ।

रुस, जर्मनी र दुबईका भागमभाग व्यवसायिक व्यस्तताका कारण जीवा चाँडै थाक्छन् र सुस्ताउन नेपाल आइपुग्छन् । र, उनलाई थाहा छ, नेपालका जुनसुकै तारे होटल पस्ने बित्तिकै उनलाई चिन्नेहरूबाट घेरिइहाल्छन् । नेपालमा चलिरहेका दर्जनौं व्यवसायका साझेदार र निकट हुन चाहने शुभचिन्तकबाट बच्न उनलाई अब गाह्रो छ । लोकप्रियताको सीमा नाघेपछि सायद यस्तै हुन्छ ।

यही कारण केही समय एकल चिन्तन गर्न मन लाग्यो भने उनी प्रायः ऐकान्तिक ठाउँहरूमा छिर्छन् । तर, यो पटक जीवा लामिछानेको ऐकान्तिक समय बिताउने योजनामा भाँजो हाल्न आइपुगे, नेपालका चर्चित नियात्राकार युवराज नयाँघरे ।

१६ पुस्तकका लेखक, मदन पुरस्कारप्राप्त कृतिका स्रष्टा युवराज नयाँघरे आफै इलामबासी हुन् । चियाको बोटको कथा सुन्दै हुर्किएका र हरियो चियाका पारखी युवराज नयाँघरे पनि बेला–बेलामा यस्ता चिया पसल छिर्छन् । घरमा लेख्ने पढ्ने वातावरण कम हुँदा उनका लागि यस्ता चिया पसलले राहत दिने गरेका छन् । गएको साता युवराज नयाँघरे पनि अस्ट्रेलिया यात्राका विषयमा लेखिएको नियात्राको अन्तिम सम्पादन गर्न त्यही चियापसलमा पुगे, जहाँ अर्का नियात्राकार जीवा लामिछाने सुस्ताइरहेका थिए ।

यी दुई नियात्राकारको अचानकको भेटको साक्षी हुनपुग्यो अनलाइनखबर । यो भेटको दृश्य देख्दा लाग्दथ्यो, उनीहरू लामो समयदेखि परिचित मात्रै छैनन्, एक अर्कालाई निकै सम्मान गर्छन् । युवराज नयाँघरे चिया पसलमा भित्र छिर्ने बित्तिकै फोनमा व्यस्त भएका जीवा जुरुक्क उठे र स्वागत गरे । लगत्तै फोनको वार्तालाप टुङ्ग्याउनीमा पुर्याए । यता सामान्य पसलमा प्रिय मित्र अचानक आफ्नो अघि पाउँदा उनको अनुहारमा आश्चर्य र खुसी एकसाथ सोहोरिएर आयो । एक छिनसम्म उनी बोल्नै सकेनन् । सायद यही कारण जीवाले नै कुरा सुरु गरे ।

नमस्ते युवराजजी, आराम हुनुहुन्छ ?

युवराज: आराम छु, आराम के भन्नु, तपाईंलाई अचानक देख्दा खुसीले मुटु ढुकढुक पो गरिरह्यो ।

जीवाः लौ, के भन्नु भाको, मुटुको काम नै ढुकढुक गर्ने हो नि ।

युवराजः कल्पना नै नगरेको मान्छे देख्दा यसरी ढक्क मुटु फुल्छ क्यारे ।

जीवाः तपाईं मुटुलाई पनि फुलाइदिनु हुन्छ । अनि फूललाई धमनी बनाएर दौडाउनु हुन्छ । गज्जब छ, तपाईंको शैली ।

युवराज: यो प्रशंसा हो कि गाली, छुट्याउन पो सकिएन ।

जीवा: प्रसंसा हो नि । सा¥है काव्यात्मक लेख्नुहुन्छ युवराजजी तपाईं । केही परे, आफ्ना मित्रलाई गाली गर्नसमेत पछि पर्नुहुन्न । तर मैले प्रशंसा गरेको हुँ ।

युवराज: तपार्इं पनि कम लेख्नुहुन्न । मलाई त तपाईंको फेसबुक पनि छुटाउन मन लाग्दैन । प्रत्येक स्टाटस मलाई नियात्राका अंश लाग्छन् ।

जीवा: होइन, म त सिकारु लेखक ।

युवराज: सिकारु भन्दाभन्दै हामीजस्ता नियात्राकारको छुट्टी गरिसक्नुभयो ।

जीवा: त्यसो नभन्नुस्, लाज हुन्छ । कहाँ तपाईंहरूजस्ता दिग्गज साहित्यकार । तपाईंहरू त लेख्न नै यो धर्तीमा आउनु भएको हो । म रहरे लेखक, तपाईंहरू व्यावसायिक । तुलनै हुनसक्दैन ।

युवराज: तुलना गरेको होइन, पटक्कै होइन । फुक्र्याएको पनि होइन । जहाँ जानुहुन्छ, त्यो ठाउँको रहनसहन, भूगोल, इतिहास, प्रशासनिक कुरा छर्लङ्ग पारिदिनु हुन्छ । साँच्चै ईष्र्या नै लाग्छ हामीलाई । चुपचाप नेपाली नियात्रालाई ठूलो योगदान दिइरहनुभएको छ । इमान्दारीताका साथ भन्दा ‘सरसर्ती संसार’ नियात्राले मलाई झड्का दिएको हो । संसारका विभिन्न देश घुम्ने तपाईं मात्रै हुनुहुन्न, तर तपाईंले जसरी नियमित र व्यवस्थित कसले लेख्न सक्छ ?

जीवाः होइन, होइन, धेरै फुक्र्याउनु हुन्न ।

युवराज: मलाई के छक्क लाग्छ भने सबैलाई सरस्वतीले राम्रो लेख्ने कला दिएकी हुन्नन् । अनि जसलाई त्यो कला दिएकी हुन्छिन्, उसलाई यसरी संसार घुम्न सक्ने पैसा पनि दिएकी हुन्नन् । लेख्ने कला र व्यापार गर्ने क्षमता भएका कतिजना छन् नेपाली ? त्यो पनि अन्तर्राष्ट्रिय स्तरमा । म भाग्यमानी भन्छु तपाईंलाई । भाग्यमानी लेखक ।

जीवा: तर एउटा कुराचाहिँ सत्य हो । अलिकति योजना बनाएर यो कुरा लेख्छु भनेर त्यो ठाउँ जाँदा राम्रो कुरा आउँदो रहेछ । जस्तो, यो नयाँ वर्षमा म आइसल्याण्ड गएको थिएँ । केही कुरा फेसबुकमा पोस्ट गरेको, धेरै राम्रो प्रतिक्रिया आयो । त्यो अहिले लेखेर तयार भएको छ, आफैंलाई सन्तुष्टि मिलेको छ । पहिले योजना नबनाई गएको स्थानबाट यति राम्रो कुरा ल्याउन सकेको थिइन ।

युवराज: होइन, सरसर्ती संसार बेजोड नै लेख्नुभएको छ ।

जीवा: खासमा त्यो रहरले निकालेको पुस्तक हो । म त्यसलाई मध्यम स्तरको कृति मान्छु । यो पुस्तक छापौं कि नछापौं भनेर म लामो समयसम्म द्विविधामा थिएँ । साहित्य मेरो रुचिको विषय हो । बेला बेलामा लेख्छु तर छाप्ने उद्देश्यले लेखेको हुन्न । फुटकर लेख कुनै पत्रिकाले मागेपछि मात्रै लेख्छु । समयको अभाव पनि कारण हो । यो पुस्तक पनि झण्डै नछापेको । त्यसलाई तपाईं जस्तो माझिएका नियात्राकारले बेजोड भन्न मिल्दैन । तपाईंले हामी सिकारुलाई सुझाव पो दिनुपर्छ ।

युवराज: कमजोरी पनि छ । शतप्रतिशत ठीक छ भनेको भनेको होइन । मेरो भनाइको मतलब, तपाईंको पहिलो पुस्तक हो । पहिलो पुस्तक हामीले त्यति राम्रो कहाँ लेख्न सकेका थियौं र ?

जीवा: तपाईं जत्तिकाले हामी सिकारुहरूको कमजोरी देखाउनु पर्यो ।

युवराज: कमजोरी देखाउनकै लागि देखाउने हो भने मैले भन्नु पर्छ, ‘सरसर्ती संसार’ अलि विवरणमुखी छ । खासमा नियात्रामा ५० प्रतिशत यथार्थ विवरण र ५० प्रतिशत अनुभूति हुनुपर्छ । तपाईंका नियात्रामा ६० प्रतिशत विवरण र ४० प्रतिशत मात्र अनुभूति छन् । यो तपाईंले सुधार गर्नैपर्ने पक्ष हो ।

जीवा: सोह्रै आना सत्य भन्नुभयो । अघिसम्म तपाईंले फुक्र्याउनु भएको भन्ने कुरा अहिले प्रमाणित भयो ।

युवराज: त्यसो भनेर तपाईंले आफ्नै अवमूल्यन गर्नुभयो । तपाईंका नियात्रामा भुगोल असाध्यै राम्रो प्रस्टिन्छ । तपाईंका लेख पढ्दा आधिकारिक हुन्छन् । अरूका यस्ता नियात्रा पढिसकेपछि त्यो स्थानका बारेमा जान्न गुगलको सहारा लिनुपर्छ । तपाईंको पर्दैन । मेरै नियात्रामा पनि त्यो समस्या छन् ।

जीवा: गुगल हेरे भैगो नि, किन जीवाका नियात्रा पढ्नु पर्यो भन्नुभएको हो ?

युवराज: गुगल झैं विवरण हुँदैन । तपाईंका निजी अनुभूति हुन्छन् । अलि अनुभूतिचाहिँ बढाउनुपर्छ । नियात्रा भनेको गाइड बुक होइन । तपाईंका नियात्रामा यति धेरै विषयहरू गुजुल्टिएर आएका हुन्छन् कि म भए, त्यसबाट दुई–चार अरू नियात्रा तयार गर्ने थिएँ । तपाईं एक ठाउँ पुगेर जतिसुकै समय बिताउनुहोस्, एउटा मात्र नियात्रा तयार पार्नुहुन्छ । एउटै ठाउँका फरक विषयमा कलम चलाउने तिर पनि ध्यान दिनुपर्ला ।

जीवा: हो हगि ! म यसतर्फ विचार पुर्याउँछु ।

युवराज: म केही महिना अस्ट्रेलिया बसेर आएँ । त्यसको एउटा पूरै पुस्तक निस्कँदै छ । तपाईंले ५ वटा महादेश घुम्दा जम्मा एउटा पुस्तक तयार पार्नुभयो । ती स्थानमा घुम्न पाउने तपाईं भाग्यमानी । ती कुरा अरूले न लेख्न सक्छन्, न देख्न पाउँछन् ।

जीवा: अबचाहिँ नियात्रा लेखनमा विचार गर्नुपर्ला । ‘सरसर्ती संसार’ नछापिइन्जेलसम्म नियात्रा मेरो विषय हो भन्ने कुरालाई ध्यान दिएको थिइन । अब यसमा केही समय छुट्याउँछु ।

युवराज: ५ वटा महादेशका कुरा राख्नुभएको छ । तपाईंले ७ वटै महादेश घुमिसक्नुपर्ने होइन र ?

जीवा: दक्षिण अमेरिका र उत्तर अमेरिका गरी दुई महादेश छन् । एउटा महादेशको कुरा आएको छ, अर्को महादेशको भ्रमण गरे पनि त्यो परेन । अब केही महिनापछि अन्टार्टिका पनि पुग्ने योजना छ । त्यो भ्रमण सफल भएछ भने अर्को कृतिमा ७ वटै महादेशलाई छुने योजना छ ।

युवराज: हैन हो, तपाईं त्यति व्यस्त मान्छे, कुन बेला पढ्नुहुन्छ, कुन बेला लेख्नुहुन्छ ?

जीवा: रुचि भएपछि आफैं हुँदो रहेछ । डायरी लेख्ने बानी मेरो सानैदेखि हो । ३५ वर्षदेखि डायरी लेखिरहेको छु । बरु नलेख्दा पो के गर्ने भन्ने हुँदो रहेछ । पढ्नु पनि त्यस्तै रुचि हो । तर आजभोलि सामाजिक सञ्जालहरूले पढ्ने बानी छुटाउँदै लगेको छ । पहिले फुर्सद हुने वित्तिकै पुस्तक पढ्थेँ, अहिले सामाजिक सञ्जालतिर मन जान थालेको छ ।

युवराज: लौ, तपाईं जस्तो पढन्तेले यसो भनेपछि कसले पढ्ने नेपाली पुस्तक ?

जीवा: यो मेरो मात्रै समस्या होइन । अहिले अरूबाट यस्तै कुरा सुन्न थालेको छु । पढ्ने बानी भएकाले पहिले फुर्सदको समय बिताउन पुस्तक पढिन्थ्यो त्यसले ज्ञानको दायरा फराकिलो हुन्थ्यो । अहिले सामाजिक सञ्जालले मानिससँगको सम्बन्ध बिस्तार गरेको छ तर ज्ञानको दायरा खुम्च्याएको छ । नियात्रा मेरो अझै रुचिको विषय हो तैपनि तपाईंका पछिल्ला कृतिहरू पढ्न पाएको छैन । अहिले बजारमा आएका धेरै राम्रा पुस्तकहरू पनि पढ्छु भन्दै राखेको छु तर त्यत्तिकै छन् ।

युवराज: मेरा १६ मध्ये कति पुस्तक पढ्नुभएको छ ?

जीवा: ८–१० वटा त पढेकै छु ।

युवराज: के राम्रो लाग्छ ?

जीवा: छोटा छोटा वाक्य । काव्यात्मक प्रस्तुति । तपाईंको पुस्तकमा कविताको स्वाद पाइन्छ अनि स्थानीय जानकारी पनि पाइन्छ । कविता र नियात्राको स्वाद एकसाथ पस्कने तपाईं मात्रै लेखक हो । यो म सार्वजनिक रूपमा भन्न सक्छु ।

युवराज: अघि मैले फुक्र्याएको भन्नु भयो, अहिले आफै मलाई उकास्न थाल्नुभयो ?

जीवा: हेर्नुस्, आफूमा जे कमजोरी छ, अरूको लेखनमा त्यही प्रस्ट देखिन्छ । मलाई तपाईंको चुम्बकीय शैली मनपर्छ । शब्दको लालित्य, चयन र प्रस्तुति अब्बल छ । मलाई पनि त्यसैगरी आफ्ना नियात्रा सुरु गरौं भन्ने लाग्छ तर सक्तिनँ । साँची तथ्यहरू कसरी ल्याउनु हुन्छ ?

युवराज: मैले तथ्यहरू ल्याउने भनेको स्थानीय व्यक्तिको सहाराले हो । कुनै कुरा खोजेर त्यसलाई नियात्राकारले आफै भन्दा त्यो अलि कलात्मक सुनिँदैन । त्यही तथ्य स्थानीय व्यक्तिले स्थानीय भाषामा भन्दा त्यो बेजोड सुनिन्छ । नियात्राले थोरै भए पनि आफू घुम्न गएको स्थानको इतिहास, भूगोल, रहनसहनको माग गर्छ । ती कुराहरूलाई आँखाले देखेजस्तै राख्यो भने उति राम्रो हुँदैन । मानौं कुनै बजार तीन सय वर्ष पुरानो हो भने त्यसलाई त्यहीँका व्यक्तिहरूले हाम्रा पुर्खाहरू यो ठाम्मा ५ पुस्ता अघि आएका हुन् । हजुरबुबाले भने अनुसार यो सहर नेपाल एकीकणअघि नै बसेका हो भन्यो भने त्यो राम्रो सुनिन्छ ।

जीवा: यसो गर्दा सत्यको संकेत गर्छ तर तथ्य बोल्दैन । पाठकलाई अपूरो ज्ञान त हुँदैन ?

युवराज: नियात्रा गाइड बुक होइन, हुनुहुँदैन भन्ने लाग्छ ।

जीवा: मेरो विचार अलि फरक रहेछ । मलाई चाहिँ नियात्राकारले उसले घुमेका ठाउँको सामान्य जानकारी दिन पर्छ, जुन उसका पाठकले आशा गर्छन् ।

युवराज: साँच्ची तपाईं दिनेश अधिकारी र मेरो टोलीले धेरै वर्ष अनुवादको काम गरेको थियो । हामीले नयाँ बानेश्वरको बेकरी क्याफेमा त्यसको योजना बनाएका थियौं । धेरै राम्रा कृति अनुवाद गरेको पनि थियो । तपाईं एनआरएनतिर लागेपछि त्यसै त्यसै त्यो कामलाई बिर्सनुभयो, किन होला ?

जीवा: बिर्सिएको होइन । मेरो समय नमिलेर पनि हो । दिनेश दाइले राम्रो नेतृत्व लिनुभएको थियो । अनुवादको काम पनि जारी गर्नुपर्छ भन्ने लाग्छ ।

युवराज: तपाईंले पद्मश्री नामको साहित्यिक संस्था खोलेर साहित्य सेवा गरिरहनुभएको छ । आफैँ लेखनमा व्यस्त हुनुहुन्छ । अन्य साहित्यिक गतिविधि पनि गरिरहनुभएको छ । यसलाई निरन्तरता दिनुहोला ।

जीवा: व्यवसाय मेरो कर्म हो । त्यसैले त्यो मेरो मूल बाटो हो । साहित्य मेरो रुचि हो । यही कारण साहित्यमा म सधैँ तपाईंहरूको साथमा रहन्छु । (जीवा उठ्ने तरखर गर्छन्)

युवराज: जान लाग्नुभएको हो र ?

जीवा: हो नि । एक कप चिया खाने समय थियो । त्यो अघि नै सकिएछ । तपाईंसँग भेटेपछि अरू कसैको समय साहित्यले लिइदियो । राम्रै भयो । व्यवसायभन्दा साहित्य धेरै माथिको कुरा हो । साँझ शत्रु गते हेर्ने समय छुट्याएको छु । भोलि चितवन जानु छ आमालाई भेट्न । दुई दिनपछि काठमाडौं फर्किएपछि तुरुन्तै फर्कनु पर्छ । यसरी मेरो हरेक समय टुक्रा टुक्रामा बितिरहेको छ । सायद, सबै मानिस यस्तै टुक्रा टुक्रामा जोडिएको समयको सानो पुञ्ज हो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार