
अमेरिकाको हवाईस्थित संसारको सबभन्दा सक्रिय किलुआ ज्वालामुखीले भयानक रूप लिएको छ । सोमवार किलुआमा भयंकर विस्फोट हुँदा ३३० फिटमाथिसम्म लाभा उफ्रिँदा सडकदेखि बस्तीसम्म छरिएको थियो ।
अहिलेसम्म ३५ घर लाभामा परेका छन् भने खतराका कारण दुईहजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
ज्वालामुखी क्षेत्रमा १० ठाउँबाट लाभा फुटिरहेको छ । यो लाभा चार लाख स्क्वेयर फिट एरियामा फैलिएको छ ।
पाँच दिनमा भूकम्पका ५०० भन्दा बढी झड्काहरू आएका छन् ।
सबभन्दा ठूलो भूकम्प ६.९ म्याग्निच्युडको थियो ।
किलुआ हीलो टापुमा रहेका पाँच ज्वालामुखीमध्ये एक हो । हरेक वर्ष त्यसलाई हेर्न ८९ लाख मानिस आउँछन् ।
लाभाले गर्दा भोल्केनो नेसनल पार्क बन्द गरिदिएको छ । टापुमा रहेका १.८५ लाख मानिस खतरामा परेका छन् ।
लाभाका कारण जमीन धेरैतिर फाटेको छ । त्यहाँबाट सल्फर डाइअक्साइड रअन्य विषालु ग्याँस निस्किरहेका छन् । किलुआ सन् १९८३ देखि सक्रिय छ ।
















