अमेरिका र चीनलाई इयुको आग्रह : व्यापार द्वन्द्व हटाऊ


चिनियाँ प्रधानमन्त्री लि खछ्याङ (बिचमा) र युरोपेली युनियनका अध्यक्ष डोनाल्ड टस्क (देब्रे) । फोटोः एपी

बेइजिङ : युरोपेली युनियनले विश्वका शक्ति राष्ट्रहरुलाई व्यापारका क्षेत्रमा पछिल्लो समयमा देखा परिरहेको विवाद हटाउन आग्रह गरेको छ।

युरोपेली युनियनका अध्यक्ष डोनाल्ड टस्कले शक्तिशाली राष्ट्रहरुले व्यापारजस्तो संवेदनशील विषयमा विवाद उत्पन्न भएमा आफै मिलेर समाधान गर्नुपर्ने बताएका हुन्। ‘विगतमा पनि यस्तो व्यापारका क्षेत्रमा युद्ध देखा परेकै हो तर त्यसको परिणाम राम्रो निस्किएको छैन, त्यसैले यस्तो द्वन्द्व तुरुन्तै हटाउनु जरुरी छ’, उनले भने।

‘तपाईँहरुजस्तो शक्तिशाली राष्ट्रहरुले त व्यापारजस्तो संवेदनशील विषयमा विवाद बढाउने होइन बरु विवाद उत्पन्न भयो भने त्यसको समाधान गर्ने हो’, उनले भने।

उनको सङ्केत संयुक्तराज्य अमेरिका, रुस र चीनतर्फ थियो। पछिल्लो समयमा यी तीन देशबीच व्यापारका क्षेत्रमा युद्धकै सङ्केत देखिएको छ।

एक अर्को देशमा आयात या निर्यात हुने सामानमा बढी मात्रामा कर लगाउने गरिएको छ भने कतिपय देशले यस्ता सामानको आयात निर्यात नै बन्द गरेका छन्।

अध्यक्ष टस्कले व्यापार क्षेत्रको विश्वव्यापी प्रचलन एवम् मान्यताहरुको पालना गर्नु युरोपेली युनियन तथा ती शक्तिशाली देशहरुको कर्तव्य भएको बताए।

चीनको राजधानी बेइजिङ्मा रहेका उनले सोमबार बिहान आयोजित कार्यक्रममा भने, ‘अझै पनि द्वन्द्व समाधानका लागि समय छ, केही बिग्रिसकेको छैन।’

अध्यक्ष टस्कले सोमबार बिहानै बेइजिङमा चिनियाँ प्रधानमन्त्री लि खछ्याङसँग भेटवार्ता गरेका थिए। त्यस भेटपछि उनको यो प्रतिक्रिया आएको हो।

उक्त भेटका क्रममा उनीहरूबीच हालैका दिनमा देखिएको यो व्यापार क्षेत्रको विवाद समाधानका लागि आवश्यक उपायहरुको बारेमा कुराकानी भएको बताइएको छ।

अमेरिका चीन वाकयुद्ध

अमेरिका र चीनबीच पछिल्लो समयमा व्यापारको विषयमा विवाद उत्पन्न भएको छ। सो विवादका कारण दुई देशबीच वाकयुद्ध समेत चलिरहेको छ।

सुरुमा अमेरिका आयात हुने चिनियाँ केही समानमा अमेरिकाले पहिलेको तुलनामा करको मात्रामा भारी बृद्धि गरेको थियो भने पछि चीनले पनि अमेरिकी सामानमा त्यसै गरेको छ।

यो विवाद पछि रुसतर्फ पनि सरेको छ। अमेरिकाले रुसी सामानहरुमा पनि यसैगरी कर लगाएको थियो। पछि यो समस्याको पनि समाधानको सट्टा वाकयुद्ध नै चलेको बताइएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार