दुर्घटनाग्रस्त विमानबाट १०१ जनाको चामत्कारिक रुपमा जीवितै उद्धार

आज विहानै मेक्सिकोमा भएको एक जहाज दुर्घटनामा चमत्कारिक उद्धार कार्य सम्पन्न भएको छ । धावनमार्ग नजिकै भएको दुर्घटनामा क्षतविक्षत जहाजबाट सबै यात्रु तथा चालकदलका सदस्यहरुको जीवितै उद्धार गर्न सम्भव भएको छ ।

एरोमेक्सिको एयरको फ्लाइट नम्बर एएम २४३१ को विमान डुरान्गोमा रहेको गुएडालुपे भिक्टोरिया अन्तर्राष्ट्रिय विमानस्थलबाट मेक्सिको सिटीका लागि उडेको थियो । जहाज उडे लगत्तै मौषमका खरावी आएपछि तत्काल अवतरणको क्रममा दुर्घटनाग्रस्त भएको थियो । जहाज धावनमार्गको छेऊमा बजारिन पुग्दा आगो लागेको थियो ।

नेपालको जस्तै एउटा मात्रै रनवे भएको सो विमानस्थलमा तैनाथ अग्नि नियन्त्रकहरुले आगो राम्रोसँग बल्न नपाउँदै नियन्त्रणमा लिन सफल भएका कारण एक सय १ जना यात्रुलाई जीवितै उद्धार गर्न सफल भएको हो । उद्धार गरिएका मध्ये दुई जना महिला यात्रुलाई आगो बलिरहेको जहाजबाट उद्धारकर्मीले बाहिर निकाल्न सफल भएका थिए । विमानमा ९७ यात्रु तथा चालक दलका चार सदस्य थिए । घाइते भएका मध्ये ३७ जनालाई अस्पताल भर्ना गरिएको छ ।

१०१ जना रहेको विमान दुर्घटनाग्रस्त भए पनि कसैको पनि ज्यान नगएको डुरान्गोका गभर्नर जोसे एइस्पुरोले पुष्टि गरेका छन् । उनले ट्वीट गरेर विमानमा रहेका १०१ मध्ये ८५ जना घाइते भएको जानकारी दिएका छन् । घाइते मध्ये दुईजनाको अवस्था गम्भीर रहेको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था डेलीमेलका अनुसार दुई वटा पखेटामा रहेको इन्धन छरिएर आगो लाग्न सुरु गरेको जहाजलाई अग्नि नियन्त्रणहरु करिब ४५ सेकेण्डभित्रै घटनास्थलमा पुगेर फोमको सहायताले आगो नियन्त्रणमा लिन सफल भएका थिए । आगो नियन्त्रणमा लिने र यात्रुको उद्धार कार्य यति तीव्र गतिमा भयो कि करिब १५ मिनेटमा अधिकांश यात्रुलाई बाहिर निकाल्न सफल भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । आगो लागिरहेको जहाजबाट सबै यात्रुलाई सकुशल उद्धार गरेको घटनाले अन्तर्राष्ट्रिय क्षेत्रमा चमत्कारिक उद्धारको रुपमा चर्चा गरिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार