-अनुला महर्जन
एजेन्सी । वैवाहिक बन्धनः आम मानिसका लागि अपरिहार्य पक्ष हो । विवाहको शैली र परम्परा देश अनुसार फरक फरक हुन्छ । विवाहको विषयमा संसारवासीबीच एउटै मिल्ने पक्ष भनेको औठीको आदानप्रदानलाई मानिन्छ ।

विश्वमा विवाहको पक्षमा धेरै अनौठा प्रचलनहरु अस्तित्वमा छन् । छिमेकी भारतमा रुख र कुकुरसंग विवाद गरिदिने अनौठो प्रचलन अस्तित्वमा रहदा फ्रान्सको कानूनले भने मृतक व्यक्तिसंग विवाह गर्न दिनै अनौठो र अचम्मको वैधता प्रदान गरेको छ । फ्रान्समा मृतक प्रेमी अथवा प्रेमिकासंग विवाह गर्न कानुनले मान्यता दिएको छ ।
यसले प्रेम मसानघाटसम्म मात्र होइन भन्ने पुष्टि पनि गरेको छ । पास्काउ नाम गरेकी एक युवती जसले आफ्नो मृतक प्रेमीसँग विवाह गरेकी थिइन् । छ वर्ष भन्दा बढी उनी आफ्नो प्रेमीसँग बसेकी थिइन् । तर विवाहको एक महिना अगाडि हृदयघातबाट उनको प्रेमीको मृत्यु भयो । वियोग शोकको त्यो घडीमा पनि उनले आफ्नो विवाह योजना विफल हुन दिइनन् ।

उनी भन्छिन् उ नरहे पनि म उनलाई नै पतिको रुपमा स्वीकार गर्न चाहन्छु । र, त्यसको लागि उनले फ्रान्सका राष्ट्रपतिलाई चारपटकसम्म चिठ्ठी पठाइन र जवाफको लागि २० महिना कुरिन् । अन्तमा त्यो दिन आयो अब उनले आफ्नो मृतक श्रीमान्सँग विवाह गर्न पाउने भइन् । यसबाट अलग हुनु परेको दुःख का बाबजुद पनि आफ्नो अझ्m धेरै प्रेम दर्शाउन सकिने उनको भनाई छ ।
उनी भन्छिन्, म उनको पत्नी बन्नेछु र उनको नामसँगै बाच्नेछु । विवाह गर्न चाहेका कुनै दुईमध्ये एकको मृत्यु भएमा मृतकसँग विवाह गर्न फ्रान्सको कानुनले वैधता दिएको छ । सन् १९५९ मा जव बाँध भत्केर ४ सय २० जनाको मृत्यु भएको थियो । सो घटनामा एक गर्भवती महिलाले आफ्नो प्रेमी गुमाएकी थिइन् । त्यो दुर्घटना पछि फ्रन्समा यो कानुन आएको हो ।
तर यसको लागि दुवैजना विवाह गर्न लागेको हो भन्ने प्रमाण जुटाउन भने आवश्यक छ । सुन्दा पनि अनौठो लाग्ने यो विवाह तर अहिले पनि फ्रान्समा हरेक वर्ष करिव ५० भन्दा बढीले यसरी विवाह गर्दै आएका छन् ।फ्रान्सको कानूनले दिएको यो अनौठो निर्णयलाई धेरै फ्रान्सेलीले उपहारकोरुपमा ग्रहण गरेका छन् । वास्तवमा प्रेम मनमुटुबाट गरिन्छ भन्ने तथ्यलाई पनि यसले थप बल पनि पु¥याएको छ ।
















