
उत्तर अमेरिकी देशहरू संयुक्त राज्य अमेरिका र क्यानडाले अन्तिम समयमा सम्झौता गरेर मेक्सिकोसहितको त्रिपक्षीय व्यापार सम्झौता जोगाएका छन्। राष्ट्रपतीय निर्वाचनदेखि नै उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौता (नाफ्टा) लाई अमेरिकी हितविपरितको भन्दै आएका राष्ट्रपति डोनाल्ड ट्रम्पले यो नयाँ सम्झौतापछि अमेरिकाका लागि केही व्यापारिक उपलब्धि हात पारेका छन्।
संयुक्त राज्य अमेरिका-मेक्सिको-क्यानडा सम्झौता (युएसएमसिए) नाम दिइएको यो सम्झौताले अमेरिकी किसानहरूलाई क्यानडाको दुग्ध बजारमा थप पहुँच दिनेछ। क्यानडाका हकमा भने ट्रम्पले हटाउन खोजेको विवाद निरूपण संयन्त्रले निरन्तरता पाएको छ। ट्रम्पले घोषणा गरेजस्तै कार, ट्रक र मोटर पार्टपुर्जामा भन्सार शुल्क लगाए यो संयन्त्रमा छलफल चलाउन सकिने छ।
यो सम्झौताले वार्षिक १.२ खर्ब डलर बराबरको व्यापार हुने यी तीन देशबीचको २४ वर्ष पूरानो नाफ्टा सम्झौता प्रतिस्थापन गर्नेछ।
वर्षदिनअघि छलफल सुरू हुँदा नै मेक्सिको र क्यानडाले नाफ्टा छोडिदिने ट्रम्पको धम्कीका कारण केही छुट दिनु पर्ने प्रष्टै देखिन्थ्यो। आइतबार भएको सम्झौतापछि यी दुई मुलुकलाई नाफ्टाका प्रावधानहरू निरन्तरता दिइएकोमा राहत भएको छ।
‘यो क्यानडाका लागि शुभ दिन हो,’ क्यानडेली प्रधानमन्त्री जस्टिन ट्रुडोले मध्यरातको मन्त्रिपरिषद् बैठकपछि संवाददाताहरूसँग भने।
यो सम्झौताले क्यानडाको स्टिल र आल्मुनियममा ट्रम्पले लगाएको भन्सार दरलाई भने हटाउन सकेन।
संयुक्त विज्ञप्ति जारी गर्दै अमेरिका र क्यानडाले यो सम्झौताले सो क्षेत्रको बजारलाई थप खुला, न्यायपूर्ण बनाएको र यसले आर्थिक वृद्धिलाई मजबुद् बनाउने बताएका छन्।
चीनपछिको दोस्रो ठूलो व्यापार साझेदार क्यानडालाई अलग राख्दै अमेरिकाले गत अगस्टमा मेक्सिकोसँग दुई पक्षीय व्यापारिक समझौता गरेको थियो। क्यानडासँग आइतबार सम्झौता नभएको भए यी तीन देशबीच फरक-फरक द्वीपक्षीय सम्झौतामात्र हुन्थ्यो।
चुनावदेखि नै व्यापार घाटाको विषयलाई प्रमुखताका साथ उठारहेका ट्रम्पले संसारकै सबैभन्दा ठूलो ३ सय ७५ अर्ब डलरको व्यापार घाटा भएको चीनसँग व्यापार युद्ध नै सुरू गरेका छन्।
ट्रम्पले भर्खरै थप दुई सय अर्ब डलर बराबरका चिनियाँ सामानको आयातमा भन्सार शुल्क बढाउने निर्णय गरेका थिए।
उनले सेप्टेम्बर २४ देखि दुई सय अर्ब डलर बराबरका चिनियाँ सामानमा थप दश प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका हुन्।
चीनले अमेरिकी माग पूरा नगरे आगामी जनवरी १ देखि भन्सार शुल्क २५ प्रतिशत पुर्याउने पनि उनले घोषणा गरेका छन्।
यसअघि नै अमेरिका तथा चीनले एक अर्काका ५० अर्ब डलर बराबरका उत्पादनमा भन्सार शुल्क बढाएका थिए। अमेरिकाले ५० अर्ब डलर बराबरको चीनबाट आयात हुने सामानमा २५ प्रतिशत शुल्क लगाएपछि चीनले पनि त्यति नै मुल्य बराबरको अमेरिकी आयातमा भन्सार शुल्क बढाएको थियो।
अमेरिकाले भर्खरै लगाएको २ सय अर्ब डलर बराबरको भन्सार शुल्कपछि चीनले पनि थप ६० अर्ब डलर बराबरका अमेरिकी सामानमा शुल्क बढाएको थियो।
















