लण्डन : बेलायती राजकुमारी मेघान मर्केल गर्भवती भएको घोषणा गरिएको छ ।

राजकुमार ह्यारीकी श्रीमती मेघानले अर्को बर्षको बसन्त ऋतुमा शिशु जन्माउने बेलायती राजदरबारले जनाएको हो ।
‘राजकुमार र राजकुमारीलाई आउँदो सन् २०१९ को बसन्तमा सन्तान लाभ हुने भएको छ,’ बेलायती राजदरबार केन्सीङ्टनद्वारा जारी वक्तव्यमा उल्लेख छ ।
राजकुमार ह्यारी र अमेरिकी पूर्वअभिनेत्री मेघानबीच गत मे १९ तारिखका दिन विवाह भएको थियो ।
राजधानी लण्डनभन्दा झण्डै ३० किलोमिटर पश्चिममा रहेको विन्डसोर क्यासल (दरबार) को सेन्ट जोर्जेज च्यापलमा आयोजना गरिएको वैवाहिक समारोहमा विश्वभरका करीब ६०० विशिष्ट पाहुना सहभागी भएका थिए ।
वैवाहिक समारोह भएको दरबार बाहिर हजारौँ दर्शकले सडकका दुई किनारामा रहेर समारोहमा खुशी साटेका थिए ।
विवाह समारोहमा ३३ वर्षीय राजकुमार ह्यारी र ३७ वर्षीया मार्कलले सँगै जिउने वाचा गर्दै एक आपसमा औँठी साटेका थिए ।
सन् २०१६ को जुलाई महिनादेखिको प्रेम सम्बन्धलाई उनीहरूले वैवाहिक जीवनमा रुपान्तरण गरेका हुन्।
राजगद्दीको उत्तराधिकारीको पाँचौँ रोल क्रममा रहेका राजकुमार ह्यारीको प्रेमी जोडी गत सेप्टेम्बर महिनामा पहिलोपटक सार्वजनिक रूपमा देखा परेको थियो । रासस
















