
-मणि दाहाल
डेढ शताब्दीअघि अर्थात वि.सं. १९२५ मा नेपालमा आदिकवि भानुभक्त आचार्यको निधन भएको वर्ष जापानमा ठूलो राजनीतिक परिवर्तन भयो। तत्कालीन जापानी सम्राट मुत्सुहितोले आधुनिक शासन व्यवस्थाको घोषणा गरे। जसले सात शताब्दीदेखि जापानमा रहेको सामन्ती व्यवस्थाको अन्त्य र आधुनिक जापान निर्माणको ढोका खोल्यो।
मुत्सुहितोले १८६८ अक्टोबर २३ का दिन मेइजी (ज्ञानोदय) को शासन शुरु भएको घोषणा गरेका थिए। नेपालमा २००७ सालको फागुन ७ लाई जसरी सामन्ती युग समाप्ती भएर आधुनिक प्रजातन्त्रको युग प्रारम्भ भएको मानिन्छ। जापानमा पनि ‘मेइजी रिस्टोरेसन’ एउटा त्यस्तै परिवर्तनको प्रारम्भ थियो।
‘राणा शासनको अन्त्य भएर हामी जसरी आधुनिक शासन व्यवस्थमा प्रवेश गर्यौं। जापानमा मेइजी रिस्टोरेसन त्यही हो, त्यसपछि नै आधुनिक र विकसित जापान निर्माणको थालनी भएको हो’, जापानमा राजदूतको जिम्मेवारी सम्हालिसकेका पूर्व परराष्ट्र सचिव मदनकुमार भट्टराई भन्छन्, ‘मेइजी रिस्टोरेसन जापानी परम्परा र पश्चिमा प्रणालीको फ्युजन थियो। त्यसैको आधारमा समृद्धि हालिस गरेको जापानले अहिले पनि त्यही सिद्धान्त पछ्याइरहेको छ।’

चीनको तीव्र विकासले उछिन्नु अघि २०१० सम्ममा जापान विश्वको दास्रो ठूलो अर्थतन्त्र थियो। विश्वका धेरै देशलाई सहयोग गर्ने र ऋण दिने राष्ट्रको सूचीको शीर्ष स्थानमा रहेको जापान एशियाका थोरै विकासित देशमध्ये पर्छ।
‘मेइजी क्रान्तिपछि राजनीतिक व्यवस्था मात्रै नभएर सबै प्रणाली आधुनिक रुपमा सञ्चालन गर्न थालियो, त्यसले नै जापानालाई विश्व शक्ति राष्ट्रको दर्जामा स्थापित गर्यो,’ जापानमा उच्च शिक्षा लिएका पूर्वाधार विज्ञ सूर्यराज आचार्य भन्छन्, ‘शासनमा व्यवस्था मात्रै नभएर जापानीहरूले देश विकासमा लागि आवश्यक पर्ने सबै विषयमा मिहिन ढंगले अध्ययन गरेर काम गरेको देखिन्छ, अहिलेको जापान त्यही मेहनतको जगमा उभिएको छ।’
मेइजी शासनकालमा जापानले जसरी सबै क्षेत्रमा विकास गर्यो त्यसलाई हालसम्म अन्य कुनै देशले पछ्याउन नसकेको विश्व अर्थ मामिलासम्बन्धी म्यागेजिन द इकोनोमिस्टले तर्क गरेको छ। ‘चीनले अहिले गर्दै आएको प्रगतिले पनि जापानको त्यो कालको विकासलाई भेट्टाउन सकेको छैन, त्यसैका आधारमा जापान विश्व शक्तिका रुपमा स्थापित छ’, सन् २०१८ को फेब्रुअरी अंकमा द इकोनोमिस्टले लेखेको छ।
सन् १८६८ जनवरीमा केही युवा समुराइ र उनीहरुका केही व्यापारी समर्थकले जापानको तोकुगावा सगुनेटविरुद्ध विद्रोह शुरु गरे। विद्रोहीहरुले क्योदोमा रहेका सम्राटलाई इदो पुर्याए। सम्राट मुत्सुहितोले त्यहीँबाट सात शताब्दी लामो सामन्ती व्यवस्थाको अन्त्य भएको घोषणा गरे। त्योसँगै जापानमा तीव्र गतिमा औद्योगिकीकरण र आधुनिकिकरण सुरु भयो। इदो आजको जापानको राजधानी टोकियोको नाम हो।
केही व्यापारीको साथ लिएर त्यतिबेला कुलिन तोकुगावा सगुनेट समूहले जापानमा वास्तविक शासन गरिरहँदा सो विद्रोह भएको थियो। त्यतिबेलासम्म जापानको स्थिति नेपालमा राजालाई गद्दीमा राखेर राणाहरुले शासन चालएजस्तै थियो। जापानीहरूले आफुलाई सफल प्रमाणित गरेको एउटा विषयले अहिलेसम्म विश्वलाई अचम्मित पारिरहेछ। त्यो हो, आफ्नो परम्परालाई कायम राख्दै आधुनिकता र परिवर्तनको आत्मसाथ। हो, जापानीहरूले त्यसमा सफलता हासिल गरे र त्यसैको जगमा आफ्नै मौलिक खालको आर्थिक संवृद्धि ल्याए।
अमेरिकाले राख्यो हतियार देखाएर व्यापार प्रस्ताव- सन् १८५३ मा युद्धपोतसहित आएका अमेरिकीले जापानमा आफूले व्यापार गर्न पाउनु पर्ने माग राखे। दुई शताब्दीदेखि जापान बाह्य विश्वका लागि बन्द भएको बेला अमेरिकी प्रस्ताव आएको थियो। त्यसअघिसम्म डचहरुसँग मात्र जापानको व्यापार थियो। उनीहरु पनि मुख्य भूभागमा प्रवेश गर्न पाउँदैनथे। इदो नजिकै एउटा टापुमा व्यापार हुन्थ्यो।
युद्धपोतसहित आएका पश्चिमा दबाब सामु ताकुगावा सगुनेट समूह झुकेको थियो। यो कुरा युवा समुराइलाई मन परेको थिएन। त्यसको विरोध गर्दै उनीहरुले तोकुगावा सगुनेटलाई सत्ताच्युत गर्ने योजना बनाए। उनीहरुले ‘सम्राटको सम्मान, बार्बरियनको अन्त्य’ अभियान थाले।
शुरुमा उनीहरुले परम्पराको नाम दिए। क्योदोमा सामान्य जीवन बिताउँदै आएका सम्राटलाई राजनीतिको मुलधारमा ल्याए, जतिबेला उनको उमेर १२ वर्षको थियो। उनले १८६८ अक्टोबर २३ मा मेइजी युगको शुरुवात भएको घोषणा गरे। जापानमा प्रत्येक सम्राटका शासनलाई छुट्टाछुट्टै नाम दिएर शासन व्यवस्थामा गणना गरिन्छ। यतिबेला जापानमा मुत्सुहितोका पनाति सम्राट अकिहितोको शासन छ। उनलाई सम्राट ‘ताइसो’ भनिन्छ। जापानमा सम्राटको वास्तविक नाम उच्चरण गर्नु शोभनीय मानिँदैन।
संवृद्धि सूत्रको खोजीमा २२ जना युरोप र अमेरिका – ‘एशियामा संविधानवाद भित्र्याउने देश नै जापान हो, आफ्नो स्वतन्त्रतालाई कायम राख्दै जापानीहरुले आधुनिक विकास गरे’, जापानमा अध्ययन गरेका त्रिभुवन विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका संयोजक खड्ग केसी भन्छन्, ‘जापानले कुनै अर्को शक्तिको साम्राज्यभित्र नभएर स्वतन्त्र हैसियतमा विकास गरेको हो।’
आफ्नो परम्परा र संस्कृति पनि जोगाउँदै आधुनिक विकासको मार्ग पत्ता लगाउन जापानले ५० जना अधिकारीलाई अमेरिका र युरोपको अध्ययनमा पठायो त्यसबेला। जुन टोलीले २२ महिनामासम्म अमेरिका र युरोपको प्रशासन, व्यापार, उद्योग तथा सैनिक मामिलामा अध्ययन गरेर फर्कियो। त्यो विज्ञ टोलीले ती देशका पूर्वाधार विकास र व्यवस्थाको पनि अध्ययन गर्यो। जापान फर्केपछि त्यो टोलीले युरोप र अमेरिकामा लागू भएका विकास पूर्वाधारको जापानी परिप्रेक्ष्यमा कार्यान्वयनको सिफारिश गर्यो।
त्यसपछि सरकारले रेल तथा सडकहरुको निर्माण र भूमिसुधार योजना अघि सार्यो। सामन्तहरुको जग्गा पुनःवितरण गरियो, पश्चिमा शिक्षा प्रणाली भित्र्याइयो, आधुनिक सैनिक संगठन निर्माण गरियो। सन् १८८९ मा मिजी संविधान जारी भयो। त्यो प्रुसिया (हालको जर्मनी) को जस्तो थियो। त्यसमा सरकारको प्रतिनिधित्व र सम्राटको सम्मानलाई सुनिश्चित गरिएको थियो।
रेल थियो विकासको एउटा सूचक – ‘शुरुमा जापानीहरुले रेल देखेका थिएनन्, विकासका लागि रेललाई प्राथमिकता दिए। त्यसबेला बेलायती बैंकबाट १२ प्रतिशत ब्याजमा ऋण लिइएको थियो’, पूर्वाधार विज्ञ आचार्य भन्छन्, ‘रेलको पहिलो परियोजना खासगरी प्रविधि सिक्नका लागि प्रयोग गरे, त्यसपछि विस्तारै–विस्तारै आफैले बनाउँदै गए।’
सन् १८९५ मा जापानले पूर्वी एशियाको परम्परागत शक्ति चीनलाई पराजित गर्यो। छोटो युद्धमै कोरियामाथि जीत हासिल गर्यो। सन् १९०४ देखि १९०५ सम्म रुस–जापान युद्धमा जापान विजयी भयो। शुरुमा पश्चिमा शक्तिहरुले आफ्नो स्वतन्त्रता समाप्त पारिदिन्छन् कि भनेर त्रसित रहेको जापान एशियाको एउटा सशक्त शक्तिशाली मुलुक बन्न सफल भयो।
मेइजी सुधारवादीहरुले निर्माण र सैनिकीकरण गरेको जापान सन् १९३७ मा पूर्ण युद्धमा गयो। कतिसम्म भने, दोस्रो विश्वयुद्धको समयमा दक्षिण पूर्वी एशियाका अधिकांश स्थान जित्दै जापान बर्मासम्म आइपुग्यो। त्यो युद्धमा जापानलाई रोक्न गोर्खा सैनिक बेलायतको तर्फबाट लडेका थिए। तर जापानको सैनिक महत्वकांक्षा अन्ततः एउटा विध्वंशको बाटोमा पुग्यो। जुन अहिले पनि छिमेकी देशहरुसँग सम्बन्ध बिगार्ने एउटा प्रमुख कारण बन्ने गरेको छ। -नेपालखबरबाट
















