काठमाडौं : क्यान्सरको उपचार गराइ रहेकी बलिउडकी नायिका सोनाली बेन्द्रे पाँच महिना पछि न्युयोर्कबाट मुम्बई फर्केकी छन्।सोनाली सोमबार बिहान मुम्बई एयरपोर्टमा ओर्लिएकी हुन्। उनका साथमा पति गोल्डी बहल पनि मुम्बई आएका छन्।

सोमबार मुम्बई एयरपोर्टमा सोनाली नयाँ लुकमा देखिइन्।उनले कालो ज्याकेट र ट्राउजर लगाएकी थिइन्।उनको अनुहारमा खुसी झल्किन्थ्यो। सोनालीलाई क्यान्सर उपचारका क्रममा कयौं पटक किमोथेरापी दिइसकेको छ। त्यसैक्रममा उनले कपाल पनि काट्नु परेको थियो।
यस अघि सोनालीले जुलाई ४ मा आफूलाई क्यान्सर भएको बारे सामाजिक सञ्जालमार्फत जानकारी गराएकी थिइन्।भारत फर्कनुअघि सोनालीले सामाजिक सञ्जालमा आफू स्वदेश फर्किन लागेको बताएकी थिइन्।
उनले लेखेकी छन्,’ ‘म फर्किरहेकी छु,जहाँ मेरो दिल छ।यस्तो महशुस भइरहेको छ कि जसको मैले शब्दमा बयान गर्न सक्तिन।म कोशिश गरिरहेको छु, म आफ्नो परिवार र साथीसँग भेट गर्न पाउँदा साह्रै आनन्दित हुनेछु।’
सोनालीले आफ्नो लडाइ नसकिएको र यो केवल इन्टरवल (मध्यान्तर) मात्र भएको बताएकी छन्।उनले उपचारका क्रममा न्यूयोर्कमा धेरै कुरा सिकेको समेत बताएकी छन्।

















