नैरोबी : केन्याको नैरोबीस्थित एउटा भव्य होटलमा अलक्वायदा सम्बद्ध हतियारधारी समूह अल सबाबले हमला गर्दा १४ जनाको मृत्यु भएको छ । हमला भइरहँदा ७ सय जनाको सकुसल उद्धार गरिएको यहाँको प्रहरीले बताएको छ ।

यहाँको राष्ट्रिय टेलिभिजनले बुधबार जनाए अनुसार नैरोबीस्थित डुसीट होटल कम्प्लेक्समा हमला भएको हो । जुन अमेरिकी, युरोपियन लगायत विदेशीहरुको समेत नियमित आउजाउ भइरहने ठाउँ हो ।
घटनापछि राष्ट्रपति उहुर केन्यात्ताले टेलिभिजनबाट देशबासीलाई सम्बोधन गर्दै घटनास्थलबाट ७ सय जनाको उद्धार गरिएको बताएका छन् । साथै घटनालाई आतंकवादी हमला भन्दै यसप्रति उनले दुख व्यक्त गरेका छन् ।
घटनापछि सरकारले घटनास्थल र आसपासका क्षेत्रमा ठूलाे संख्यामा सैनिक परिचालन गरेकाे छ । साथै सुरक्षा व्यवस्था अति कडा पारेकाे बताएकाे छ । घटना भएकाे हाेटलमा भने ठूलाे क्षति भएकाे बताइएकाे छ । अलक्वायदासम्बद्ध समूह अल सबाबले यसअघि पनि विभिन्न स्थानमा हमला गर्दै आएको छ । यस घटनाको पनि उक्त समूहले जिम्मेवारी लिएको छ ।
















