अमेरिकामा ट्रम्पको आधा कार्यकाल: अमेरिकी मूल्य र मान्यताको बेहाल

अमेरिका |

आज जनवरी २०, २०१९ का दिन डोनल्ड ट्रम्प ठुला सपनाहरूका साथ अमेरिकाको ४५औं राष्ट्रपतिका रूपमा ह्वाइट हाउस प्रवेश गरेका थिए। सन् २०२१ को जनवरी २० सम्मको चारवर्षे राष्ट्रपतिकालको आधा समय बितिसकेको छ। र, यतिबेला उनको मध्यावधि मुल्यांकन गर्दा कतिपय सपनाहरू चकनाचुर भएका छन् भने कतिपय हुने सम्भावना नै बढेका छन्।

‘अमेरिका फस्ट’ र ‘मेक अमेरिका ग्रेट एगेन’को सपना देखाएर राष्ट्रपति जितेका ट्रम्प मूलत: मेक्सिको सिमानामा पर्खाल लगाउने, ओबामा केयर हटाउने र आप्रबासीहरूलाई फिर्ता पठाउनेलगायतका एजेण्डाका साथ राष्ट्रपति बनेका थिए। तर, आधा समय बित्दा पनि ती एजेण्डाहरू कार्यान्वन हुन सकेका छैनन् र बाँकि दुई वर्षमा किनारा लाग्ने सम्भावनातिरै बढिरहेका देखिन्छन्।

ट्रम्पको मूल मुद्धा मेक्सिको सिमानामा पर्खाल लगाएरै छोड्ने र त्यसको पैसा मेक्सिकोलाई तिराउने थियो। यसबीचमा मेक्सिकोले तिर्ने कुरै आउँदैन भनेर उनको एजेण्डा नै खारेज गरिदिएको छ भने आफ्नै पैसामा बनाउने सम्भावना पनि सदाका लागि टाढिदै छ।अहिले उनी त्यही एजेण्डाका लागि ५.७ बिलियन अमेरिकी डलरको पर्खाल बजेट नदिएसम्म गभर्मेन्ट सटडाउनको पासो थापिरहेका छन्।बिडम्बनाकै कुरा हो, उनले ह्वाइट हाउस प्रवेश गरेको दोस्रो वार्षिकोत्सव मनाइरहदा अमेरिका ३० दिने कीर्तिमानी गभर्मेन्ट सटडाउन भोगिरहेको छ।

यसबीचमा ट्रम्पले आप्रबासीप्रति आफ्नो कडा रबैया प्रस्तुत गर्दै अध्यागमनसम्बन्धी विभिन्न आदेश जारी गरेर कार्यकारी आदेशको कीर्तिमान नै बनाए।तीमध्ये केही कार्यान्वयन भएपनि अधिकांश आदेश अदालतले रोक लगाइदिँदा कार्यान्वयन नै भएनन्।परिणामत: उनी न्यायाधीश र अदालतसँग पनि धेरैपटक आम्नेसाम्ने हुँदा उनको अदालतबिरोधी छवि बन्यो।

जहाँसम्म सदनबाट अध्यागमन विधयेक पारित गर्ने कुरा थियो, रिपब्लिकन बहुमत भएको बेला त्यस्तो सम्भावना हुँदाहुँदै पनि त्यसका लागि उनले कुनै तत्परता नै देखाएनन्।अब त क्यापिटल हिलमा डेमोक्रेटको बहुमत कायम भएको छ, बाँकि दुई वर्षमा त्यस्तो कुनै सम्भावना देखिदैन।

राष्ट्रपति ट्रम्पले बितेको दुई वर्षको अधिकांश समय ट्विटरमार्फत् मिडियासँग झगडा गरेरै बिताए। मूलधारका खासगरी अमेरिकी उदार मिडियालाई फेक मिडिया भन्दै उनले आक्रमण गरिरहे।सीएनएन र द न्युयोर्क टाइम्सलाई स्थायी शत्रुका रूपमा व्यवहार गर्दै उनले उनीबिरूद्धका समाचारलाई फेक न्युज, फोनी स्टोरी भनिरहे। मिडिया पनि उनले बोलेका झुटको संख्या गन्दै उनीबिरूद्धको मोर्चामा डटिरह्यो।समग्रमा उनको मिडियासँग सम्बन्ध राम्रो हुन सकेको छैन, लडाईं जारी नै छ। पछिल्लो स्थिति हेर्दा यो लडाईंमा प्रकारान्तरमा उनी हार्ने सम्भावना नै बढी देखिन्छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले बितेका दुई वर्ष ह्वाइट हाउसलाई अमेरिकी राष्ट्रपति कार्यालयभन्दा पनि ट्रम्प टावरकै रूपमा बढी चलाए। आफन्तहरूलाई ह्वाइट हाउसमा भर्ने नयाँ प्रेसिडेन्ट बसाएर अमेरिकी परम्पराबिरूद्ध एक किसिमको जहाँनिया शासन नै कायम गरे। धेरै अमेरिकीहरू उनको यो तौरतरिकाले अमेरिकी गौरवमय परम्परा स्खलित भएको ठान्छन् र यसलाई शर्मको विषय भन्न रूचाउँछन्।

ट्रम्पको यो दुईवर्षे शासनकालमा हायर र फायर हुने मन्त्री, ह्वाइट हाउस उच्च पदाधिकारीको कीर्तिमान नै बन्यो।कानुनमन्त्री, रक्षामन्त्री, विदेशमन्त्री, संयुक्त राष्ट्रसंघका लागि राजदूतजस्ता महत्वपूर्ण पदमा मात्र मान्छे फेरिएनन्, ह्वाइट हाउसका प्रमुख कार्यकारी नै दुईपटक फेरिई सके।छोड्नेहरूमा पनि अधिकांशले सम्मानजनक विदाइ पाएनन्। उनीहरूले ट्रम्पमा सहकार्यको संस्कृति नै नभएको र निरंकुशता हावी भएको अनुभव सुनाए। यसरी एकपछि अर्को गरेर महत्वपूर्ण पदका पदाधिकारी फेरिदा प्रशासनले स्थायित्व पाउँन सकेनन् र उनका एजेण्डाहरू गतिशील हुन सकेनन्, बिचैमा दुर्घटित भए।यो क्रम अझै जारी छ।

ट्रम्पले आफ्नो दुईवर्षे कार्यकालमा अमेरिकालाई संयुक्त राष्ट्रसंघका महत्वपूर्ण एजेन्सीहरूबाट बाहिर निकाले। नाटोमा रहेर अमेरिकाको पक्षमा क्रियाशी युरोपिय राष्ट्रहरू र क्यानाडाजस्ता मित्रशक्तिलाई पनि चिढाउँने काम गरे।मध्यपूर्व र अफगानिस्तान मामलामा पनि उनले परम्परागत भूमिकाबाट अमेरिकालाई बाहिर पारे। इरानसँगको आणविक सम्झौता, हरितगृहसँग सम्बन्धित पेरिस सम्झौतालगायतका महत्वपूर्ण सम्झौताबाट हात झिकेर अमेरिकालाई एक भरपर्दो साझेदारका रूपमा खह्रो उभिन दिएनन्। उत्तर कोरियासँग दुश्मनीबाट सुरू गरेका उनले अहिले हात मिलाइरहेका छन्।ताइवानलाई नजिक बनाएर चीनसँग ब्यापारिक युद्ध गरिरहेका छन्। समग्रमा अमेरिकाले वर्षौदेखि एक महाशक्तिका रूपमा आफ्ना पक्षधरहरूको अभिभावकत्व भूमिका निर्वाह गर्दैआएकोेमा ट्रम्पले त्यसो हुन नदिएर अमेरिकालाई एउटा देशको भूमिकामा मात्र सिमीत पारे।

राष्ट्रपति ट्रम्पको दुई वर्ष मुद्दा मामिला र झमेलामै बितेको छ। उनले ह्वाइट हाउसलाई प्रतिवादी झगडियाको किल्लाजस्तो बनाएका छन् र एकपछि अर्को वकिल खरिद गर्दै आफ्नो प्रतिरक्षा गरिरहेका छन्।मुलत: उनी रूसी ह्याकरको सहायताले चुनाव जितेको आशंकामा घेरिएका छन् र मुलर समितिले उनीमाथि छानबीन जारी राखेको छ। यो दुई वर्ष उनी एकपछि अर्को गरेर रूसी मामलामा आफ्नो संलग्नता नभएको बताउँन जोड लगाइरहेका छन्।

यसैबीच ट्रम्पकै निर्देशनमा रूसीहरूसँग साँठगाँठ गरेको आरोप स्वीकार गरेका उनका चुनावी सहयोगीदेखि कानुनी सहयोगीहरू जेलको चिसो हावा खाइरहेका छन्। तर, बिडम्बना जसलाई राष्ट्रपति बनाउन उनीहरूले त्यसो गरे, उनीहरू जेलमा छन् भने त्यसो गर्न लगाएर राष्ट्रपति भएका ट्रम्प भने ह्वाइट हाउसमा छन्। उनी सिधै भनिरहेका छन् अमेरिकाको राष्ट्रपतिले कुनै गल्ती गर्दैन र गरे पनि उसले आफूले आफैलाई माफ गर्न सक्छ। यस्तो जोखिमपूर्ण विन्दुमा पुगेका राष्ट्रपति प्रतिनिधिसभामा बहुमत हासिल गरेको डेमोक्रेटसँग पौठेजोरी खेलिरहेका छन्। यो द्वन्द बढ्दै गयो भने ट्रम्पमाथि अविश्वासको प्रस्तावको गाज नगिर्ला भन्न सकिन्न।

राष्ट्रपति ट्रम्पले शासन गरेको मध्यावधि निर्वाचनमा रिपब्लिकनहरूले तल्लो सदन हाउस अफ रिप्रेन्जेटिभ्स गुमाएका छन् भने माथिल्लो सदन सिनेटममा दुई सिट थपेर सिनेटर संख्या ५३ पुर्याएका छन्। १०० सदस्यीय सिनेटमा यसअघि नै ५१ सिटको झिनो बहुमत रहेकोले दुई सदस्य थपेर त्यसले खासै तात्विक महत्व राख्दैन जति तल्लो सदन गुमाउनुले राख्छ। सिनेटलाई छोडेर बाँकि चुनावमा ट्रम्पको रिपब्लिकन दल नराम्ररी हारेको छ।यो पनि उनको कार्यकाल असफल रहेको एक प्रमाण हो।

राष्ट्रपति ट्रम्पको बितेको दुई वर्षमा उनले केही सफलता पनि हासिल गरेका छन्।त्यसमध्ये एउटा महत्वपूर्ण सफलता अर्थतन्त्रको मजबुती हो।यसबीचमा अमेरिकी डलरको भाउ बढेको छ, रोजगारीमा पनि वृद्धि आएको छ, ब्यापार घाटा घटेको छ। यद्यपि यो सफलता उनकै कार्यकालको भन्दा पनि ओबामा कालको पछिल्लो समयमा लिइएका सकारात्मक नीतिहरूको परिणाम पनि हुन सक्छ।अबको दुई वर्षमा पनि यो क्रम जारी रहन्छ कि रहदैन, त्यो भने हेर्न बाँकी छ।

ट्रम्पको अर्को सफलता भनेको ओबामा केयरलाई घाइते बनाउँन सक्नु हो। ओबामा केयरको विकल्प दिन असफल भए पनि यसलाई कम प्रभावी बनाउँन र क्रमश: फेजआउट बनाउने दिशामा लैजान उनले आंशिक सफलता हासिल गरे।अमेरिकी जनताको पक्षमा यो निर्णय नभए पनि उनले ओबामा र डेमोक्रेटबिरूद्धको प्रतिष्ठायुद्ध भने जिते।

ट्रम्पको अर्को सफलता भनेको रिपब्लिकनहरूले वर्षौदेखि भन्दै आएको ट्याक्स रिफर्म बिल भनिने करसम्बन्धी सुधारात्मक विधेयक पास गराउनु हो। मुलत: धनी र कर्पोरेटको पक्षमा फाइदा पुर्याउने यो बिलले मध्यम वर्गका अमेरिकीहरूको पनि करमा छुटको दायरा बढाएर केही राहत दिएको छ।यद्यपि यो बिधेयक निम्न आय भएकालाई कागलाई बेल पाक्यो हर्ष न विष्मत जस्तै हो।

ट्रम्पले दक्षिणपन्थी न्यायाधीशहरू भर्ना गरेर अमेरिकी सर्वाेच्च अदालतलाई दक्षिणपन्थी बनाउन पनि सलफता हात पारेका छन्। यही बेला न्यायाधीशको पद खालि हुनु र दुबै सदनमा रिपब्लिकनको बहुमत रहनुले पनि उनको पक्षमा काकताली परेको देखिन्छ।

समग्रमा ट्रम्प आफ्नो पहिलो दुई वर्षे कार्यकालमा अमेरिकालाई उल्टो दिशामा हिडाउँने अभियानमा आंशिक सफल भएका छन्।उनले अमेरिकालाई एक महाशक्ति अभिभावक राष्ट्रबाट अमेरिका देशमा खुम्च्याएका छन्। अमेरिकीलाई रैथाने र आप्रबासीका रूपमा दुई कित्तामा विभाजित बनाएर रिपब्लिकन पार्टीलाई नै एक सीमासम्म हाइजेक गर्न सफल भएका छन्।उनको अगाडि रिपब्लिकन पार्टी नै छैन जस्तौ परिस्थिति सिर्जना भएको छ। भेट्रन रिपब्लिकन सिनेटर जन मेक्कनको असामयिक निधनपछि उनलाई पार्टीमा लगाम लगाउँने व्यक्तिको अरू अभाव देखिएको छ। रिपब्लिकन मूल्य र मान्यताबाट पार्टी बिचलित हुँदा पनि ट्रम्पको सामु निरिह हुनुपरेकोले थुप्रै रिपब्लिकन स्वनामधन्यहरू बिचैमा राजनीतिबाटै बाहिरिएका छन्।

प्रस्तुत परिस्थितिमा सन् २०२० को राष्ट्रपतिय चुनावमा उनलाई रिपब्लिकन पार्टीमा चुनौति दिने सम्भावना कम हुदै गएको छ। डेमोक्रेटहरूमा राष्ट्रपति उम्मेद्वारहरूको लामो सूची देखिदा उनलाई अर्को कार्यकाल सहज नबन्ला भन्न सकिन्न। तर, ट्रम्पमाथि रूसी साँठगाँठको तरवार झुण्डिरहेकोले यदि त्यसमा उनी दोषी भेटिए भने कुनै पनि बेला उनीमाथि अविश्वासको प्रस्ताव नआउला भन्न सकिन्न।त्यस्तो अवस्थामा रिपब्लिकनहरूले पनि उनलाई काँध थाप्ने स्थिति आउँदैन। यसैपनि धेरै मोडरेट रिपब्लिनहरू ट्रम्पले रिपब्लिकन मूल्य, मान्यतालाई नै तहसनहस पारेर पार्टी हाइज्याक गरेकाे भनेर खुशी छैनन्।

अमेरिकी राष्ट्रपति ट्रम्प एकैपटक धेरै शत्रु बनाएर आगोसँग खेलिरहेका छन्। प्रस्तुत पृष्ठभूमिमा उनका लागि बाँकि दुई वर्ष मात्र हैन, हरेक दिन नै चुनौतिपूर्ण रहेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार