अमेरिकामा माइनस ७० , अस्ट्रेलियामा भीषण गर्मी, हिमपातका कारण बेलायतमा १६ सय स्कुल बन्द

एजेन्सी

अमेरिकाको तापक्रम माइनस ७० सम्म पुग्ने अनुमान मौसमविद्हरुले गरिरहेका बेला अस्ट्रेलियामा भने भीषण गर्मी छ । गत साता अस्ट्रेलियाको एडिलेडमा तापक्रम ४६.६ डिग्री पुगेको छ । जुन सन् १९३९ यताकै चर्को गर्मी हो । अमेरिकामा भने चिसो र हिउँका कारण शुक्रबारसम्म २१ जनाको मृत्यु भइसकेको छ ।

अलास्का, अन्टार्टिका र उत्तरी ध्रुवमा भन्दा अमेरिकाको शिकागोमा चिसो बढी छ । बिहीबार यहाँ माइनस ३२ डिग्री तापक्रम रेकर्ड भएको थियो । हिमपातका कारण शिकागोमा मात्र १७ सय उडान रद्ध गरिएका छन् भने हुलाक सेवा स्थगित छन् । विस्कन्सिनमा १९४९ को रेकर्ड तोडै ३२.५ सेन्टिमिटरसम्म हिमपात भएको छ भने मानिटोकमा २६.७ सेमि हिउँ परेको छ । जुन १९१८ को रेकर्डभन्दा बढी हो ।

अमेरिकी राष्ट्रिय मौसम विभागले उत्तरी इलिनोइसमा चिसो हावा माइनस ४८ डिग्री पुग्ने अनुमान गरेको छ भने अत्यावश्यक अवस्थावाहेक घरबाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ । मौसम पूर्वानुमान केन्द्रका मौसमविद् ब्रियान हर्लेले मिनेसोटाको तापक्रम माइनस ३४ डिग्रीसम्म र चिसोहावा माइनस ५१ डिग्रीसम्म पुग्न सक्ने बताएका छन् । उनले केही मिनेट या सेकेण्डभित्रै हिउँले खाने र हाइपोथर्मिया हुनसक्ने चेतावनी दिएका छन् । चिसोका कारण शुक्रबारसम्म २१ जनाको मृत्यु भइसकेको छ । अमेरिकामा ९ करोड मानिसहरु माइनस १८ डिग्री तापक्रममा बस्न बाध्य छन् ।

A woman digs out her car following winter snow storm Grayson in Boston, Massachusetts, U.S., January 5, 2018. REUTERS/Brian Snyder

अस्ट्रेलियामा भने निरन्तर तापक्रम बढै गएपछि ८ राज्यसहितका क्षेत्र प्रभावित भएका छन् । तातोका कारण अस्ट्रेलियाभर नै सडक पग्लिएका छन्, आगलागीका कारण भौतिक संरचनामा क्षति पुगेको छ भने जंगली जनावर, पशुपंक्षी र नदीका माछा मर्न थालेका छन् । दक्षिणी शहर एडिलेडमा गत जनवरी २४ मा अहिलेसम्मकै तातो (४६.६ डिग्री) मापन गरिएको थियो । स्वास्थ्य अधिकारीहरुले नागरिकलाई गर्मी दिनमा घरभित्रै बस्न, शारीरिक क्रियाकलाप कम गर्न र पानी बढी पिउन सल्लाह दिएका छन् ।

यस्तै, उत्तरी क्षेत्रमा दर्जनौं जंगली घोडा मरेका छन् भने भिक्टोरिया, न्यु साउथ वेल्स र क्विन्सल्याण्डमा हजारौं चमेरा मरेको भेटिएका छन् । तास्मानियाको जंगलका दर्जनौ स्थानमा आगो लाग्दा भौतिक संरचनामासमेत क्षति पुगेको छ । रेड सेन्टर भनिने मध्य अस्ट्रेलियामा तापक्रम बढेको छ ।

मौसम विभागका अधिकारीका अनुसार सन् २०१७ र २०१८ तेस्रो र चौथो गर्मी वर्ष भएको थियो । ब्युरोको २०१८ को रिपोर्टले पनि गर्मी बढ्नुको मुख्य कारण जलवायु परिवर्तन नै भएको औंल्याएको छ ।

बेलायतमा १६ सय स्कुल बन्द

हिमपात र अत्यधिक चिसो भएपछि बेलायतको वेल्स र दक्षिणी भेगका सयौं स्कुल बन्द गरिएका छन् । वेल्सका ५ सय, बर्कसायरका २ सय, विल्टसायरका २ सय ५०, कर्नवेलका १ सय ५०, समरसेटका २ सय ५० र बकिङघमसायरका ३ सय विद्यालय बन्द गरिएका हुन् । इङल्याण्ड, वेल्स, स्कटल्याण्ड र नर्दन आयरल्याण्डमा पनि हिमपात हुने अनुमान गरिएको छ । यस्तै, दक्षिणी क्षेत्रका कयौं स्थानमा विद्युत आपूर्ति अवरुद्ध भएको छ ।

रन वे हिमपातले भरिएपनि ब्रिस्टोल एयरपोर्टमा १ सयभन्दा बढी उडान रद्ध गरिएका छन् । हिथरो एयरपोर्टबाट हुने दर्जनौं उडान रद्ध गरेको ब्रिटिश एयरवेजले यात्रुहरुलाई उडानको स्थितिबारे अपडेट भइरहन आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार