– एजेन्सी

भारतका सर्वाधिक धनाढ्य व्यक्ति मुकेश अम्बानीकी छोरी ईशा अम्बानीको भव्य विवाहको चर्चा थुप्रै दिनसम्म देश विदेशमा चलिरह्यो । अब विवाहपछि ईशा अम्बानीको भोग म्यागजिनका लागि गरिएको कभर फोटोसुट चर्चामा छ । म्यागजिनलाई दिएको अन्तर्वार्तामा ईशा अम्बानीले आफ्ना नीजि जीवनबारे खुलासा गरेकी छिन् ।
एक समृद्ध परिवारमा आफ्नो लालनपालनबारे स्मरण गर्दै ईशाले भनिन्, ‘मेरा आमा–बुवा अत्यधिक व्यस्त हुनुहुन्थ्यो । म सन् १९९१ मा जन्मिएकी थिएँ, त्यतिबेला उदारीकरणको समय थियो, भारतीय कम्पनीले वैश्विक पहिचान बनाउने मौका पाइरहेको थियो । मेरा पिताले पनि यो सपना पूरा गर्न कडा मेहनत गरे र रिलायन्सलाई यो अवस्थासम्म पुर्याउन सफल भए ।’
ईशाले भनिन्, ‘उहाँले थुप्रै घण्टासम्म काम गर्नुहुन्थ्यो तर हामीलाई चाहिएको बेला सधैं उपलब्ध पनि हुनुहुन्थ्यो । हामीले पैसा, मेहनत र उदारताको मूल्यलाई बुझ्नुपर्ने मान्यता राख्नुहुन्छ ।’

ईशाले अन्तर्वार्तामा भनिन्, ‘मेरो आमाबुवाको विवाह भएको सात वर्षपछि म र आकाश जन्मियौं । हामी ‘टेस्टट्युब बेबी’ हौं । जब हामी जन्मियौं तब आमाले आफ्नो सबै समय हामीलाई दिन चाहनुभयो । जब हामी पाँच वर्ष पुग्यौं तब उहाँ पुनः काममा फर्कनुभयो ।’
उनले भनिन्, ‘मलाई याद छ कि जब म र आमाबीच झगडा हुन्थ्यो तब पापाले हाम्रो झगडा मिलाइदिनु पर्दथ्यो । मेरी आमा निकै कडा हुनुहुन्थ्यो । यदि हामी स्कूल बंक गर्न चाह्यौं भने पापा मान्नुहुन्थ्यो तर आमा हाम्रो पढाई र खानपीनबारे निकै सतर्क हुनुहुन्थ्यो ।’

ईशाले आफ्नो वैवाहिक जीवनबारे पनि निकै रोचक कुराबारे जानकारी दिइन् । ईशाले आफ्ना श्रीमान् आनन्दले उनलाई सधैं हँसाइराख्ने बताइन् । उनले भनिन्, ‘आनन्दको सेन्स अफ ह्युमर उत्कृष्ट छ ।’
ईशाका अनुसार आनन्दलाई कुनै पनि कार्यक्रममा संलग्न हुन मनलाग्दैन तर उनी सामाजिक कार्यक्रममा रमाउँछिन् । ईशाले भनिन्, ‘हामीले हाम्रो विवाहमा निकै रमाइलो गर्यौं तर आनन्दको रमाइलो गर्ने तरिका भिन्न छ । उनी मभन्दा धेरै आध्यात्मिक छन् । हामीबीच एउटै समानता छ र त्यो हो हामी दुबै खानाका सौखिन छौं ।’

ईशाले विवाहको एक घटना पनि सुनाइन् । उनले भनिन्, ‘मेरा पिताले एक भाषणमा आफूले आनन्दलाई रुचाउनुका १० गुण बताइरहेका थिए । उक्त भाषण रमाइलाका लागि गरिएको थियो किनभने अन्त्यमा उनले भनेका थिए कि यी १० गुण ममा पनि छ । यो साँचो हो कि आनन्दले मलाई मेरा पिताको याद दिलाउँछन् ।’
विवाहपछिको जीवनमा कस्तो परिवर्तन आएको छ ? यो प्रश्नमा उनी भनिछन्, ‘हामीले हिजो राती डिनर गर्यौं । त्यसपछि राती ११ बजेदेखि बिहान ३ बजेसम्म आनन्दको अफिसमा एक मिटिङ थियो । विवाहपछि मेरो र आनन्दको जीवनमा कुनै परिवर्तन आएको जस्तो मलाई लाग्दैन । यतिबेला हामी दुबैको प्राथमिकता हाम्रो काम हो । हाम्रा आमा–बुवाले यो कुरा बुझ्नुहुन्छ । म भाग्यमानी छु कि, म जुन घरमा जन्मिएँ र जुन घरमा मेरो विवाह भयो, त्यो घरका प्रत्येक एक सदस्य कामको महत्व बुझ्नुहुन्छ ।’
ईशाले आफ्नाबारे मानिसहरुबीच बनेको धारणाबारे पनि बोलिन् । उनले भनिन्, ‘मानिसहरुलाई लाग्ला कि म हरेक दिन डिजाइनर कपडा लगाउँछु । तर वास्तविकता यो हो कि म धेरैजसो कटनको कुर्ता सुरुवाल नै लगाउँछु ।’

ईशाका अनुसार उनलाई भारतीय पहिरन लगाउन निकै मनपर्छ, विशेषगरी ब्लक प्रिन्ट भएको कटनका कुर्ता ।
ईशाले भनिन्, ‘जब म अमेरिकामा थिएँ तब मलाई बिजनेस फर्मल लगाउन घृणाजस्तै भएको थियो । मलाई कोट लगाउन निकै नै गाह्रो लाग्छ ।’
उनले भनिन्, ‘यदि तपाईं स्लिम हुनुहुन्छ भने ठिक छ तर तपाईं मोटी हुनुहुन्छ भने पेन्सिल स्कर्ट कसरी लगाउने ? ’
ईशालाई भ्यालेन्टिनो, अबू जानी संदीप खोसला, मनिष मल्होत्रा र सब्यासाचीका डिजाइनर कपडा मनपर्छ ।
ईशाले आफूलाई अन्तर्मुखी बताउँदै नीजि जीवन गोप्य राख्न मनपर्ने बताइन् ।

उनी अफ्नो कुन उपलब्धिमाथि गर्व गर्छिन् भन्ने प्रश्नमा ईशाले जवाफ दिइन्, ‘मलाई कसैले म आफ्ना आमा–बुवाको लिगेसीबाट अघि बढिरहेकी छु भने भने खुसी लाग्छ । यदि रिलायन्स संसारको शीर्ष १० कम्पनीमा समावेश भएको खण्डमा यो सपना साँचो भएको जस्तो हुनेछ ।’
















