इंग्ल्यान्डको राजधानी लन्डनमा दुई साताअघि दशौँ ‘नो ट्राउजर्स ट्युब राइड’ सम्पन्न भयो। वार्षिक रूपमा सम्पन्न हुने यो यात्रामा सयौँ यात्रुले अर्धनग्न भएर यात्रा गरे। ट्राफलगर स्क्वायरस्थित नेसनल ग्यालरीअगाडि सय जनाभन्दा बढीको भीड जम्मा भएको थियो।

उनीहरूले प्यान्ट खोलेर झोलामा राखे र भूमिगत रेलमा पेन्टी लगाएर यात्रा गरे। राइडमा महिला र पुरुषको समान सहभागिता थियो। अन्य यात्रुले पेन्टी लगाएर यात्रा गर्नेलाई आश्चर्यचकित भएर हेरेका थिए।
लन्डननिवासी टेसाले भनिन्, ‘मैले यो यात्राबारे सुनेकी थिएँ। रमाइलो अनुभव गरूँ भनेर सहभागी भएँ।’ अर्की यात्रु माटिल्डाले भने रमाइलो लागेको बताइन्।
सन् २००२ मा अमेरिकाको न्युयोर्क शहरमा ‘नो प्यान्ट्स सबवे राइड’ सम्पन्न भएको थियो। त्यसपछि संसारका विभिन्न देशका ६० शहरमा यस्तो अर्धनग्न यात्रा हुने गरेको छ। टोकियो, जेरुसलेम, मस्कोलगायत शहरमा यात्रुहरू वर्षमा एक चोटि प्यान्टविहीन भएर छोटो यात्रा गर्छन्।
‘नो ट्राउजर्स ट्युब राइड’का एक जना आयोजक फरहान रसिद भन्छन्, ‘यो यात्राको एक मात्र उद्देश्य रमाइलो गर्नु हो।’ उनले यो कुनै अभियान वा चेतना जागरणको कार्यक्रम नभएको बताए।
















