संस्कृत खोज्दै हाइडलबर्ग

स्कुले जीवनमै जर्मनीमा संस्कृत पढाइ हुन्छ भन्ने सुनेर चकित परेका लेखकको संस्कृत पढाइ हुने जर्मनीको विश्वविद्यालय पुग्दाको अनुभूति ।

– जीवा लामिछाने

मानव सभ्यताको सबैभन्दा प्राचीन र निरन्तर प्रयोग हुँदै आएको संस्कृत भाषामा चुम्बकीय तरंग भएझैं लाग्छ, मलाई । बाले घरमा रुद्री पूजामा पण्डितबटुकहरूलाई लय हालेर संस्कृत पाठ गराउँदा म सधैं मन्त्रमुग्ध भएर सुन्ने गर्थें । लय हालेर पढिने श्लोक र ऋचाहरूले मलाई कुनै सुन्दर संगीतले झैं मोहित गर्छन् । बेदका ऋचा नबुझिए पनि पण्डितहरूले पढ्दा त्यसबाट उत्पन्न हुने ध्वनिको सौन्दर्यले हृदय पगाल्ने गर्छ ।

संस्कृत भाषाप्रति ममा यो आकर्षण के कारणले उत्पन्न भयो मैले बुझ्न सकेको छैन । हाम्रो कुनै पुर्खा संस्कृतका विद्वान् पो थिए कि ? स्कुल पढ्दा कक्षा ६ र ७ मा दुई वर्ष संस्कृत पढाइन्थ्यो । त्यही अल्प अध्ययनकै भरमा अझै झन्डै सयवटा श्लोक मुखाग्र छन् । अलि बढी पढ्न पाएको भए यस भाषाको समृ्द्धिबाट कति लाभान्वित हुन सकिन्थ्यो होला भनेर थकथकी लागिरहन्छ ।

स्कुले जीवनमै कुनै पुस्तकमा पढेको थिएँ, जर्मनीका केही विश्वविद्यालयमा संस्कृत भाषा पढाइ हुन्छ । मलाई अचम्म लागेको थियो, संस्कृत भाषाको उद्गम मानिने भारत वर्षमा समेत लोप हुने अवस्थामा पुगेको यो प्राचीन भाषा जर्मनहरूले के कारणले अध्ययन गर्न जरुरी सम्झे होलान् ? जर्मन नागरिक फ्रेडरिख म्याक्स म्युलरलाई १९औं शताब्दीको पूर्वार्धमा पूर्वीय दर्शनको गहन अध्ययन गरी ऋग्वेद, हितोपदेश र उपनिषद्जस्ता हाम्रा पूर्वजका सिर्जनालाई अनुवाद गर्न केले अभिप्रेरित गर्यो होला भन्ने कौतूहलले मलाई संधै चकित तुल्याइरह्यो ।
यही जिज्ञासाबस मैले संस्कृत भाषा अध्ययन गराइने जर्मनीका विश्वविद्यालयहरूबारे इन्टरनेटमा खोज्न थालें । यसै क्रममा केही महिनाअघि हाइडलबर्ग युनिभसिर्टी, दक्षिण एसियाली

अध्ययन संस्थानको क्लासिकल इन्डोलोजी विभागका प्रमुख प्राध्यापक डा. आक्सेल मिखाएल्स सम्पर्कमा आए । उनी बडो सहज व्यक्ति रहेछन् । इमेल सम्पर्कमै उनले निकै हादिर्कतापूर्वक विश्वविद्यालय भ्रमण गर्ने मेरो चाहनालाई स्वागत गरे । तर कहिले उनको व्यस्तता कहिले म स्वयंले समय निकाल्न नसक्दा सम्पर्क केही महिनादेखि इमेलमा मात्रै सीमित हुन पुगेको थियो ।

अन्तत: यही २० जुलाईका दिन डा. मिखाएल्ससँग उनकै कार्यकक्षमा भेट्ने अवसर मिल्यो । निर्धारित समयमा उनको कार्यकक्ष पुग्दा उनी हामीलाई नै प्रतीक्षा गरेर बसेका रहेछन् । विदेशको यो भूमिमा एक विदेशी नागरिकले प्रस्ट नेपाली भाषामा अभिवादन र कुराकानी गरेको सुन्दा हामी सुखद आश्चर्यले रोमाञ्चित भयौं । संस्कृत भाषाका विद्वान् उनले संस्कृतमै समेत प्रस्ट कुरा गर्न सक्ने रहेछन्, तर हामीले त्यो साहस गर्न नसकेकोमा अलिकति लज्जा अनुभूति भयो ।

करिब ७३० वर्षअगाडि स्थापना भएको हाइडलबर्ग जर्मनीकै सबैभन्दा पुरानो विश्वविद्यालय हो । विश्वविद्यालयका सबै विभागमा गरी ३० हजार विद्यार्थी अध्ययन गर्दा रहेछन् । तीमध्ये दसजना नेपाली पनि रहेछन् ।

विश्वविद्यालयको दक्षिण एसियाली अध्ययन संस्थान गठन हुँदाको रोचक प्रसंग प्राध्यापक मिखाएल्सले सुनाए । विश्वविद्यालयले भारतीय उपमहाद्वीपसम्बन्धी अध्ययन गर्ने संस्थान खोल्ने निर्णय गरेपछि त्यसको नाम भारत अध्ययन संस्थान राख्ने चर्चा चलेको रहेछ । त्यो कुरा भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले थाहा पाएछन् । संस्थानमा नेपाल, पाकिस्तान र श्रीलंकासम्बन्धी अध्ययन पनि गराइने भएकाले उनकै सल्लाहबमोजिम यसको नामकरण दक्षिण एसियाली अध्ययन संस्थान गरिएको रहेछ ।

मानवशास्त्र, इतिहास, राजनीति विज्ञान, भूगोल, आदि सात विभागमा अध्ययन, अनुसन्धान हुने संस्थानको काठमाडौं, दिल्ली, इस्लामाबाद र कोलम्बोमा शाखा कार्यालयहरू रहेछन् । संस्थानको प्रवेशद्वारमा भारतीय दूतावासबाट उपहारस्वरूप प्राप्त रवीन्द्रनाथ टैगोरको अर्धकदको ठूलो प्रतिमा राखिएको छ ।

संस्थानको यति विस्तारित संरचनाले नपुगेर हाइडलबर्ग एकेडेमी अफ साइन्सको आर्थिक सहयोगमा आगामी दुई वर्षमा तयार हुने गरी युरोपकै सबैभन्दा ठूलो ओरिएन्टल स्टडिज सेन्टरको निर्माण हुँदै गरेको जानकारीसमेत पाइयो ।

बनारस विश्वविद्यालयमा इन्डोलोजीसम्बन्धी अध्ययन गरेका प्राध्यापक मिखाएल्सले दुई वर्ष नेपाल अनुसन्धान केन्द्र काठमाडौंमा पनि काम गरेको बताए । उनी १९७० देखि २००१ सम्म नेपाल जर्मन म्यानुस्क्रिप्ट परियोजनामा आबद्ध रहेछन् । त्यो तीस वर्षमा उनले १ लाख ८० हजार प्राचीन दस्तावेजको माइक्रोफिल्म बनाएर नेपालको राष्ट्रिय अभिलेखालयमा बुझाएका रहेछन् । ती सबै दस्ताबेजहरूको एक सेट नेगेटिभ कपी बर्लिन राजकीय पुस्तकालयमा पनि सुरक्षित राखिएको उनले सुनाए । हिन्दु धर्म, वैदिक परम्परा आदि विषयमा दर्जनौं पुस्तकको लेखन तथा सम्पादन गरेका मिखाएल्सले हाम्रो सम्पदा संरक्षणका लागि गरेका योगदानबारे थाहा पाएर हामी झनै प्रभावित भयौं ।

प्राध्यापक मिखाएल्सका अनुसार केही वर्षदेखि संस्कृत पढ्न चाहने विद्यार्थीको चाप त्यहाँ बढ्दो छ, उनको संस्थानमा । चाप धेरै भएकैले गर्मी याममा एक महिना छुट्टै कक्षा सञ्चालन हुँदो रहेछ । जर्मन नागरिक मात्रै नभएर अमेरिका, बेलायत, पूर्वी युरोपलगायतका मुलुकबाट समेत आवेदन दिँदा रहेछन् । केही वर्षअघि दुईजना ट्युनिस नागरिकले समेत संस्कृत अध्ययन गरेर फर्केको प्रसंग उनले सुनाए ।

हाइडलबर्गबाहेक जर्मनीका अरू १४ वटा प्रमुख विश्वविद्यालयमा समेत संस्कृत भाषा अध्ययन/अध्यापन गरिने रहेछ । बेलायतमा पनि चार विश्वविद्यालयमा यो भाषा अध्ययन हुने जानकारी पनि उनैले दिए ।

संस्थानमा आवद्ध केही व्यक्तिहरू हाम्रा पुराना दस्ताबेजहरू व्यवस्थित गर्ने अभियानमा लागेका छन् । मणिक वज्राचार्य, क्रिस्टोफ जोटर, सिमोन जुबेलिक, निर्मला सन्यासीको टोलीले नेपालको राष्ट्रिय अभिलेखालयका लागि पुरातात्त्विक महत्त्वका कागजपत्रहरूको डेटाबेस तयार गरिरहेको छ । सन् १७६८ देखि १९५० सम्मका एक लाख पचास हजार महत्त्वपूर्ण कागजातको अभिलेख तयार भइसकेको रहेछ ।

संस्थानको पुस्तकालयमा नेपाली, हिन्दी, संस्कृतका पुस्तकको विशाल भण्डारै रहेछ । प्राध्यापक मिखाएल्सको मातहतमा नेपालको मुलुकी ऐनमा पीएचडी गरिरहेका रञ्जन खतिवडाले नेपालमा उनले नभेटेको मुलुकी ऐनको पुरानो पुस्तक उक्त पुस्तकालयमा फेला पारेको सुनाए ।

जर्मनीका विश्वविद्यालयहरू अहिले संसारभरिका लागि संस्कृत भाषाका विद्वान् उत्पादन गर्ने केन्द्र भएका छन् । हार्वार्ड, अक्सफोर्डजस्ता नामी विश्वविद्यालयमा समेत अहिले जर्मनीमा अध्ययन गरेका संस्कृत विद्वान्हरूकै बोलवाला रहेछ ।

के कुराले तपाईंलाई संस्कृत भाषा अध्ययन गर्न अभिप्रेरित गर्यो, मसँगै त्यहाँ पुगेका मित्र कुमार पन्तले प्राध्यापक मिखाएल्ससँग प्रश्न गरे । जवाफमा उनले पूर्वीय दर्शन, भाषा विज्ञान, हिन्दु धर्म मात्र नभई केही मात्रामा बुद्ध धर्मबारे जान्न पनि संस्कृत अध्ययन अपिरिहार्य रहेको बताए । हाम्रो भेटघाटको बिट मार्दै उनले भने, संसारभरकै पुरानो तपाईंहरूको सभ्यता, दर्शन, विज्ञानको संरक्षण र जगेर्ना गर्न अब तपाईंहरू आफैं पनि लाग्नुपर्यो ….आदिम युगमा मानिसहरू ध्वनिको संकेतबाट बातचित गर्थे । त्यसपछि चित्रलिपि विकास भयो । ध्वनि र चित्रलिपिपछि ५ हजार वर्ष अगाडि संस्कृत भाषाको जन्म भएको विश्वास गरिन्छ । विश्वका दुई ठूला धर्म हिन्दु र बुद्धका अधिकांश ग्रन्थ संस्कृत भाषामै लेखिएका छन् । यी ग्रन्थहरू साहित्य, अध्यात्म, दर्शन, ज्ञानविज्ञानका भण्डार हुन् । भारतीय उपमहाद्वीपमा बोलिने कैयौं भाषाको उद्गम हो संस्कृत । त्यति मात्र होइन, कम्बोडिया, थाइल्यान्ड, इन्डोनेसियामा समेत संस्कृत भाषाको जरा गाडिएको छ । भाषाविद्हरूका अनुसार कतिपय युरोपेली भाषाको जन्म पनि संस्कृतकै जगमा भएको हो । संस्कृत एउटा भाषा मात्रै नभएर परम्परा, संस्कृति र विचार पनि हो । यो प्राचीन भाषाप्रति आदरभाव प्रकट गर्दै भारतमा गत वर्षको लोकसभा निर्वाचनपछि सुष्मा स्वराज, डा. हर्ष बर्धन, उमा भारतीलगायतका केही सांसदले संस्कृतमै शपथग्रहण गरेका थिए ।

नेपालमा भने केही समययता संस्कृतलाई प्राचीन र मृत घोषित गर्ने अभियान चलेको छ । हाइडलबर्ग विश्वविद्यालयको भ्रमणपछि मलाई यो हाम्रो सनातन परम्परा, सँस्कृति र भाषिक विकासको सम्भावनाविरुद्ध धावा बोलिएको जस्तो लागेको छ । बोलीचालीमा धेरै कम मानिसले प्रयोग गरे पनि संस्कृत ल्याटिनजस्तो मृत भाषा होइन । प्राध्यापक मिखाएल्सजस्ता हजारौं विद्वान् र हाइडलबर्गजस्ता सयौं विश्वविद्यालयले यसलाई मर्न दिने छैनन् ।

भाषामाथिको पूर्वाग्रहले हामीलाई ज्ञानकै मार्गबाट च्यूत गर्ने हो । भोलि यस्तो दिन आउन सक्छ कि, हाम्रा सन्तानले आफ्नै भाषा सिक्न युरोप र अमेरिकातिरै जानुपरोस् । हरेक लोपोन्मुख कुरालाई जोगाउनुपर्छ भनेर लागिरहेका हामीहरू नै यस्तो सुन्दर र समृद्ध भाषाको मृत्यु कामनाचाहिँ किन गरिरहेका छौं ?

यिनै भावनाले भित्रभित्रै उद्वेलित र असहाय महसुस गरिरहेको मनलाई संस्कृतको बिउ भावी सन्ततिका लागि जीवित राख्न प्रयत्नरत मिखाएल्सजस्ता प्राज्ञको छोटो सान्निध्यले अलिकति भए पनि ढाढस दियो । उनलाई हृदयदेखि नमन गर्दै हामी बिदा भयौं ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार