अमेरिकाले नेपालमा रहेका तिब्बती शरणार्थी पक्राउ गरेर चीन नफर्काउन नेपाल सरकारसंग आग्रह गरेको छ । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्राचार गर्दै तिब्बती शरणार्थीको विषयमा नेपालले खेलेको भूमिकाको प्रशंसा समेत गरेको छ ।

अमेरिकाले पत्रमा उत्तर कोरियाविरुद्ध राष्ट्रसंघीय सुरक्षा परिषद्ले लगाएको नाकाबन्दीको समर्थन गर्न पनि आग्रह गरेको छ । तर, असंलग्न परराष्ट्र नीतिमा र एक चीन नीति प्रति प्रतिबद्ध नेपालका लागि अमेरिकाले अघि सारेको सर्त र आग्रहलाई भने गम्भीर रुपमा हेरिएको छ ।
यस्तै विदेश मन्त्री पोम्पियोले खुला र स्वतन्त्र इन्डो–प्यासिफिक क्षेत्रका पक्षमा आफ्नो देशको विशेष जोड रहेको उल्लेख गरेका छन् । उनले हरेक देशको समृद्धि, सार्वभौमिकता तथा सुरक्षा प्रदान गर्ने हुनाले नेपालको हितमै शरणार्थी संरक्षण कार्य हुने धारणा राखेका छन् ।
पत्रमा सहस्राब्दी चुनौती सहकार्य सम्झौता अर्थात् ‘मिलेनियम च्यालेन्ज कोअपरेशन’ सम्झौताको करिब ५६ अर्ब रुपैयाँ सहयोगका लागि नेपालसँग माथि उल्लेखित शर्त राखेपछि अमेरिकाले नेपालमाथि घुमाउरो दबाब पनि कायम गर्न खोजेको प्रष्ट बनेको छ ।
















