– एजेन्सी

सामन्यतया एउटा अस्पतालमा भर्ना हुन परेपछि बिरामीलाई औषधि उपचार गरिन्छ, अन्य थप विशेष केही हुँदैन । तर, अमेरिकाको एउटा अस्पतालमा भर्ना भएका बिरामी बच्चालाई भिडियो गेम दिइन्छ । यो अस्पतालले नै उनीहरुलाई दिने गेम चाहिँ होइन । २९ वर्षका जोख विगलले यस्तो गेम दिँदै आइरहेका छन् । र, उनले त्यहाँ भर्ना भएका सबै बच्चाहरुलाई भिडियो गेम दिँदै आएका हुन् ।
विगलले बच्चाहरुलाई सहयोग गर्न एउटा फाउन्डेसन पनि खोलेका छन् । उनले त्यही फाउन्डेसनको सहयोगले १० लाखभन्दा धेरै बच्चाहरुलाई सहयोग गरेका छन् । उनले आफ्नो घरमा अहिले ५ हजार भिडियो गेम राखेका छन् । यीमध्ये अधिकांश एक ठाउँबाट अर्कोमा लैजान मिल्ने खालका छन् ।
अमेरिकाको मिसिगनमा रहेको सिएम मोट बालबालिका अस्पतालमा उनले बाँडेको खेलले बालबालिकाको स्वास्थ्यमा राम्रो सुधार आइरहेको देखिएको थियो । कतिपय बिरामी बालबालिकालाई त चिकित्सकले पनि भिडियो गेम खेल्न अनुरोध गर्न थालेका छन् ।
















