एजेन्सी । गत जनवरीमा आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषणा गर्ने भेनेजुएलाका विपक्षी नेता ह्वान ग्वाइदोमाथि १५ वर्षको प्रतिबन्ध लगाइएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । ग्वाइदोमाथि १५ वर्षसम्म सार्वजनिक पद धारण गर्न रोक लगाइएको त्यहाँका महालेखापरीक्षकले बताएका हुन्।

ह्वान ग्वाइदो
ह्वान ग्वाइदोले आफुलाई अन्तरिम राष्ट्रपति घोषणा गरेसँगै अमेरिकासहितका ५० बढी देशले उनलाई मान्यता दिएका थिए। जसले गर्दा त्यहाँ राजनीतिक र मानवीय सङ्कट चुलिएको थियो।

तर ग्वाइदोले भने एल्भिस अमोरोसो महालेखापरीक्षक नै नभएको भन्दै उक्त प्रतिबन्धको निर्णय अस्वीकार गरेका छन् । उनले आधिकारिक राष्ट्रिय परिषद्सँग मात्र महालेखापरीक्षक नियुक्त गर्न सक्ने शक्ति हुने बताउँदै उक्त निर्णयलाई आफूले अस्वीकार गरेको बताएका छन्।

मदुरो (दाँया)
भेनेजुएलामा सङ्कट चुलिएसँगै अहिले ३० लाखभन्दा बढी नागरिकले खाद्यान्न र औषधिको खोजीमा देश छाडेको राष्ट्रसङ्घीय शरणार्थी नियोगले जनाएको छ । भेनेजुएलामा अहिले कयौँ गुणा महँगी बढेको बताइन्छ ।
तर त्यहाँका राष्ट्रपति मदुरोले आफ्नो देशमा सङ्कट नरहेको भन्दै मानवीय सहायता सामग्री वितरण गर्ने नाममा अमेरिकाले देशमा सैनिक हस्तक्षेप गर्न खोजेको आरोप लगाउने गरेका छन् । मदुरोको पक्षमा रुस, चीन र क्युबाजस्ता देशहरू छन्।
















