-एएफपी

पेरिस : फ्रान्सको राजधानी पेरिसमा अवस्थित आठ सय वर्षभन्दा पुरानो ऐतिहासिक नर्थदाम क्याथेद्रालमा लागेको भीषण आगो मंगलवर बिहान नियन्त्रणमा आएको छ।
आगलागीबाट क्याथेद्रालको शिखर र छाना भत्किएर भुइँमा झरेको छ। फ्रान्सेली संस्कृति र इतिहासको धरोहरको रूपमा रहेको अमूल्य सम्पदा आगलागीबाट लगभग नष्ट भएको छ।
हजारौं पेरिस निवासी र पर्यटकहरूले क्याथेद्राल (गिर्जाघर) नजिकको सडकमा बसेर त्रसित मुद्रामा आगलागीको वितण्डा हेरेका थिए।
आगोको लप्काले गिर्जाघरलाई छोपेको थियो भने धुवाँको मुस्लो आकाशतर्फ उठेको देखिन्थ्यो। अग्निनियन्त्रकले यस भयानक आगलागीबाट बहुमूल्य सामग्री जोगाउने भरमग्दुर प्रयत्न गरेका थिए।
आगोले ८५० वर्षअघि निर्मित युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत गिर्जाघरको छाना पूर्णतः नष्ट बनाएको छ। विशिष्ट शैलीको यो छाना र शिखरलाई आगोको लप्काले छोपेको थियो। यस आगोले दुबै सम्पदालाई हेर्दाहेर्दै आकाशमा विलीन बनायो।
फ्रान्सका राष्ट्रपति एम्यानुएल माक्रोँले मुलुकको महत्वपूर्ण स्थलका रूपमा रहेको गिर्जाघर पुनर्निर्माण गर्ने प्रण गरेका छन्।
उनले अग्निनियन्त्रकहरूको प्रयासका कारण गिर्जाघर पूर्णरूपमा क्षति हुनबाट बचेको बताए। पेरिसका अग्निनियन्त्रण विभागका प्रमुख जाँ–क्लाउद ग्यालेतले नर्थदाम क्याथेद्राल गिर्जाघरको मुख्य संरचनाका साथै दुईवटा घण्टा रहेका टावरलाई बचाउन सफलता मिलेको जानकारी दिए।

करिब ४ सय अग्निनियन्त्रकहरू रातभर आगो नियन्त्रणमा जुटेका थिए। मंगलवार बिहानपख मात्र आगो आंशिक नियन्त्रणमा आएको घोषणा गरिएको थियो।
आगलागी शुरु भएको करिब ९ घण्टापछि मात्र आगो पूर्ण रूपमा नियन्त्रणमा आएको थियो। त्यहाँ उपस्थित सयौं व्यक्तिले ‘हे ईश्वर यो गिर्जाघर बचाऊ’ भन्दै प्रार्थना गरेका थिए।
प्रमुख ग्यालेतले गिर्जाघरको छाना र शिखर पूर्ण रूपमा नष्ट भएको जानकारी दिए। फ्रान्सेली गृहसचिव लरेँत नुनेजले आगो नियन्त्रणमा आइसकेकाले भवनको संरचनाको क्षतिको अवस्था मूल्यांकन गर्न लागेको बताए।
नुनेजले भवनको अवस्थालाई विचार गरेर मात्र थप अनुसन्धान गरिने जानकारी दिए। ‘नर्थदाम सबै कालखण्डका भयानक युद्ध र बमबारीबाट जोगिएको थियो। हामीले कहिल्यै यसरी आगोमा जलेर नष्ट होला भन्ने सोचेका थिएनौं। म आज अति दुःखित छु र आफूलाई रित्तो अनुभव गरिरहेको छु’, आगलागीको दृश्य नजिकबाट नियालिरहेका स्तेफानी साइगनुरीले भने। आगोको लप्काले गिर्जाघरको छाना र शिखर ढाल्दा सडकमा उपस्थित मानिसहरू चिच्याएका थिए।
आगलागीको कारणबारे तत्कालै थाहा हुन सकेको छैन तर गिर्जाघरमा पुनर्निर्माणको कार्य तीव्र गतिमा भइरहेको थियो। अग्निनियन्त्रण विभागका अनुसार आगलागी हुनुमा पुनर्निर्माण पनि जोडिएको हुन सक्छ।
फ्रान्सेली अभियोजनकर्ताहरूले आगलागीलाई एक दुर्घटनाका रूपमा लिइएको बताएका छन्। इतिहासकारहरूले पनि भवनमा पुगेको क्षतिले भयभीत तुल्याएको बताएका छन्। ‘पेरिस आइफेल टावर हो भने फ्रान्स नर्थदाम हो। यसले फ्रान्सको समग्र संस्कृति र इतिहासको प्रतिनिधित्व गर्दछ’, लेखक एवं धार्मिक इतिहासकार बर्नार्द लेकोप्तेलेबले भने।
यो क्याथेद्राल फ्रान्सको राजधानी पेरिसको लगभग मध्यभागमा अवस्थित छ र २ सय वर्ष लगाएर यो भवन बनाइएको हो। यो १२ औं शताब्दीमा बनाइएको थियो।
अठारौं शताब्दीको फ्रान्सेली क्रान्तिका अवधिमा भड्किएको हिंसामा यसमा तोडफोड गरिएको थियो। धर्मविरोधी हिंसात्मक भीडले गिर्जाघरको शिखर तोडफोड गर्नुका साथै बहुमूल्य वस्तु लुटिएका थिए। बाहिर ढोकामा रहेका भव्य प्रतिमा पनि तोडफोड गरिएको थियो।
यो गिर्जाघर बीसौं शताब्दीका ठूल्ठूला युद्धबाट पनि बचेको थियो। सन् १९४४ अगस्त २४ मा दोस्रो विश्वयुद्धको समाप्त हुनै लाग्दा जर्मनीको कब्जाबाट पेरिस मुक्त हुँदा यही क्याथेद्रालका घण्ट बजाइएका थिए।
फ्रान्सको यो गिर्जाघर भ्रमण गर्न पनि वर्षेनि लाखौं पर्यटक फ्रान्स आउँथे। ‘पेरिस अब विरूप भएको छ। अब यो शहर विगतको जस्तो कहिल्यै हुनेछैन’, एक युवाले दुःखेसो पोखे। एएफपी
















