– एजेन्सी , क्यालिफोर्निया ।

अमेरिकाको क्यालिफोर्नियामा आफ्ना १३ जना छोराछोरीलाई गैरकानुनी रुपमा ओच्छ्यानमा नै बाँधेर भोकभोकै राख्ने आमाबाबुलाई उनीहरुका सन्तानले माफी दिएका छन् ।
१३ जना छोराछोरीका आमाबाबु डेभिड र लुईस टर्पिनले शुक्रबार रिभरसाइड काउन्सीको अदालतमा अपराध स्वीकार गरेका थिए ।
यसलगत्तै उनीहरुलाई अदालतले २५ वर्षको जेल सजाय सुनाएको छ । अब यी दम्पत्तिले आफ्नो बाँकी जीवन जेलमा बिताउनेछन् । सन् २०१८ को जनवरीमा उनीहरुकी एक १७ वर्षीया छोरी भागेर आफूहरुलाई बन्धक बनाएकोबारे जानकारी दिएपछि उनीहरु पक्राउ परेका थिए ।
टर्पिन दम्पत्तिलाई कम्तिमा पनि ८ वर्षसम्म आफ्ना १३ मध्ये १२ जना छोराछोरीलाई यातना दिएको, दुव्र्यवहार गरेको र जंजीरले बाँधेर राखेकोमा दोषी पाइएको हो । डेभिड र लुईसका छोराछोरीले अदालतमा तमाम दुव्र्यवहारका बाबजुद पनि आफूहरुले आमाबाबुलाई माया गर्ने बयान दिएका थिए ।
दम्पतिका एक छोरीको बयानलाई उनका भाइले पढे, ‘म आफ्ना आमाबाबुलाई धेरै माया गर्छु । यो हामीलाई पाल्ने सबैभन्दा राम्रो तरिका थिएन । तर यिनीहरुले नै मलाई त्यो मान्छे बनाए, जो अहिले यहाँ छु ।’
५६ वर्षीया डेभिड र ४९ वर्षीया लुइसले आफ्ना छोराछोरीलाई पटक पटक सजाय दिन्थे र पिट्थे । त्यसपछि छोराछोरीले घरबाट भाग्ने योजना बनाए । दम्पत्तिका अर्का एक बच्चाको भनाई सुनेर सबै भक्कानिएका थिए ।
‘म माथि के बितिरहेको थियो भन्ने कुरा म शब्दमा बयान गर्न सक्दिन । आज पनि कहिले काँही मेरा भाई बहिनीलाई साङ्लाले बाँधेर पिटेको सपना देख्छु,’ उनले भने, ‘यो कुरा बितिसक्यो र अब म मेरा बाबुआमालाई हामीसँग गरेका ति सबै घृणित कार्यका लागि माफ गर्छु ।’
तर केही छोराछोरीले भने आफ्ना बाबुआमाको हर्कतबारे कडा टिप्पणी गरेका छन् । एक छोरीले भनिन्, ‘मेरा बाबुआमाले मेरो पुरै जीवन मबाट खोसे । तर म अब मेरो जीवनतिर फर्किरहेकी छु । म बलियो छु, एक फाइटर हुँ, रकेटजस्तै जीवनलाई हाँकिरहेकी छु ।’
अदालतमा डेभिड र लुईसले रुदै आफ्ना छोराछोरीसँग माफी मागेका थिए । बाबुको बयान वकिलले पढे । जसमा लेखिएको थियो, ‘मैले सही मनसायले घरमा शिक्षा दिने र अनुशासन सिकाउने कोशिस गरे । म छोराछोरीलाई कहिल्यै हानी पु¥याउन चाहन्न थिएँ । म उनीहरुलाई माया गर्छु र मलाई पनि उनीहरुले माया गर्छन् जस्तो लाग्छ ।’
उनी अमेरिकाको प्रसिद्ध रक्षा उत्पादक लकहिड मार्टिन र नोथ्रोप ग्रुम्यानमा इन्जिनियर थिए । लुइसले अदालतमा माफी माग्दै भनिन्, ‘म मेरा छोराछोरीलाई धेरै माया गर्छु । उनीहरुलाई हेर्ने, अंगालो मार्ने र बोल्ने मौका मिल्नेछ ।’
अदालतका न्यायाधीसले उनीहरुको स्वार्थी, क्रुर र अमानवीय व्यवहारको निन्दा गरेका छन् । न्यायाधीस बर्नार्ड श्वार्ट्जले भने, ‘तपाईहरुले बच्चाहरुसँग के गर्नुभयो, त्यो अब संसारका सामू छ । तपाईहरुलाई कम सजाय दिनुको कारण सुरुवाती चरणमा नै आफ्नो अपराध स्वीकार गरेकाले मात्रै हो ।’
लस एन्जलसको बाहिर दक्षिणमा ११२ किलोमिटर टाढा साफ–सुधरे इलाकामा रहेको घरमा बच्चाहरुलाई बाँधेर राखेको अवस्थामा गत वर्ष उद्दार गरिएको थियो । जुन घर असाध्यै फोहोरी पनि थियो ।
प्रहरीले छापा मार्दा २ देखि २९ वर्षका बच्चाहरु कुपोषित अवस्थामा भेटिएका थिए । पीडितलाई वर्षमा एक पटक नुहाउन दिइएको थिएन भने शौचालय समेत समयमा जान पाउँदैन थिए । यस्तै कुनै पनि बच्चाहरु डाक्टरकोमा पुगेका थिएनन् भने केही बच्चाहरुको उमेर वास्तविक उमेरभन्दा धेरै कम देखिन्थ्यो ।
















