एजेन्सी ।

कोरोना भाइरसको महामारीका कारण विश्वभर लकडाउनको अवस्था छ । कोभिड-१९ का कारण विश्वभर ३१ हजारभन्दा बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या बढीरहेको अवस्था छ । यस्तो आफ्नामान्छे भेट्ने त के देख्नसमेत मुस्किल छ ।
तर सबैभन्दा बढी प्रभावित अमेरिकाको न्युयोर्क सहरमा भने लकडाउनमै एक युवकले आफ्नो प्रेमकहानी सुरु गरेका छन् । उनले सामाजिक सञ्जाल र नयाँ प्रविधिको प्रयोग गरि आफ्ना लागि जोडी भेटेका छन् । र उनको जोडी प्रेममा मस्त डुबेको छ ।
ब्रुकलिनमा बसिरहेका जेरेमी कोहेनले लकडाउनमा रहेका बेला आफ्नो प्रेमिका भेटेका हुन् । सडकको वल्लो र पल्लो किनारामा रहेको घरमा बसोबास गर्ने जेरेमी र उनकी प्रेमिका तोरी सिग्नारेल्लाको प्रेमलापको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
आफ्नो प्रेमकहानी जेरेमीले रेकर्ड गरेर आफ्नो इन्स्टाग्राममा पोष्ट गरेका छन् । पहिलो भिडियोमा उनीहरुको प्रेमकहानीको सुरुवात रहेको छ भने दोस्रो भिडियोमा उनीहरुको सुरक्षीत डेटिङलाई देखाइएको छ ।
कोरोना भाइरसका कारण भइरहेको लकडाउनका समयमा उनीहरुको भिडियोलाई निकै रुचाइएको छ । उक्त भिडियो अमेरिकासहित पुरै विश्वका सामाजिक सञ्जाल प्रयोकर्तामाझ लोकप्रिय भइरहेको छ ।
















