– एजेन्सी

स्पेनमा कोरोना भाइरसलाई हराउँदै १०७ वर्षीया वृद्धा सन्चो भएकी छन्। रोचक कुरा त के छ भने जब उनी पाँच वर्षकी थिइन् तब उनले ५० करोड मानिसको ज्यान लिएको स्पेनिस फ्लुलाई पनि हराएकी थिइन्।
स्पेनको अंग्रेजी पत्रिका ओलिभ प्रेसका अनुसार कोरोनालाई जितेकी वृद्धाको नाम एना डेल भ्याले हो। कोरोनालाई जितेर ठीक हुने उनी नै विश्वकै सबैभन्दा वृद्ध मानिस मानिएको छ।
पत्रिकाका अनुसार एनासँगै अन्य ६० जना कोरोना संक्रमित थिए। अब उनी ठीक भएकी छन्। उनको जन्म अक्टोबर १९१३ मा भएको थियो। जब उनी पाँच वर्षकी थिइन् तब उनलाई स्पेनिस फ्लु भएको थियो। तर उनले स्पेनिस फ्लुलाई हराउँदै ठीक भएकी थिइन्। जनवरी १९१८ देखि डिसेम्बर १९२० सम्म स्पेनिस फ्लुको प्रकोप रहेको थियो। यस महामारीबाट विश्वको एक तिहाई जनसंख्या (५० करोड मानिस) सकिएको थियो।
पत्रिकाका अनुसार स्पेनिस फ्लुलाई हराएको १०२ वर्षपछि एनाले कोरोना भाइरससँगको लडाइँ पनि जितेकी छन्। अन्य सञ्चारमाध्यमका अनुसार स्पेनमा १०१ वर्षका अन्य दुई महिलाले कोभिड-१९ सँग जित हासिल गरेका छन्।
🇪🇸 Ana del Valle of Spain recovered from the Spanish flu as a young child, and now has made a full recovery from #Covid_19.
She is 107! Incredible 💙 pic.twitter.com/8rdQVTTZoI
— Adriano Del Monte (@adriandelmonte) April 24, 2020
ओलिभ प्रेसको रिपोर्ट अनुसार एनाको मामिला कुनै चमत्कारभन्दा कम थिएन। एनाकी बुहारी पाकुई साञ्चेजले अस्पताललाई धन्यवाद दिएकी छन्। उनका अनुसार एनाको उमेर धेरै भएकाले डाक्टरले एकदमै होसपूर्वक काम गरेका थिए। एना अब ठीक भएकी छन्। उनी अहिले वाकरको सहयोगमा हिँडडुल गरिरहेकी छन्। उनी आफैं खाना पनि खान्छिन्।
स्पेनमा २२ हजार ९०२ को मृत्यु
अमेरिकापछि सबैभन्दा धेरै संक्रमित स्पेनमै छन्। यहाँ अहिलेसम्म २२ हजार ९०२ जनाले ज्यान गुमाइसकेका छन्। यहाँ दुई लाख २३ हजार सात सय मानिस संक्रमित छन्। अहिलेसम्म ९५ हजार ७०८ जना सन्चो भएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार शु्क्रवार ३६७ मानिसको ज्यान गएको छ। २१ मार्चपछि यहाँ एक दिनमा सबैभन्दा थोरै मृत्यु भएको हो।
















